चुनावी गठबन्धनबारे कांग्रेसमा चर्किदै अन्तर्द्वन्द्व

प्रकाश धौलाकोटी

काठमाडौँ — आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयले कांग्रेसभित्र अन्तर्द्वन्द्व चर्किदै गएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै निरन्तरता दिने पक्षमा छन् ।

चुनावी गठबन्धनबारे कांग्रेसमा चर्किदै अन्तर्द्वन्द्व

तर नेता शेखर कोइराला समूह र कार्यकर्ताको ठूलोपंक्ति भने निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा छ । यसरी निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका कारण कांग्रेसभित्र अन्तरद्वन्द्व झन् बढेर जाने देखिएको छ ।

निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने ? भन्ने विषयमा पदाधिकारी र शीर्ष नेताहरुकै बीच मतभेद छ । अहिलेसम्म कांग्रेसभित्र चुनावी गठबन्धनबारे छलफल भने भएको छैन । देउवासहित संस्थापन समूहका धेरै नेता गठबन्धन गर्नुपर्ने पक्षमा छन् । स्रोतकाअनुसार देउवाले नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको सल्लाहमा गठबन्धन गरेरै अघि बढ्ने तयारी गरेका छन् ।

वर्तमान केन्द्रीय कार्यसमितिका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित दोस्रो तहका नेताहरु भने गठबन्धन गर्न नहुने पक्षमा छन् । ०७४ का तीन वटै तहका निर्वाचनमा कांग्रेसले फरक–फरक गठबन्धन गरेको थियो । तर, गठबन्धनले कांग्रेसलाई अपेक्षित लाभ नमिलेको कांग्रेसवृत्तको समीक्षा छ ।

गत मंसिरमा भएको महाधिवेशनमा महामन्त्री गगन थापाको नारा नै थियो, ‘आगामी चुनावमा एक्लै लड्ने कांग्रेस बनाउन महामन्त्रीमा गगन थापालाई मतदान’ । खास गरी नेता शेखर कोइराला समूहले नै महाधिवेशनमा निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने एजेण्डा अघि सारेको थियो । कोइराला समूहले महाधिवेशनपछि पनि त्यही कुरा दोहोर्याउँदै आएको छ । महामन्त्री थापा अहिले पनि राष्ट्रियरुपमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने बताउँछन् ।

त्यसो त सभापति देउवाले पनि महाधिवेशनको सन्दर्भमा सञ्चारकर्मीसँगको छलफलमा राष्ट्रिय सभाको निर्वाचनपछि अन्य निर्वाचनमा गठबन्धन नहुने बताएका थिए । ‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो । त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन,’ उनले भनेका थिए । त्यसयता देउवाले सत्ता गठबन्धनलाई चुनावी गठबन्धन गर्ने वा नगर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । तर, गठबन्धनभित्र देउवाको प्रस्तुत मनसाय भने सत्ता गठबन्धन दलसँग चुनावी तालमेल नगरे ०७४ झैँ एमाले र माओवादी मिल्नसक्ने र त्यसले पराजय हुनसक्नेतर्फ केन्द्रीत देखिन्छ ।

खास गरी सत्ता गठबन्धनसम्बद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) का नेताहरु गठबन्धनलाई तीन वटै निर्वाचनमा कायम राख्नुपर्ने पक्षमा छन् । गठबन्धनका बैठकमा शीर्ष नेताहरुबीच यसबारे निरन्तर छलफल हुँदै आएको छ ।

स्रोतका अनुसार आगामी जेठमै स्थानीय तहको निर्वाचन गर्ने गठबन्धनको सहमति जुट्नुअघि माओवादी र एकीकृत समाजवादीले चुनावी तालमेलबारे प्रतिबद्धता खोजेका थिए । शनिबार गठबन्धनको बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका थिए । ‘कांग्रेसका सबै नेताहरूले गठबन्धन चुनावसम्म रहन्छ, राख्नुपर्छ भनेर प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीजीले पनि विश्वास दिलाउनुभएको छ, त्यसैले गठबन्धन टुट्छ भनेर भ्रममा पर्नु आवश्यक छैन,’ उनले भनेका थिए ।

गठबन्धनको सो बैठकमा सभापति देउवा, नेताहरु पौडेल र सिटौला मात्रै सहभागी थिए । सभापति देउवाले गठबन्धन गरे कोइराला पक्ष भने अस्वीकार गर्ने पक्षमा छ । कोइराला समूहका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी सभापतिले सबैको धारणा बुझेर अघि नबढे निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय पेचिलो बन्न सक्ने बताउँछन् । ‘आम कार्यकर्ताको धारणा गठबन्धन गर्न हुदैन भन्ने छ, केही नेताहरुको स्वार्थबमोजिम सभापतिले पार्टीको अहित हुने गरी र कार्यकर्ताको भावनाविपरीत निर्णय लिनुहुन्नँ भन्ने लाग्छ,’ उनी भन्छन् ।

कोइराला समूहको गत साता बसेको भर्चुअल बैठकले निर्वाचनमा गठबन्धन गर्नु कांग्रेसका लागि घातक हुने निष्कर्ष निकालेको थियो । महामन्त्री गगन थापा पार्टीका मतदाताको ‘नेचर’ले नै पार्टीलाई चुनावी गठबन्धन गर्न नदिने बताउँछन् । ‘यो सरकार विशेष परिस्थितिमा बनेको हो । सरकारमा गठबन्धन कायम रहन्छ, किनकि चुनाव गराउने सरकार यही हो,’ उनले भने, ‘तर राष्ट्रियरुपमा चुनावी गठबन्धन गर्न सम्भव छैन ।’ उनले प्रतिनिधिसभाको निर्वाचनलाई उदाहरणमा लिँदै भने, ‘प्रतिनिधिसभाका १६५ सीट छन् । कांग्रेसको अहिलेको संगठन र जनमत हेर्दा हामी हार्छौं भन्ने लागेको ५–७ सीटमात्रै होला,’ महामन्त्री थापा भन्छन्, ‘कांग्रेस जस्तो राष्ट्रिय पार्टीले १६५ वटामात्रै सीटमा चुनाव लड्दा पनि गठबन्धन गर्ने भन्ने हो भने कति वटा सीटमा चुनाव लड्ने ? अरुलाई कति वटा दिने ? गठबन्धन गर्ने कि नगर्ने भन्दा पनि यी प्रश्न जटिल छन् ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिले गठबन्धन गर्ने वा नगर्ने भन्ने बारे कुनै निर्णय नभएको बताए । ‘गठबन्धनभित्रका दलहरुमा यसको आवश्यकताबारे छलफल हुन्छ, भएको हुनसक्छ । तर, हाम्रो पार्टीले यसबारे कुनै छलफल र निर्णय लिएको छैन,’ उनले भने, ‘आगामी दिनमा कार्यसम्पादन समितिका बैठकमा छलफल गरेर निर्णयमा पुग्छौं।’

संस्थापन पक्षका अधिकांश नेताहरु भने देउवाको निर्णय कुरेर बसेका छन् । ‘अहिले गठबन्धन हुन्छ वा हुन्नँ भनेर हामीले भन्न सक्ने अवस्था छैन,’ देउवानिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘वास्तवमा सभापतिज्यूले जे भन्नुहुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ने हाम्रो अवस्था छ ।’

ती नेताकाअनुसार अहिलेको गठबन्धनलाई अदल–बदल गर्न सक्ने पेचिलो राजनीतिक विषय हो—एमसीसी । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास गर्ने वा नगर्ने भन्ने विषयमा गठबन्धनभित्र मतभेद छ । मतभेद बढेर गए गठबन्धनमा दरार आउन सक्ने ती नेताको भनाइ छ ।

प्रधानमन्त्री देउवा सकेसम्म सबै राजनीतिक दलको सहमतिमा एमसीसी पास गराउने पक्षमा छन् । तर, अहिले एमसीसी संसदमा टेबल गर्न समेत सकेको अवस्था छैन । ‘प्रधानमन्त्रीज्यूको चाहना एमसीसी पास गराऔँ भन्ने हो । तर, अहिले परिस्थिति सहज छैन,’ ती नेता भन्छन्, ‘संसदमा टेबल गर्न माओवादी केन्द्रको सहमति आवश्यक छ । पास गराउन त केपी ओलीको पनि सहयोग चाहिन्छ ।’ गठबन्धनका पछिल्ला बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन सहयोग नगरे केपी ओलीको सहयोग लिएर भएपनि अघि बढ्ने बताएको स्रोतको भनाइ छ ।

अर्का एक नेता भने देउवाले तत्काल गठबन्धन टुटाउने वा गर्ने भन्ने निर्णयमा पुग्ने भन्दा पनि इन्गेज गरेर राख्न चाहेको बताउँछन् । ‘गठबन्धन सरकार छ, तत्काल यसमा क्लियर निर्णय लिन असजिलो छ, त्यसैले केही समय इन्गेज गर्ने कुरा हो,’ ती नेताले इकान्तिपुरसँग भने । केन्द्रीय सदस्य रमेश लेखक भने वर्तमान सत्ता गठबन्धन चुनावी गठबन्धनमा परिणत हुन सक्ने बताउँछन् । ‘अहिले पार्टीले निर्णय नै लिएको अवस्था त होइन । तर, सत्ता गठबन्धन दलहरुबीच चुनावी गठबन्धन हुनसक्ने सम्भावना नै बलियो छ,’ उनले भने ।

स्थानीय तहको निर्वाचनका हकमा भने कांग्रेस नेताहरु सफ्ट देखिएका छन् । ‘स्थानीय निर्वाचनको टिकट नै केन्द्रले वितरण गर्ने होइन, फेरि कुन स्थानीय तहमा कस्तो अवस्था छ ? त्यो केन्द्रलाई भन्दा त्यहाँका स्थानीय समितिलाई थाहा हुन्छ,’ एक पदाधिकारीले भने, ‘त्यसैले स्थानीय तहको हकमा गठबन्धनको सम्भावना बढी हुन सक्छ ।’ तर स्थानीय तहमा पनि राष्ट्रियरुपमा गठबन्धन गर्ने सहमति भने नहुने ती नेताको भनाइ छ ।

०७४ मा स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले आंशिक रुपमा गठबन्धन गरेका थिए । तर, संघको निर्वाचनमा भने माओवादी केन्द्रले नेकपा एमालेसँग तालमेल गरेपछि कांग्रेस एक्लिएको थियो । परिणामस्वरुप संघीय संसद र प्रदेशसभाहरुमा कांग्रेसको उपस्थिति कमजोर बनेको थियो । त्यसबेला प्रतिनिधिसभामा कांग्रेसले २३ सीटमात्रै जितेको थियो ।


प्रकाशित : माघ १७, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x