श्रमिक भर्ना प्रक्रिया खोल्ने मलेसियाको तयारी- समाचार - कान्तिपुर समाचार

श्रमिक भर्ना प्रक्रिया खोल्ने मलेसियाको तयारी

श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहोर्ने व्यवस्था
कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियाले नेपालसहित देशबाट श्रमिक भर्ना गर्नका लागि रोजगारदाताहरूले आवेदन खुला गर्ने भएको छ । मलेसियाका मानव संसाधन मन्त्री सेरी साराभनानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहितका स्रोत मुलुकबाट श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गर्ने जनाएका हुन् ।

‘निकट भविष्यमा नै रोजगारदाताहरूले स्रोत देशबाट श्रमिक भर्नाका लागि अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाएको छु,’ उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिनका लागि बिचौलिया वा तेस्रो पक्षलाई अनावश्यक खर्च नगर्न अनुरोध गर्दछु ।’

विदेशबाट श्रमिक भर्नाका लागि रोजगारदाताले मानव संसाधन मन्त्रालयबाट अनुमति लिएपछि मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाइन्छ । रोजगारदाताले कुन देशबाट कति श्रमिक ल्याउने भनेर मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यो आवेदन लिने कार्य डेढ वर्षदेखि रोकिएको छ । मलेसियाले २०७६ को चैतको पहिलो सातादेखि नेपालबाट श्रमिक भर्ना गरेको छैन ।

मन्त्री सारभनानले आवश्यक श्रमिक मात्रै माग गर्न अनुरोध गरेका छन् । मलेसियाले गत डिसेम्बर १० तारिख श्रमिकको अभाव भएको भन्दै स्रोत देशबाट कृषि, उत्पादन, सेवा, निर्माण र घरेलु श्रमिकमा श्रमिक आपूर्ति गर्न अनुमति दिने निर्णय गरेको थियो । त्यो निर्णयलाई कार्यान्वयन गर्न १४ डिसेम्बरमा मापदण्ड (एसओपी) बनाएको थियो ।

एसओपीअनुसार मलेसिया पुगेपछि भने श्रमिकहरू सरकारबाट अनुमति प्राप्त क्वारेन्टिनमा सात दिन बस्नुपर्नेछ । श्रमिकहरू क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेश गर्न पाइनेछ । मलेसियाले श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था मिलाएको छ ।

नयाँ श्रमिक जान नपाएपछि मलेसियामा नेपालीको संख्या दिनहुँ घटिरहेको छ । नेपालसहित विदेशी श्रमिक भर्ना गर्न नपाएपछि मलेसियामा अलेखबद्ध (गैरकानुनी हैसियत) मा कार्यरत श्रमिकलाई कानुनी हैसियत प्रदान गरी रोजगार दिने नीति ल्याएको थियो । यो नीतिमा नेपाली श्रमिक आकर्षित हुन सकेनन् । कम्तीमा १० हजार अलेखबद्ध नेपाली श्रमिक स्वदेश फिरिसकेका छन् ।

प्रकाशित : पुस २७, २०७८ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्

जोरपाटी टिम च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — उमा खुला राष्ट्रिय कराते प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । नेपाल गोजुकाई कराते संघले आयोजना प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो दोस्रो भयो । तेस्रो भएको शंखडोल डोजोले ३ स्वर्ण जितेको थियो ।

पुरुषतर्फ ३० केजीमुनि तौलमा स्वर्ण जितेका आयुश राई र महिलातर्फ ४० केजीमुनि स्वर्ण जितेकी मानसिंहकी सविना तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिए । दुवैले ८–८ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार पाए । रकम आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रायोजन गरेका थिए ।

दोस्रो ११ स्वर्णको छिनोफानो भयो । कातातर्फ पुरुषमा नेपाल हाइसी–हा एकेडेमीका कृष्ण ऐडी र महिलामा जोरपाटी डोजोकी इशा वाइबाले स्वर्ण जिते ।

महिला ४० केजीमुनि सर्वोत्कृष्ट भएकी सविना, ४५ केजीमा शंखडोलकी अनिता तामाङ, ५० केजीमा साउथ भ्यालीकी नवीना डिम्डुङ, ५५ केजीमा शंखडोलकी युनिका राई, ६० केजीमा मानसिंहकी प्रविना गुरुङ र खुलातर्फ जोरपाटीकी अस्मिता प्रजाले स्वर्ण जितेका थिए ।

पुरुष ५५ केजीमुनि तौलमा जोरपाटीका विशाल केसीले स्वर्ण जिते । ६० केजीतर्फ जोरपाटीका सुजन राई र खुलातर्फ गोठाटारका रविन त्रिपाठीले स्वर्ण जिते ।

खेलाडीलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायतले पुरस्कृत गरे । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा २ सयभन्दा बढी खेलाडीको सहभागिता थियो ।

कार्यक्रममा संयोजक तथा संघका उपाध्यक्ष अच्युतराज उप्रेतीलाई उमा करातेको मुख्यालय लन्डनबाट सम्बन्धनप्राप्त र पाँचौं डानको प्रमाणपत्र हस्तान्तरण गरियो ।

प्रकाशित : पुस २७, २०७८ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×