प्रदेश २ मा देउवाविरुद्ध निधि–कोइराला गठबन्धन

पुस ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको प्रदेश २ अधिवेशनमा शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । प्रदेशको नेतृत्व हत्याउन निधि र कोइराला समूहले सभापति शेरबहादुर देउवा समूहविरुद्ध गठबन्धन गरेर उम्मेदवारी दिने भएका हुन् । यसअघि १६ मंसिरमै प्रदेश अधिवेशनको उद्घाटन भए पनि अहिलेसम्म प्रदेशको निर्वाचन भएको छैन, बरु केन्द्रीय अधिवेशन सम्पन्न भइसकेको छ । 

मंगलबारदेखि हुने प्रदेश अधिवेशनमा निधि र कोइराला समूहबीच गठबन्धन बनेको नेता रामकृष्ण यादवले जानकारी दिए । प्रदेश २ मा सभापतिका लागि देउवा समूहले कृष्ण यादवलाई अघि सारेको छ भने निधिले आफूनिकट रामसरोज यादवलाई अघि सारेका छन् । 

कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको हो । देउवा समूहबाट सभापतिका दाबेदार यादव रौतहटका पूर्वजिल्ला सभापति हुन् भने अर्का यादव प्रदेश २ मा कांग्रेसका संसदीय दलका नेता हुन्, उनी हाल प्रदेश सरकारका मन्त्रीसमेत हुन् । 

‘हामीले रामसरोज यादवलाई नै समर्थन गर्ने भयौं । सभापतिबाहेकका पदमा हामी मिलेर उम्मेदवारी दिन्छौं,’ नेता यादवले भने ।

सोमबार साँझ नेता विमलेन्द्र निधि र कोइराला समूहबाट नेताहरू गुरुराज घिमिरे, रामकृष्ण यादव र भुपेन्द्रजङ्ग शाहीलगायतबीच गठबन्धन गरेर उम्मेदवारी दिने सहमति भएको हो ।

कान्तिपुर

Link copied successfully