ओमिक्रोन भेरियन्टदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनको सुझाव- समाचार - कान्तिपुर समाचार

ओमिक्रोन भेरियन्टदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — झण्डै ४० देशमा देखा परिसकेको ओमिक्रोन भेरियन्टदेखि नआत्तिन विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था गत वर्ष भन्दा अवस्था फरक रहेको भन्दै नआत्तिन र सतर्क रहनुपर्ने बताइन् ।

अझै पनि धेरै संख्यामा उत्परिवर्तित भएको याे भेरियन्ट संक्रामक छ वा छैन भन्ने स्पष्ट भइ सकेकाे छैन ।

रोयटर्स नेक्स्ट कन्फरेन्समा बोल्दै डा. स्वामीनाथनले यो भेरियन्ट अत्यन्तै संक्रामक रहेको बताइन् । उनले यो भाइरसको प्रभाव विश्वभर पार्न सक्ने बताउँदै पूर्वअनुमान गर्न कठिन रहेको उल्लेख गरिन् ।

‘हामी कति चिन्तित हुनुपर्छ? हामी सतर्क र रहनुपर्छ, आत्तिनुभएन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौं, ’ उनले भनिन् ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा अहिले उपलब्ध भएको कोभिड विरुद्धका खोपहरु निकै प्रभावकारी रहेको र सबैतिर व्यापक रुपमा खोप वितरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् ।

प्रकाशित : मंसिर १८, २०७८ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कंगो प्रस्थान

रासस

काठमाडौँ — संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कंगोमा तैनाथ हुन २८औं डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ भवानीदल गण २७औं डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औं डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले ६ दशकदेखि संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कोभिड–१९ संक्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×