मोदीको विवादित अभिव्यक्ति : 'लिपुलेक जोड्ने सडक विस्तार भइरहेको छ'- समाचार - कान्तिपुर समाचार

मोदीको विवादित अभिव्यक्ति : 'लिपुलेक जोड्ने सडक विस्तार भइरहेको छ'

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको छ । नेपालले दुई वर्ष अगाडि नै त्यसप्रति विरोध जनाएको थियो । 

पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा उनले मानसरोवर यात्रा सहज बनाउन लिपुलेकसम्मको सडक बनाइएको र त्यसमा थप विस्तारको काम भइरहेको अभिव्यक्ति दिएका थिए ।

पहिलाको सरकारले उत्तराखण्डको विकासमा ध्यान नदिएको भन्दै अहिले गरिएका कामको फेहरिस्त बताउने क्रममा मोदीले भनेका थिए, ‘टनकपुरदेखि पिथौरागढसम्मको अल वेदर रोडमा मात्रै हामीले काम गरेका छैनौं । मानसखण्ड मानसरोवरको प्रवेशद्वार सडकबाट वञ्चित थियो । अहिले लिपुलेकसम्मको सडक बनाइएको छ । त्यसमा अगाडि पनि विस्तारको काम जारी छ ।’

नेपाली भूमि लिपुलेक लामो समयदेखि भारतको नियन्त्रणमा छ । भारतीय सेनाको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा नेपालको सहमतिबेगर भारतले पूर्वाधार निर्माण तथा सडक विस्तारलगायतका काम गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर दुई देशबीच विवाद कायम छ । दुवैले उक्त क्षेत्रलाई आफ्नो भन्दै नक्सामा समेटेका छन् ।

मोदीको पछिल्लो अभिव्यक्तिप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन । यसअघि सडक निर्माणको विषय सार्वजनिक भएपछि यसअघि परराष्ट्र मन्त्रालयले त्यसप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो ।

मोदीको पछिल्लो अभिव्यक्ति भन्दा ठीक दुई साता अगाडि मंसिर २९ मा रक्षामन्त्री राजनाथ सिंहले पनि लिपुलेकमा सडक निर्माण गरिएको चर्चा गरेका थिए । तर उनले शिर झुकाएर भए पनि नेपालसँगको सम्बन्ध कुनै हालतमा बिग्रिन नदिने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित : पुस २४, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड उपचारमा पूर्वाधार थप, जनशक्ति अभाव

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विस्तार भइरहँदा स्वास्थ्य संस्थामा पर्याप्त तयारी देखिएको छैन । दोस्रो लहरपछि अक्सिजन प्लान्ट र शय्या बढाइए पनि धेरै अस्पतालमा विशेषज्ञ नहुँदा भेन्टिलेटर प्रयोगमा चुनौती छ, डाक्टर, नर्स र कर्मचारीको अभाव उस्तै छ । होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र निर्माण अलपत्र छन् ।
प्रदेश ब्युरो

काठमाडौँ — सीमाबाट आउने कोरोना संक्रमित र शंकास्पदको व्यवस्थापनका लागि सरकारले नेपाली सेनामार्फत विराटनगर र झापामा निर्माण थालेका १/१ हजार जना क्षमताका होल्डिङ सेन्टर अझै तयार हुन सकेका छैनन् । विराटनगर जुट मिलको पश्चिम–उत्तरतर्फको जग्गामा होल्डिङ सेन्टर बन्दै छ ।

२४ करोड ७५ लाखमा ठेक्का लिएर द्रुत गतिमा निर्माण भइरहे पनि समयमा बजेट निकासा नभएकाले समस्या भएको ठेकेदार प्रतिनिधि बच्चुराम दाहालले बताए ।

यस्तै, झापाको मेचीनगरस्थित हडिया खोलाको बगरमा बनिरहेको होल्डिङ सेन्टरमा फिनिसिङको काम बाँकी छ ।

मेचीनगरस्थित हडिया खोलाको बगरमा बनिरहेको होल्डिङ सेन्टर ।

संक्रमितका लागि प्रदेश १ का ३१ अस्पतालमा १ हजार १३६ शय्या तयारी अवस्थामा छ । ११७ भेन्टिलेटरसहित १६९ आईसीयू, ३५७ एचडीयू, सामान्य शय्या ३५९ र आइसोलेसन शय्या २५१ रहेको तथ्यांक छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची प्रादेशिक अस्पताल, कोसी कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, बी एन्ड सी अस्पताल, न्युरोलगायत अस्पतालमा अक्सिजन प्लान्ट छन् ।

विराटनगरको रानीस्थित विराटनगर जुट मिलको खालि जग्गामा होल्डिङ सेन्टर निर्माण गरिँदै । तस्बिर : देवनारायण साह/कान्तिपुर

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले यसअघि ६ जिल्लास्थित अस्पतालमा प्लान्ट जडान भएर उत्पादन भइरहेको र यस वर्ष थप ८ जिल्लामा १ करोड ५० लाखका दरले प्लान्टका लागि बजेट निकासा भइसकेको बताए ।

प्रदेश २ सरकारले स्थानीय तहलाई थप सक्रिय बनाउने, नेपाल–भारत सीमानाकामा हेल्थ डेस्क स्थापना र स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नेलगायत काम बढाएको छ । दोस्रो लहरपछि सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले बताए ।

सर्लाही, रौतहट र बारामा केही दिनभित्रै प्लान्ट सञ्चालनको तयारी गरिएको उनको भनाइ छ । जनकपुरमा १० बेड आईसीयू, १० बेड एनआईसीयूसहित १ सय बेडको कोभिड अस्पताल सञ्चालन गरी प्रदेशका ८ जिल्लामा ३ सय ५० बेड आइसोलेसन र ६३ भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । जनकपुरको मुजेलियामा गम्भीर संक्रमितलाई उपचार गर्न १ सय बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याइएको झाले जानकारी दिए ।

थपिँदै पूर्वाधार

वाग्मती प्रदेशको राजधानीस्थित हेटौंडा अस्पतालमा कोरोनाको दोस्रो लहरपछि दैनिक १ सय २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिएको छ । अस्पतालका कोरोनाका बिरामीका लागि २० वटा एचडीयू र १७ वटा आईसीयू बेड छुट्याइएको डा. प्रशान्त बिडारीले बताए ।

भरतपुरको सरकारी अस्पताल, दुई मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा अक्सिजन सिलिन्डरको सुविधा भएका अन्य सामुदायिक आइसोलेसन केन्द्रमा समेत गरेर ७१७ बेड तयारी अवस्थामा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘ओमिक्रोनको समस्या बेहोर्नु नपर्ने हैन तर अक्सिजनको समस्या नहोला भन्ने आशा छ,’ चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपानेले भने ।

हेटौंडा अस्पतालमा सञ्चालनमा ल्याइएको कोभिड आईसीयू । तस्बिर : सुवास विडारी/कान्तिपुर

रामेछाप जिल्ला अस्पतालमा पनि पीसीआर मेसिन र अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । जिल्ला स्वास्थ्य प्रमुख शान्तिराम खतिवडाले प्लान्टले जिल्ला अस्पतालमा आवश्यक अक्सिजनको पूर्ति गर्ने बताए । उनका अनुसार न्यूनतम ५ वटा सिलिन्डर सबै पालिकामा छन् । सिन्धुपाल्चोकको चौतारा अस्पतालमा अक्सिजन उत्पादन र पीसीआर परीक्षणको सुविधा थपिएको छ । अक्सिजन प्लान्टले प्रतिघण्टा ९० लिटरभन्दा बढी अक्सिजन उत्पादन गरिरहेको छ ।

‘अक्सिजनमा आत्मनिर्भर’

गण्डकीमा दोस्रो लहरपछि आईसीयू, एचडीयू बेड थपिएको छ भने पीसीआर मेसिन ६ वटा पुर्‍याइएको छ । अक्सिजन प्लान्ट निर्माण र रिफिल गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले बताए । १२५ नर्सलाई घरघरमै कोरोनाबारे परामर्शका लागि खटाइएको उनले जानकारी दिए । ‘प्रदेश अक्सिजनमा आत्मनिर्भर भइसकेको छ, अन्य पूर्वाधारको अवस्था पनि राम्रै छ,’ उनले भने ।

प्रदेशका ११ जिल्लामध्ये मनाङबाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भइसकेको छ । मन्त्रालयका प्रवक्ता डा.नारायण श्रेष्ठले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्ने अनुमान गर्दै सोहीअनुसार पूर्वाधार बनाउने तयारी भइरहेको बताए । मन्त्रालयका अनुसार प्रदेशमा ५ सय ८१ आइसोलेसन बेड रहेकामा शुक्रबारसम्म ५६८ बेड खाली छन् । यसैगरी २१४ आईसीयू बेड, ८३ भेन्टिलेटर, ४७२ एचडीयू बेड छन् ।

दमौली अस्पतालमा तयार गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल, गण्डकी मेडिकल कलेज, संक्रामक तथा सरुवा रोग अस्पताल र सबै जिल्ला अस्पताललाई आवश्यक उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा. शरद बरालले अस्पतालमा ५० बेड छुट्याएर तयारीमा बसेको बताए ।

अस्पताल स्तरोन्नति धमाधम

लुम्बिनी प्रादेशिक अस्पतालमा बनेको नयाँ भवनमा २ सयसम्म बिरामी अट्ने व्यवस्था मिलाइएको छ भने २ सय सिलिन्डर एकैपटकमा भरिने गरी अक्सिजन प्लान्टसमेत जडान भएको कोरोना फोकल पर्सन डा. नन्दु पाठकले जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पतालमा १५ आईसीयू, १५ एचडीयू र अन्य ३० गरी ६० वटा बेड कोरोना उपचारका लागि छुट्याइएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहले बताए । अस्पतालमा प्रतिदिन ७५ सिलिन्डर भर्न मिल्ने प्लान्ट स्थापना भइसकेको छ भने अन्य दुई निर्माणाधीन अवस्थामा छन् ।

भीम अस्पताल भैरहवामा १९ बेड राखिएकामा ४ वटा आईसीयू बेड रहेको सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । प्रतिदिन २ सय सिलिन्डर भर्ने गरी अक्सिजन प्लान्ट स्थापना गरिएको छ । ‘अहिले पनि दैनिक तीन जनासम्म संक्रमित आइरहेका छन्,’ उनले भने, ‘यो संख्या बढ्न सक्ने संकेत मिलेको छ ।’

रूपन्देहीको भीम अस्पतालमा स्थापित अक्सिजन प्लान्ट । यो प्लान्टबाट दैनिक २ सय सिलिन्डर भर्न सकिन्छ । तस्बिर : सन्जु पौडेल/कान्तिपुर

जिल्ला अस्पतालमा समेत अक्सिजन प्लान्ट निर्माण भएका छन् । गुल्मी अस्पतालमा दैनिक ४० सिलिन्डर उत्पादन हुन थालेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन १ सय सिलिन्डर उत्पादन क्षमताको प्लान्ट सञ्चालनमा आएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. उत्तम पाच्चाले बताए ।

अर्घाखाँची जिल्ला अस्पतालमा पनि दैनिक ७० सिलिन्डर भर्न सकिने प्लान्ट स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए । उनका अनुसार अस्पतालमा १० वटा आईसीयू र १० वटा जनरल बेड कोरोना बिरामीका लागि छुट्याइएको छ । बर्दियास्थित जिल्ला अस्पताल गुलरियामा दैनिक ७५ सिलिन्डर क्षमताको प्लान्ट स्थापना भएको अस्पतालका व्यवस्थापक वसन्त खनालले बताए ।

प्रदेशका तीन मुख्य बिन्दुमा सतर्कता अपनाउँदै नयाँ भेरिएन्टविरुद्धको तयारी थालिएको लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले बताए । प्रदेशमा रहेका चार कोरोना अस्पतालमा १ सय १० जनरल बेड, २ सय १९ एचडीयू र १ सय ३० आईसीयू बेड रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

कर्णालीमा तयारी न्यून

कर्णालीका अधिकांश अस्पतालमा पूर्वाधारको अभावसँगै जनशक्तिको समस्या पनि उस्तै छ । सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पताल सुर्खेतले नै डाक्टरदेखि कर्मचारीसम्मको अभाव झेल्दै आएको छ । प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा. डम्बर खड्काले नयाँ संगठन तथा व्यवस्थापनअन्तर्गत १ सय ५० दरबन्दी रहेकामा हालसम्म १ सय १३ जनाको मात्रै पदपूर्ति भएको बताए । संक्रमितका लागि अस्पतालमा यसअघि तयार पारिएको ३ सय बेड कायमै रहेको उनले जानकारी दिए । अन्य सबै जिल्ला अस्पताल र आइसोलेसनलाई भने नर्मल बेडमा रूपान्तरण गरिएको छ ।

मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र सल्यानमा अझै अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । प्रदेश सरकारले १० जिल्लामध्ये गत आर्थिक वर्षमा ८ जिल्लामा अक्सिजन मिनी प्लान्ट स्थापनाका लागि प्रतिजिल्ला ४० लाख रुपैयाँका दरले ३ करोड २० लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये मुगु, डोल्पा, रुकुम पश्चिम र सल्यानमा अक्सिजन सिस्टम जेनेरेटर ल्याइएपछि जडानको कामै रोकियो । प्लान्ट खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दासमेत परेको छ । जिल्ला अस्पताल डोल्पामा अक्सिजन सिलिन्डर नै खरिद गरी काम चलाइएको छ । हुम्लामा पनि अक्सिजन अभाव छ ।

गत वर्ष प्रदेश सरकारले उपलब्ध गराएको ४० लाख रुपैयाँमा प्लान्ट खरिदका लागि कुनै कम्पनीले इच्छा देखाएनन् । स्वास्थ्य कार्यालयका निमित्त व्यवस्थापक प्रेमबहादुर सिंहले ढुवानी र प्लान्ट जडानका लागि बजेट नपुग्ने भएपछि रकम फ्रिज भएको बताए । प्रदेश अस्पताल सुर्खेतमा २ वटा प्लान्ट जडान भए पनि नयाँ भवनमा सञ्चालन भइरहेको अक्सिजन प्लान्ट ट्रान्सफर्मर पड्किएर बन्द रहेको प्रवक्ता डा. विकास केसीले बताए ।

जुम्लामा १५ दिनभित्र १ दिनमा १ सय सिलिन्डर रिफिल गर्न सक्ने प्लान्ट आइपुग्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताए । कर्णालीका १० वटै जिल्लामा भेन्टिलेटर जडान गरिएको छ । तर पहाडी र हिमाली जिल्लामा तालिमप्राप्त विशेषज्ञ चिकित्सक नहुँदा सबै भेन्टिलेटर प्रयोगविहीन छन् । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले कोरोना प्रतिकार्यका लागि योजना निर्माण गरिरहेको बताए ।

अक्सिजन प्लान्ट र बेड विस्तार

गत वैशाखमा दोस्रो लहर चुलिएका बेला सुदूरपश्चिममा अक्सिजन, आईसीयू, भेन्टिलेटर, शय्या, होल्डिङ सेन्टरलगायत पूर्वाधारको संकट थियो । तेस्रो लहरको जोखिम बढिरहेका बेला पूर्वाधारको तयारी अझै पर्याप्त हुन सकेको छैन ।

प्रदेशका १२ सरकारी अस्पतालमा ९ सय ७७ शय्या छन् । सबै अस्पतालमा एक सय ३९ शय्या एचडीयू रहेकामा कोभिड एचडीयूको संख्या १ सय २६ छ । प्रदेशभर ६९ आईसीयू रहेकामा ५४ वटा कोभिड आईसीयू निर्माण गरिएको छ । कुल ३५ वटा भेन्टिलेटर रहेकामा २१ वटा कोभिडका लागि तयार गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ९ वटै जिल्लाका ८७ स्थानमा १ हजार ५ सय ९२ शय्या आइसोलेसन छन् ।

गत वैशाखमा प्रदेशभरका स्वास्थ्य संस्थामा आईसीयूको संख्या ६८ रहेकोमा कोभिड आईसीयूको संख्या २७ मात्रै थियो । त्यसबेला ३८ वटा भेन्टिलेटर रहेकामा कोभिड बिरामीका लागि १९ वटा भेन्टिलेटर सञ्चालनमा थिए । धनगढी, महेन्द्रनगर र डडेलधुरा अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटर मात्रै सञ्चालनमा थिए । महाकाली अस्पतालमा ६ वटा मात्रै सञ्चालनमा थिए भने डडेलधुरा अस्पतालमा रहेका ४ वटा भेन्टिलेटर भने सञ्चालित थिए ।

बझाङ र अछाममा रहेका आईसीयू, भेन्टिलेटर दक्ष स्वास्थ्य जनशक्ति अभावले सञ्चालन हुन सकेका थिएनन् । हाल केही पूर्वाधार थपिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा दुई हजार सिलिन्डर भर्न सकिने क्षमताको लिक्विड अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पताल प्रमुख डा. हेमराज पाण्डेले थप अर्को प्लान्ट जडानको तयारीमा रहेको बताए । १८ शय्या बालबालिकाका लागि तयार गरिएको छ ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पनि ७० बेडका लागि पाइपबाटै अक्सिजन उपलब्ध हुने सुविधा भएको छ । डडेलधुरा अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान गरिएको र थप लिक्विड अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको प्रयोगशाला प्रमुख ईश्वरी भुसालले बताए ।

जिल्ला अस्पताल बझाङमा जडान गरिएको अक्सिजन प्लान्ट ।

गत वर्ष उपकरण भएर पनि जनशक्ति अभावमा थन्किएका आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि प्रदेश सरकारले डाक्टर र नर्सलाई तालिम दिइएको प्रवक्ता कार्कीले बताए । पूर्वतयारीका क्रममा कैलाली र कञ्चनपुरमा ५०/५० शय्याको कोभिड अस्पताल तयार भएको, पहाडी जिल्लाका अस्पतालमा आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्ति तयार गरिएको, अक्सिजन प्लान्ट थप गरिएको उनको भनाइ छ ।

संघीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा निर्माण थालेको हजार बेडको होल्डिङ सेन्टरको काम अझै सकिएको छैन । भित्री काम मात्रै बाँकी रहेको निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर लक्ष्मण सापकोटाले बताए ।

-देवनारायण साह (मोरङ), सन्तोष सिंह (धनुषा), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), टीकाप्रसाद भट्ट (रामेछाप), अनिश तिवारी (सिन्धुपाल्चोक), लालप्रसाद शर्मा (पोखरा), सन्जु पौडेल (लुम्बिनी), कृष्णप्रसाद गौतम (सुर्खेत), अर्जुन शाह (धनगढी) र भवानी भट्ट (कञ्चनपुर)

प्रकाशित : पुस २४, २०७८ ०७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×