आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी- समाचार - कान्तिपुर समाचार

आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

रासस

काठमाडौँ — सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौंले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ ।

श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए ।

कसरी लिने पुनः श्रम स्वीकृति ?

पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइटमा गएर अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली गएर पनि खोल्न सकिनेछ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन् । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री आलेले गरे पशुपति धर्मशालाको निरीक्षण

तस्बिर : अंगद ढकाल

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार पशुपतिमा रहेको धर्मशालाको निरीक्षण गरेका छन् । बतास समूहले भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त धर्मशालाको भवन र विभिन्न संरचनाहरुको अनुगमनपछि मन्त्री आलेले आफूले नसोचेको कुरा पाएको बताएका छन् । पशुपतिमा भएको आजको अनुगमनसँगै सोमबार पशुपति विकास कोषमा पत्रकार सम्मेलन गरी यसबारे थप कुरा बताइने सुनाए । मन्त्री आलेले आइतबारै ३ बजे नारायणहिटी अनुगमनका लागि जाँदैछन् ।

सार्वजनिक सम्पत्तिमा हात हाल्न उद्यत आनन्द बतासले राजनीतिक पहुँचको बलमा पशुपति धर्मशालामा होटल चलाएका हुन् । पशुपति घुम्न आउने नेपाल तथा भारतका तीर्थयात्रीको सुविधाका लागि भारत सरकारले धर्मशाला बनाइदिएको थियो । तर सरकारसँग धर्मशाला लिएर उनले होटल आनन्द पशुपतिमा चलाएका छन् ।

आफूले धर्मशालामा चारतारे होटल चलाएर सुविधा दिएको दाबी बतास समूहले गर्दै आएको छ  । चार सय जना सुत्न मिल्ने गरी बनाएको धर्मशालाको आन्तरिक संरचना भत्काएर अहिले महँगा कोठा बनाइएको छ ।

केपी ओली नेतृत्वको सरकारका पाला पशुपति क्षेत्र विकास कोषले धर्मशाला बतासलाई जिम्मा लगाएको थियो । वर्षको १ करोड ५ लाख ४१ हजार भाडा लिने गरी १५ वर्षका लागि २०७६ वैशाख ३० मा बतास समूहसँग सम्झौता भएको थियो । यही धर्मशालामा बतासको कर्पोरेट कार्यालयसमेत राखिएको छ । त्यस्तै प्रांगणमा पुराना गाडीको प्रदर्शनीस्थल पनि बनाइएको छ ।


प्रकाशित : माघ २, २०७८ १३:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×