कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माओवादीको सम्मेलन महाधिवेशनमा रूपान्तरण

बबिता शर्मा

काठमाडौँ — नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलन (११–१३ पुस) लाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । स्थायी समितिको निर्णयलाई आइतबार बस्ने केन्द्रीय समितिले अनुमोदन गर्नेछ । विधानमा महाधिवेशनबारे निर्णय लिने अधिकार केन्द्रीय समितिलाई छ ।

माओवादीको सम्मेलन महाधिवेशनमा रूपान्तरण

प्रथम राष्ट्रिय सम्मेलनको तयारीस्वरूप शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनपूर्व गर्नुपर्ने सबै प्रक्रिया सकिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । सदस्यता नवीकरणदेखि वडा, पालिका र प्रदेशसम्मका अधिवेशन गरिएको, राजनीतिक प्रतिवेदन लेखन र विधान संशोधन प्रस्ताव तयार हुनु महाधिवेशनपूर्वकै काम भएको निष्कर्षसहित सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

देशव्यापी रूपमा कार्यकर्ता तहमा देखिएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित भएको उनको भनाइ छ । बैठकपछि महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पंक्तिमा पनि विशेष चासो बढेकाले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको बताए ।

माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधानबमोजिम हुने व्यवस्था छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ । तत्कालीन एकीकृत माओवादीले २०६९ माघमा हेटौंडामा सातौं राष्ट्रिय महाधिवेशन गरेको थियो भने २०७१ मा विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको थियो ।

अहिले महाधिवेशन गरेपछि अर्को पाँच वर्ष संगठन निर्माणमा केन्द्रित हुन सकिने माओवादी नेताहरूको बुझाइ छ । राष्ट्रिय सम्मेलनको तयारीकै रूपमा माओवादीले पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान, सेल र टोल सम्मेलन, वडा सम्मेलन, पालिका र नगरपालिका सम्मेलन हुँदै प्रदेश सम्मेलन सम्पन्न गरेको थियो । संगठन सुदृढीकरण र जनपरिचालन अभियानसहित चिनियाँ नेता माओको जन्मजयन्तीको सन्दर्भ पारेर पुस ११–१३ मा राष्ट्रिय सम्मेलन आयोजना गर्ने गत साउनकै केन्द्रीय समिति बैठकको निर्णय थियो ।

‘महाधिवेशनका लागि सबै प्रावधान पुगेको हुँदा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय स्थायी समितिले गरेको छ तर केन्द्रीय समितिले यसलाई अनुमोदन गर्न बाँकी छ,’ स्थायी समिति सदस्य देव गुरुङले भने, ‘केन्द्रीय समितिको बैठक आइतबार बिहानका लागि बोलाइएको छ । केन्द्रीय समितिले अनुमोदन गर्‍यो भने सम्मेलनको ठाउँमा महाधिवेशन हुन्छ ।

प्रतिनिधिहरू पनि महाधिवेशनको प्रावधानअनुसार नै आएका छन् । बाँकी अरू प्रक्रिया सबै एउटै हो ।’ महाधिवेशनको उद्घाटन आइतबार दिउँसो ३ बजे राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न पार्टीका शीर्ष नेतालाई पनि आमन्त्रण गरिएको छ । उद्घाटन सत्रपछि बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन साथै अन्तरिम विधान–२०७८ पेस हुनेछ ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेपछि प्राविधिक काम पनि थपिएको छ । परिचयपत्रदेखि ब्यानरसम्म र अध्यक्ष दाहालको प्रतिवेदनदेखि अन्य कागजातमा समेत राष्ट्रिय सम्मेलनको ठाउँमा आठौं महाधिवेशन उल्लेख गर्नुपर्ने भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । माओवादीको महाधिवेशनमा सवा करोड खर्च हुने अनुमान गरिएको छ ।

‘शुक्रबारसम्मको आकलनमा १ करोड आसपास खर्च हुने अनुमान गरेका थियौं,’ सचिव उपाध्यायले भने, ‘अब महाधिवेशन गर्ने भएपछि प्रचारप्रसार खर्च बढ्यो । त्यसकारण करिब सवा करोडमा टुंग्याउने गरी महाधिवेशन सकिन्छ ।’ महाधिवेशन करिब पाँच दिन चल्ने भएको छ । महाधिवेशनमा १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिले खाने र बस्ने व्यवस्था आफैं गर्नेछन् भने दिउँसोको खाजा आयोजकले व्यवस्था गर्नेछ ।

प्रकाशित : पुस ११, २०७८ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?