वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने प्रस्ताव

८औं महाधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष दाहालले '२१औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको वैचारिक एवम् राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पुस १२, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८औं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले '२१औं शताब्दीमा समाजवादको नेपाली बाटो' शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ । वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए । 'पार्टी इतिहासको संक्षिप्त चर्चा' शीर्षकमा 'इतिहासमा प्रचण्डपथको योगदान'का बारे  चर्चा भएको छ । 

बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य  कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल,  गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

अध्यक्ष दाहालले प्रतिवेदन प्रस्तुत गरेपछि सोमबार नै स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि छलफल गर्न सोमबार नै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully