१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कालापानी क्षेत्रमा भारतले संरचना निर्माण गरिरहँदा सरकारको मौनता सन्देहास्पद : एमाले

काठमाडौँ — नेकपा (एमाले)ले नेपाली भूभाग कालापानीमा भारत गर्दै आएको सडकसहितको संरचना निर्माणमा सरकारले मौनता सन्देहास्पद रहेको जनाएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियता सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको जनाएका छन् ।

कालापानी क्षेत्रमा भारतले संरचना निर्माण गरिरहँदा सरकारको मौनता सन्देहास्पद : एमाले

‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ एमालेले भनेको छ ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

एमालेले सडकसहितको संरचना निर्माण कार्यले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पुर्‍याउने गतिविधि तत्काल बन्द गर्न भनेको छ ।

‘नेपाल भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेको विषयलाई कूटनीतिक माध्यमबाट टुंग्याउने भनि गरिएको सहमतिविपरीत भारतीय पक्षले उक्त नेपाली भूभागमा सडक सहितको संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले भनेको छ ।

एमालेले वार्ताको माध्यमबाट समस्या समाधान नखोजिँदासम्म कुनै पनि संरचना बनाइनहुन्न भन्ने मान्यता रहेको जनाएको छ । ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ’, एमालेले भनेको छ ।

केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक सभालाई सम्बोधन गर्दै कालापानी क्षेत्र हुँदै भारतले सडकसहितको संरचनालाई निर्माण गरिरहेको बताएका थिए ।


प्रकाशित : पुस २७, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?