दलहरूको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव आउँदैन : दाहाल- समाचार - कान्तिपुर समाचार

दलहरूको सहमतिबिना प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव आउँदैन : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीचको सहमतीबिना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्‌मा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । 

अध्यक्ष दाहालले यही मंसिर २८ गते बोलाइएको संघीय संसद्‌को हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्ट्याएका हुन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसद्ले निर्णय लिने अवस्था नरहेको पनि बताए ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसद्‌मा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतिमा मात्रै हुने अध्यक्ष दाहालको भनाइ थियो । अध्यक्ष दाहालले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने कुरा, एमसीसी के हुन्छ भन्ने विषयमा चिन्ता नलिई लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिन पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका नेता, कार्यकर्तालाई अपिल गरे ।

उनले भने, ‘न्यायालयतिर के होला भन्ने चिन्ता । अर्कोतिर एमसीसी भन्ने छ । एमसीसीले के गर्छ भन्ने चिन्ता । २८ गते सदन बोलाइएको छ । केहीले सोचेका छन–एमसीसीको लागि बोलाइएको हो कि भनेर । कोहीले सोचेका छन्–महाअभियोगको लागि भनेर । यो त हिउँदे अधिवेशन हो । यो अधिवेशन हामीले बोलाउनु नै पर्थ्यो, प्रतिनिधिसभाको महत्वको लागि पनि । अब त्यहाँभित्र राजनीतिक दलहरुको समझदारी बनाएर, जान्छौं हामी । एमसीसीको पनि राष्ट्रिय सहमति र राजनीतिक दलहरुको समझदारीबाटै जान्छ । जबरजस्ती गरेर कसैले हुने कुरा छैन । महाअभियोग पनि त्यो राष्ट्रिय हितअनुसार राजनीतिक समझदारीको आधारमा मात्रै हुने/नहुने कुरा हुन्छ । त्यसकारण त्यसमा चिन्ता नमानी लोकतन्त्र र गणतन्त्रको पक्षमा, हामीले ल्याएको परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन अपिल गर्दछु ।’

प्रकाशित : मंसिर १८, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

लक्ष्मी नारायणले ३८ वर्षपछि गहना लगाए

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटनको नारायण मन्दिरबाट ३८ वर्षअघि चोरिएर भर्खरै घर फर्केका लक्ष्मीनारायण मूर्तिले पारम्परिक गहना लगाएका छन् । अमेरिकाको टेक्सासस्थित डल्लास म्युजियममा फेलापरेको पुरातात्त्विक मूर्तिलाई साविककै मन्दिरमा शनिबार दिउँसो प्रतिस्थापन गरिएको हो ।

क्षमापूजा र धार्मिक विधि पूरा गरेर राखिएको मूर्तिमा रित अनुसार मूर्तिका तामानिर्मित गहना पनि लगाइएको थियो । विशेष पर्व र जात्रामा मात्रै लगाइने यी गहना लक्ष्मीनारायणको प्रतिलिपी मूर्तिमा भने साइज मिलेको थिएन । बल्ल सक्कली मूर्ति आएपछि देउताले गहना लगाउन पाएका हुन् ।

प्रकाशित : मंसिर १८, २०७८ १६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×