दैलेख — पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीमध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्कासहित तीन जनालाई दैलेख जिल्ला अदालतले जन्मकैद सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए । डेकेन्द्रराजको हत्या भएको १७ वर्षपछि आरोपी दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ४१ वर्षीय खड्कालाई सजाय भएको हो । आफूलगायत ९ जनाविरुद्ध जाहेरी परेपछि फरार रहेका खड्कालाई दुई वर्षअघि कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै दैलेख पठाएको थियो । प्रहरीले उनलाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउँदै २०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि दैलेख कारागार चलान गरेको थियो ।
फैसलाअनुसार कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लु नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ । मुल्तवीबाट जगाइएको कर्तव्यज्यानसम्बन्धी मुद्दामा आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ । अदालतका श्रेस्तेदार कार्कीले डेकेन्द्र थापा हत्या प्रकरणको मुल्तवी लगत कट्टा भएको बताए ।
आइतबार भएको बहसमा कसूरदारलाई सजायको मागदाबी गर्दै जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रुकमेदा पोखरेलले बहस गरेका थिए । प्रतिवादीहरुको बचाउ गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु सालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गरेका थिए ।
सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेका थिए । दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जाने बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए ।
अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । पत्रकार मारिएको भन्दै त्यत्तिबेला माओवादीको आलोचना भएकोले माओवादीले थापालाई गाडिएको ठाउँसमेत गोप्य राखेका थिए ।
शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमस्ले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो । घटनाको ४ वर्षपछि थापाको कंकालको वैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते परम्पराअनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । दाहसंस्कारपछि पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
युद्धकालीन समयमा घटना भएकोले विस्तृत शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै मुद्दा चल्न सकेको थिएन । पत्रकारहरुको निरन्तर दबाबपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जनामध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो । पक्राउ परेकाहरुका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरुले कैद भुक्तान गरिसकेका छन् ।
फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ (हाल दुल्लु नगरपालिका–६)का खड्कासमेत ४ जना पक्राउ परेको बखत मुद्दा ब्यूँताउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो । अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गुमाएका पत्रकार थापा त्यसबेला ३३ वर्षका थिए । त्यसबेला थापा रेडियो नेपालको दैलख संवाददाता थिए ।
