राष्ट्रिय सभा सदस्यमा निर्वाचित जयन्ती राई को हुन् ?
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्ती राई चार दशकदेखि राजनीतिमा छिन् । बुधबार भएको राष्ट्रिय सभाको सदस्यको चुनावमा राई प्रदेश १ को तर्फबाट महिला सदस्यमा निर्वाचित भएकी हुन् । राईले एमालेको सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन् ।
राईले प्रदेश सभाका सांसदहरुको ५२ जनाको २४ सय ९६ मत पाएकी थिइन् भने स्थानीय तहका प्रतिनिधिहरुको १ सय २२ जनाको २१ सय ९६ मत प्राप्त गरेकी थिइन् । राईको पक्षमा कुल ४६ सय ९२ मत झरेको हो । राईकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले प्रदेश सभाको ३८ जनाको १८ सय २४ मत र स्थानीय तहका प्रतिनिधिहरुको १ सय ४१ जनाको २५ सय ३८ मतभार पाएकी थिइन्। जसलाई कुल गर्दा भण्डारीको पक्षमा ४३ सय ६२ मत झरेको हो ।
राई जिल्ला विकास समितिकी उपसभापति, पुनर्स्थापित संसद्को सांसद तथा संविधानसभामा सदस्य हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी राई त्यसयता राजनीतिमा निरन्तर रुपमा सक्रिय रहेकी छिन् । विद्यार्थीपछि अखिल नेपाल महिला संघको राजनीतिमा आएकी राई अहिले नेकपा (एस)को महिला संगठनको अध्यक्ष रहेकी छिन् । राई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाकी स्थायी बासिन्दा हुन् ।
२०५४ सालमा जिल्ला विकास समिति भोजपुरकी उप सभापति बनेकी थिइन् । ०६२-०६३ को जनआन्दोलनपछि पुनर्स्थापित संसद्मा एमालेले राई मनोनित गरेको थियो । सांसदमा राई नेकपा (एमाले)को बुटबलमा भएको आठौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट केन्द्रीय सदस्यमा बनेकी राई विभाजनपछि नेकपा (एस)तर्फ लागेकी हुन् ।