कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रीस दुर्घटनाको साढे दुई महिनापछि शव नेपालमा

काठमाडौँ — अवैध रूपमा टर्कीबाट ग्रीस छिर्न खोज्दा भएको दुर्घटनामा परी मृत्यु भएका चारमध्ये दुई नेपालीको शव बुधबार नेपाल ल्याइएको छ । ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका दोलखा भीमेश्वर नगरपालिकाका ३० वर्षीय राजु लामा र कैलालीको गौरीगंगा नगरपालिकाका ३८ वर्षीय लक्ष्मण सापकोटाको शव ल्याइएको हो ।

गाडी दुर्घटनामा ४ नेपालीसहित सात जनाको मृत्यु भएको थियो । उनीहरूलाई संगठित मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर अवैध रूपमा ग्रीस छिराउन खोजेका बेला गाडी दुर्घटनामा परेको थियो । लामा र सापकोटा श्रम स्वीकृति लिएर टर्की पुगेको हुनाले दुवैको शव वैदेशिक रोजगार बोर्डले ल्याइदिएको हो ।

रसुवा आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको शव भने उतै छ । घले इराकबाट टर्की छिरेकी थिइन् भने थापा दुबई हुँदै टर्की पुगेका थिए । श्रम स्वीकृति नलिईकन टर्की पुगेको हुनाले उनीहरूको शव नेपाल ल्याउने खर्च सरकारले नबेहोर्ने भएपछि गैरआवासीय नेपाली संघले खर्च जुटाइरहेको छ ।

गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङले दुई नेपालीको शव घर पठाउन ३ हजार ८ सय डलरभन्दा धेरै खर्च लाग्ने अनुमान भएको जानकारी दिए । ‘आवश्यक रकम करिब उठिसकेको छ,’ उनले भने, ‘बाँकी दुई शव नेपाल पठाउने तयारी भइरहेको छ ।’

कान्तिपुरसँग सम्पर्कमा आएका मृतकका परिवारका अनुसार टर्कीबाट ग्रीस छिर्ने क्रममा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च भएको थियो । दुर्घटनामा मृत्यु भएका नेपालीको पहिचान नखुलेपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले शवको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाइदिएको थियो । दुर्घटनामा परेकाहरूको परिवारका सदस्यले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा तस्बिर हेरेर सनाखत गरेका थिए ।

प्रकाशित : माघ १४, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?