नेपाली महिलाका ‘कोख’ भाडामा

सन्तान जन्माइदिन ५ लाख भारूसम्म प्रस्ताव, नमान्नेमाथि यातना
ठाकुरसिंह थारू

नेपालगन्ज — बाँकेकी ३४ वर्षीया महिला वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने प्रलोभनमा परी भारतको महाराष्ट्र पुगिन् । विदेश जान आवश्यक कागजात बनाउन केही समय लाग्ने भन्दै उनलाई भाडाको एक घरमा राखियो ।

नेपाली महिलाका ‘कोख’ भाडामा

उनीसँगै अन्य नेपाली महिला पनि थिए । करिब एक महिनाको बसाइपछि उनका अगाडि नयाँ प्रस्ताव ल्याइयो । विदेश जानु नपर्ने तर त्यहाँभन्दा बढी पैसा यहीं कमाउने ।

प्रस्ताव थियो– ‘कोख’ भाडामा दिने । त्यसबापत ५ लाख रुपैयाँ भारु दिने भनियो । तर, ती महिलाले कोख भाडामा दिन अस्वीकार गरिन् । त्यसपछि उनीमाथि भौतिक आक्रमण हुन सुरु भयो । ‘सुरुमा कोख भाडामा देऊ भन्दा अचम्मै लाग्यो । मैले सोझै इन्कार गरिदिएँ,’ पीडित महिलाले भनिन्, ‘त्यसपछि मलाई यातना दिन थालियो । मेरा संवेदनशील अंगमा पनि यातना दिइयो ।’ चिनजानकै व्यक्तिसँग महाराष्ट्र पुगेको उनले बताइन् । कसैको कोख पनि भाडामा दिन मिल्ने उनी पहिलोपल्ट सुन्दै थिइन् ।

विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याइएका कतिपय नेपाली महिला अहिले कोख भाडामा दिन बाध्य भएको उनको भनाइ छ । ‘सहजै कोख भाडामा दिए पैसा दिन्छौं भन्छन्, होइन भने यातना दिएर पनि कोख भाडामा लिन खोज्छन्,’ उनले भनिन्, ‘पैसाको प्रलोभनमा नेपाली महिला यसमा बाध्य देखिन्छन् ।’ कोख भाडामा दिन नमान्दा यातना पाएकी ती महिलालाई पाँच महिनाअघि एक गैरसरकारी संस्थाले भारतीय प्रहरीको सहयोगमा भारतको महाराष्ट्रबाट उद्धार गरेको हो । यातनाका कारण उनी अंगभंग भएजस्तै भएकी छन् ।

नेपालमा पनि भाडाको कोखलाई कानुनी वैधता दिलाउन अधिकारवादीहरू केही वर्षयता वकालत गरिरहेका छन् । तर, सीमावर्ती बाँके र बर्दियाका केही नेपाली महिला भारतमा गएर कोख भाडामा दिएर आएको खुल्न थालेको छ । पछिल्लोपल्ट बाँकेकी महिलाको उद्धार भएपछि नेपाली महिलाहरूले भारतमा पुगेर कोख भाडामा दिने गरेको रहस्य खुलेको हो ।

राम्रो काम लगाइदिने भन्दै नेपाली महिलालाई भारत पुर्‍याइन्छ । सशुल्क सन्तान जन्माइदिन एजेन्टले प्रस्ताव गर्छन् । बच्चा जन्माउन करिब एक वर्षको समय लाग्छ । त्यसबापत महिलालाई ५ लाख भारुसम्म रकम दिइन्छ । ‘कतिपयले त पैसा कमाउने भन्दै कोख भाडामा दिने प्रस्ताव सहजै स्विकारेको देखिन्छ,’ भुक्तभोगी ती महिलाले भनिन् ।

भारतमा कोख भाडामा दिने घटना सार्वजनिक भइरहेका बेला नेपाली महिला हराउने घटना पनि बढेका छन् । कोख भाडामा दिएपछि परिवारको सम्पर्कमा आउन समस्या हुने भएपछि खोजीका लागि उजुरी परेको हुन सक्ने अधिकारकर्मीहरू बताउँछन् । माइती नेपाल नेपालगन्जका प्रमुख अधिवक्ता केशव कोइरालाले नेपाली महिलाहरू भारतमा गएर कोख भाडामा दिएको दुई/तीन घटना सम्पर्कमा आएको बताए । ‘पछिल्लो घटना बाँकैकै महिलामाथि भएको हो । उक्त घटनाबारे कानुनी प्रक्रियामै छौं,’ उनले भने, ‘कोख भाडामा दिएको कुरा सार्वजनिक गर्दा सामाजिक बहिष्करणमा पर्ने डरले पनि महिलाहरू खुल्न मान्दैनन् ।’

पछिल्लो एक वर्षमा बाँकेबाट ५ सय २५ महिला भारत गएर हराएको भन्दै खोजीका लागि उजुरी परेको छ । तीमध्ये २ सय ३ जना फेला परेको माइती नेपालले जनाएको छ । हराएका ३ सय २२ जनाको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।

नेपाली कानुनले गर्भाशय भाडामा दिनुलाई मानव बेचबिखनको अपराध मानेको छ । जसका काण गर्भ भाडामा दिने महिला खुल्न सक्ने वातावरण छैन । तर, अधिकारीकर्मीले भने गोप्य रूपमै ती महिलालाई भेटेर घटनाबारे बुझ्न थालेका छन् । भाडामा गर्भ दिने महिलाका बारेमा अधिकारकर्मीहरूले सूचना संकलनकर्ता खटाएका छन् । भारत जाने बेला महिलाको शारीरिक अवस्था सामान्य हुन्छ । तर, गर्भ भाडामा दिइसकेर फर्केका महिलाको अवस्था ठ्याक्कै सुत्केरीकै जस्तो हुन्छ । बाँके प्रहरी प्रवक्ता मधुसूदन शर्माले भाडामा गर्भ दिने मुद्दा कानुनी रूपमै अन्योलमा रहेकाले गोप्य रूपमा यस्तो कार्य भएको हुन सक्ने जनाए । ‘गर्भ भाडामा दिएको घटनाबारे प्रहरीमा भने उजुरी आएको छैन,’ उनले भने ।

प्रकाशित : माघ ९, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?