डिभिजन सडक कार्यालयको लापर्बाहीले गैंडा मर्‍यो : निकुञ्ज- समाचार - कान्तिपुर समाचार

डिभिजन सडक कार्यालयको लापर्बाहीले गैंडा मर्‍यो : निकुञ्ज

रासस

चितवन — वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।

निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिङ्गे गैंडा मरेको थियो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ । हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रुख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताए । घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरु गर्ने उनले जानकारी दिए । उनले भने, “सडकले गर्न नहुने काम गर्यो ।”

वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताए । उनले भने, “नालाको क्यूरिन (पानीले भिजाउने काम) बाँकी रहेकाले खाल्डो नपुरिएको हो । त्यति नै बेला गैंडा खसेर घटना भयो ।” छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उनको भनाइ छ ।


प्रकाशित : माघ १०, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्

हिमालय एयरलाइन्सलाई आईएसओ प्रमाणपत्र

रासस

काठमाडौँ — नेपाल–चीन संयुक्त लगानीमा रहेको निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्स नेपालमै पहिलोपटक आईएसओ ९००१:२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ ।

एयरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१:२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइएसओ ९००१:२०१५ बाट प्रमाणीकरण गरिएको सो एयरलाइन्सले जनाएको छ ।

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका गुणस्तरीय सेवा प्रणाली व्यवस्था गरेवापत उक्त प्रमाणिकरण प्राप्त गरेको हो । आइएसओ ९००१:२०१५ लाई विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठनद्वारा ( आइएसओ) प्रतिपादित एक प्रभावशाली मानकको रुपमा लिने गरिन्छ । आइएसओ ९००१:२०१५ प्रमाण–पत्र संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स्’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (युकेएएस्) द्वारा सो एयरलाइन्सलाई प्रदान गरिएको थियो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कम्पनीका सबै तहमा उच्चस्तरको कार्य प्रणाली अपनाउँदै, तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले आइएसओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताए । व्यावसायिक रुपमा सञ्चालन सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो भने अगस्त २०२० मा प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आइएसओ ९००१–२०१५ हासिल गर्न सफल भएको छ ।

हाल यस एयरलाइन्सले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ ।एयरलाइन्सले अहिले १८० इकोनोमी क्लास सिट भएका तीन एअरबस ३२०–२१४ सिरिज र एक एअरबस् ३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : माघ १०, २०७८ १४:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×