पद्मपाणि लोकेश्वर ४४ वर्षपछि आफ्नै विहारमा

‘संग्रहालयमा छन् विदेशबाट आएका ६३ र स्वदेशभित्रै भेटिएका ७६ पुरातात्त्विक मूर्ति’

पुस २६, २०७८

देवेन्द्र भट्टराई

काठमाडौँ — ४४ वर्षअघि नक्साल चारढुंगेस्थित शंकरदेव कीर्ति महाविहारबाट हराएको लिच्छविकालीन पद्मपाणि लोकेश्वरको मूर्ति वर्षौर्कों खोज–अनुसन्धानपछि आइतबार छाउनी संग्रहालयबाट नक्सालकै महाविहारमा प्रतिस्थापन गरिएको छ ।

तौलमा ३ सय ५७ केजीको पूर्ण कदको पद्मपाणि मूर्ति कसरी महाविहारबाट उठाइयो, कसले उठायो र बीचका वर्षहरूमा मूर्ति कता लगियो भन्ने पत्तो नपाइकनै २०५७ मा यो मूर्ति हनुमानढोका प्रहरीको स्टोरमा भेटिएको थियो । ‘म त्यसबेला काठमाडौं जिल्ला प्रहरी कार्यालयमा डीएसपी थिएँ, पुरानो हनुमानढोकाको तलपट्टिको स्टोरमा धेरै पुरातात्त्विक मूर्तिहरू थन्क्याएर राखेको देखेपछि ती सम्पदालाई संग्रहालयमा बुझाउनुपर्छ भनेर पहल थालेको थिएँ,’ अवकाश प्राप्त प्रहरी अधिकृत देवेन्द्र सुवेदीले कान्तिपुरसँग भने, ‘ती सबै मूर्ति, अभिलेखहरू केहीपछि छाउनी लगिएको थियो ।’

छाउनी संग्रहालयका प्रमुख जयराम श्रेष्ठका अनुसार हनुमानढोकाको स्टोरबाट लगत राखेर २०५९ फागुन १९ मा छाउनी ल्याइएका ढुंगाका पुरातात्त्विक मूर्तिहरूमध्ये एक पद्मपाणि पनि थियो । त्यसबाहेक केही पित्तल मूर्ति पनि थिए, केही टुँडाल र अरू अभिलेख । त्यसमाथि सम्पदा अन्वेषक लैनसिंह वाङदेलको ‘एन इन्भेन्ट्री अफ स्टोन स्क्लप्चर्स अफ द काठमाडौं भ्याली’ पुस्तकमा समेत उल्लिखित नवौं/दसौं शताब्दीमा बनेका मानिने पद्मपाणि लोकेश्वर विशेष महत्त्वको सम्पदा थियो नै । 

‘ज्यापू टोलको लिच्छविकालीन पुरातात्त्विक मूर्ति धेरै वर्षअघि हराएको छ रे भन्ने सुनेका हौं । इतिहासमा पद्मपाणि लोकेश्वरको मूर्ति देख्नेहरूसँग कुरा गरेर यसको प्रतीकात्मक चित्र उतार्दै मूर्तिको खोजबिनमा लागेको धेरै भइसकेको थियो,’ सम्पदा संरक्षण महाअभियानअन्तर्गत पुरातात्त्विक सम्पदाहरूको खोजबिनमा लागेका अभियानकर्मी यादवलाल कायस्थले भने, ‘पछि लैनसिंहको पुस्तक, सम्पदाविद् रामबहादुर कुँवरको पुस्तक (रिकभर्ड इमेजेज अफ नेपाल) मा पनि हाम्रो पद्मपाणि लोकेश्वरबारे लेखिएको पायौं ।’ खोजबिनका क्रममा उनीहरू स्वयम्भू, गौशालाका प्रहरी चौकीहरू पुगे पनि छाउनी संग्रहालय तत्काल गइहाल्ने सोचाइ भने कहिल्यै आएको थिएन । आफ्नो सम्पदा खोजबिनमा लागिरहेकै बेला गत महिना ‘तपाईंले फेसबुकमा भनेजस्तो पद्मपाणि लोकेश्वरको मूर्ति छाउनी म्युजियममा रहेझैं लाग्यो, खोजी गर्नुहोला’ भनेर कायस्थलाई लस्ट आर्ट अफ नेपालले सन्देश छाडिदिएका रहेछन् ।

‘अनि हाम्रो टोली छाउनी म्युजियम पुग्यो, हाम्रो पद्मपाणि लोकेश्वरको पहिचान खुलेपछि यो मूर्तिलाई आफ्नै महाविहार फर्काउन एक साता मात्रै लाग्यो,’ कायस्थले सुनाए । छाउनी संग्रहालय प्रमुख श्रेष्ठका अनुसार छाउनीमा रहँदै आएको र ‘उत्पत्तिको थलो पहिचान’ भएपछि यसअघि चापागाउँको बज्रबाराही देवी (धातुमूर्ति) पनि यथास्थानमा फर्काइसकिएको छ । प्रहरी र अन्य स्रोतबाट छाउनी संग्रहालयमा ल्याइएका मूर्तिहरूलाई स्थानीय समुदाय वा निकायले जिम्मा लिएर यसैगरी लगिदिएमा यी अमूर्त सांस्कृतिक सम्पदाले जीवन पाउने श्रेष्ठको बुझाइ छ । संग्रहालयमा ल्याइए पनि यसरी भेटिएका वा फिर्ता आएका मूर्ति र अन्य सम्पदा सार्वजनिक प्रदर्शनीमा भने राखिएको छैन । अथवा, संग्रहालयले आफ्नो वेबसाइटमार्फत पनि आफूसँग रहेका पुरातात्त्विक सम्पदाका बारेमा कहींकतै खुलाउने गरेको छैन । 

वर्षौंदेखि हराएका वा चोरिएका र अहिले संग्रहालय मातहतमा आएका एक सयवटाभन्दा बढी मूर्तिको आगामी फागुनमा सार्वजनिक प्रदर्शनी गरिने र यसले पनि सम्पदालाई यथास्थानमा फर्काउनलाई जागरण ल्याउन सक्ने श्रेष्ठको भनाइ छ ।

उनका अनुसार, नेपालबाट चोरिएर विदेश लगिएका मूर्तिको घरफिर्ती तथा संग्रहालयमा ‘स्टोर’ गरिने काम २०४२ सालबाट सुरु भएको हो । ‘विदेशबाट आएका पुरातात्त्विक महत्त्वका मूर्ति यहाँ ६३ वटा छन्, यसमा सबैभन्दा बढी भारत, बेलायत, अमेरिकाबाट घर फर्किएका सम्पदा छन्,’ उनले भने । त्यसमा मल्लकालीन सिर्जना मानिने वासुदेव–कमलाजा मूर्ति, लिच्छविकालीन उमामहेश्वर (प्रस्तर), सोह्रौं शताब्दीका विष्णु, महेश्वर, बुद्ध, पार्वती, भगिरथका मूर्तिहरू, ढलोट तारा मूर्तिसमेत स्टोरमा सुरक्षित छन् । 

यसैगरी, हनुमानढोका प्रहरी कार्यालय र अन्यत्रबाट गरेर प्राप्त ७६ पुरातात्त्विक मूर्ति पनि छाउनीमा राखिएको छ । नेपाल संवत् ८४९ को ढुंगा अभिलेख, लिच्छविकालीन हारतीको मूर्ति, सोह्रौं शताब्दीको हरिहर र चन्द्रको मूर्ति, श्रीधर विष्णु आदि संकलनमा छन् । तर, यी सम्पदाहरू वर्षौंदेखि संग्रहालय सुरक्षामा भण्डारण गरिएपनि यिनको सूचीकृत, अभिलेख, के–कहाँ र कहिले भेटिएको भनेजस्ता विवरण भने अझै पनि पाउन सकिन्न । ‘स्टोर भनेर हामीले कुनै सुरक्षा र संवर्द्धनबिना सम्पदालाई थुपारेर राखेका छैनौं,’ प्रमुख श्रेष्ठ भन्छन्, ‘सुरक्षित ढंगमा र सकेसम्म कालक्रममा मिलाएर राखेका छौं ।’

सम्पदाविद् रवीन्द्र पुरीले पुरातात्त्विक सम्पदाको संग्रह गरिएको छ भन्दैमा यसको अर्थ र महत्त्व स्पष्ट हुन नसक्ने भन्दै यस्ता सामग्रीको ‘अभिलेखीकरण’ जरुरी रहेको बताए । ‘अन्यथा कुन मूर्तिको इतिहास के हो, यो कसरी र कुन स्रोतबाट हरायो, कसरी फेला पर्‍यो भनेजस्ता अन्वेषणका आधारहरू सधैं ओझेलमै रहिरहने भए,’ पनौतीमा म्युजियम अफ स्टोलन आर्टको निर्माणमा जुटेका पुरीले भने, ‘अन्यथा हाम्रो सम्पदा फेला परिहाल्यो, अब कसरी र कुन उपायबाट हराएको थियो भनेर खोजबिनै नगर्ने ?’ 

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully