प्रहरी बढुवामा तक्माको अंक कटौती- समाचार - कान्तिपुर समाचार

प्रहरी बढुवामा तक्माको अंक कटौती

२० हजार प्रहरीलाई बढुवाको अवसर, अवकाशअघि डीएसपीको स्वतः बढुवा
मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ ।

यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलन थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक वर्ष विभूषण पाउने गरेका थिए । संगठनको नीति र सिफारिसविपरीत कर्मचारीले विभूषण पाउन फौजको ‘चेन अफ कमान्ड’ लाई समेत चुनौती दिन थालेको र यसबाट बढुवाका ज्येष्ठ सदस्यलाई समेत मर्का परेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले बढुवा मूल्यांकनमा विभूषणबापत पाउने नम्बर कटौतीको प्रस्ताव गरेको थियो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभूषणबाट पाउने नम्बर कटौती गर्दै त्यो अंक वरीयताक्रममा अगाडि रहेका ज्येष्ठ सदस्यलाई थपिने व्यवस्था गरेको हो ।

सरकारले हरेक वर्ष संविधान दिवसमा प्रहरीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभूषण घोषणा गरी वैशाख १ गते प्रदान गर्ने गरेको छ । एक पटक पाएको विभूषणअन्तर्गत एक पटकको बढुवाका लागि २ नम्बर जोडिन्छ । वरीयताक्रममा अगाडि रहेका प्रहरी कर्मचारीले बढुवा हुँदा ज्येष्ठ सदस्यबापत अधिकतम २० नम्बर पाउने प्रावधान छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले प्रहरी नियमावलीको नवौं संशोधनमार्फत बढुवाका क्रममा विभूषणबापत उम्मेदवारले पाउने २ नम्बर कटौती गरेर बढुवाका दाबेदार ज्येष्ठ सदस्यलाई थपिने प्रावधान समेटिएको बताए । ‘विभूषणको अंक कटौतीले संगठनबाट सिफारिस भएर गएको बाहेक गलत परिपाटीबाट विभूषण पाउने प्रवृत्ति अन्त्य गर्न र फौजमा चेन अफ कमान्ड कायम गरिराख्न मद्दत पुग्छ,’ उनले भने ।

प्रहरी नियमावली २०७१ को नवौं संशोधनमार्फत मन्त्रिपरिषद् बैठकले प्रहरीमा ७ पद थप गरेको छ । प्रहरी कार्यालय सहयोगीका ४ र जवानदेखि नायव निरीक्षकसम्म ३ वटा थप पद सिर्जना गरिएका हुन् । प्रहरी सेवा प्रवेश गरेका कार्यालय सहयोगी जुन पदमा प्रवेश गरेका हुन्, त्यही पदबाट अवकाशमा जानुपर्ने प्रावधान रहेकामा संशोधित नियमले वरीयताअनुसार श्रेणी विभाजन गरी प्रथमदेखि पञ्चमसम्म हुने व्यवस्था गरेको छ ।

अब कार्यालय सहयोगीमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारी अनिवार्य अवकाशसम्ममा निजामती सेवाको ‘सुब्बा’ तहसम्म बढुवा हुन सक्नेछन् । यसैगरी सिपाहीदेखि नायब निरीक्षकसम्म चारवटा पद मात्रै भएकामा सहायक हवलदार, वरिष्ठ हवलदार र वरिष्ठ सईका दर्ज्यानी चिह्नसहित तीनवटा पद थप गरिएका छन् । अहिले सईको दर्ज्यानीमा २ वटा तारा रहेकामा अव तीनवटा तारा हुने छन् । यस्तै हवलदारको दर्ज्यानीमा ‘एल’ आकारका तीन वटा संकेत रहेकामा अब वरिष्ठ हवलदारमा अहिलेको संकेतमा एउटा ठाडो धर्को थपिनेछ भने सहायक हवलदारको दर्ज्यानीमा एल आकारका दुईवटा धर्का रहने छन् ।

नयाँ दर्जा सिर्जनाले सरकारलाई आर्थिक दायित्व थपिदिएको छ । तर, प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले माथिल्लो तहमा पद खाली नहुँदा एउटै दर्जामा लामो समयसम्म बस्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘कार्यालय सहयोगीदेखि नायव निरीक्षकसम्म ५ वटा पद रहेकामा संशोधत नियमावलीमा थप ७ वटा नयाँ पद सिर्जना गरिएका हुन्,’ उनले भने, ‘यसबाहेक सिपाही र हवलदारको बीचमा सहायक हवलदार, हवलदार र सहायक निरीक्षक (असई) को बीचमा वरिष्ठ हवलदार, सई र निरीक्षक (इन्स्पेक्टर)का बीचमा वरिष्ठ सई हुनेछन् ।’ नयाँ पद सिर्जनापछि बढुवामा कुनै असर नपर्ने र माथिल्लो तहमा पद खाली हुँदा वरीयताक्रममा अघि रहेकाले स्वतः रिक्त पदमा बढुवाको अवसर पाउने उनले बताए । ‘माथिल्लो पदमा दरबन्दी रिक्त हुनेबित्तिकै आन्तरिक (कार्यरत) बाट ४० प्रतिशत बढुवा हुन्छ, यसले कसैलाई पनि असर पुग्दैन, बरु एउटै तहमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने ।

२० हजार प्रहरीलाई बढुवाको अवसर

नियमावली संशोधन भएसँगै थप गरिएका विभिन्न पदमा करिब २० हजार जनाको बढुवा गर्न बाटो खुलेको छ । गृह मन्त्रालयका अनुसार संशोधित नियमावलीमा कार्यरत जवानमध्ये ३३ प्रतिशतसम्मलाई सहायक हवलदारमा बढुवा गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै हवलदारबाट वरिष्ठ हवलदारमा २५ प्रतिशत र प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकबाट ३३ प्रतिशत बढुवा गर्न सकिने व्यवस्था ल्याइएको छ ।

नयाँ व्यवस्थाअनुसार बढुवाका लागि आन्तरिक तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार प्रहरीमा कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म कार्यरत संख्या करिब ७० हजार छ । त्यसमध्ये जवानमा ४६ हजार २ सय १९ र हवलदारमा १४ हजार छन् । जवान ३३ प्रतिशत बढुवा हुँदा १५ हजार ४ सय ६ जनाले सहायक हवल्दारमा अवसर पाउनेछन् । २५ प्रतिशत हवलदार वरिष्ठ हवलदारमा बढुवा भए ३ हजार ७ सय ४७ जना र ३३ प्रतिशत सई वरिष्ठ सईमा बढुवा भए १ हजार ७४ जनाले अवसर पाउनेछन् ।

अवकाशअघि डीएसपीको स्वतः बढुवा

प्रहरी नियमावली संशोधन गर्दै सरकारले अनिवार्य अवकाशमा जाने अवस्था आए प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मलाई एक महिना अगावै स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । यसअघि एउटै पदमा १२ वर्षसम्म बसेर अनिवार्य अवकाशमा जाने स्थिति रहे डीएसपी तहसम्मका कर्मचारीलाई एक तह मानार्थ बढुवा दिने व्यवस्था थियो । त्यसमा संशोधन गर्दै सरकारले अब एउटै पदमा ८ वर्ष काम गरेर अनिवार्य अवकाशमा जानुपर्ने स्थिति आए एक महिना अगावै एक तह माथिको बढुवा दिइने व्यवस्था गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीले १६ वर्ष सेवा गरेपछि पेन्सन पाउने व्यवस्था गर्न राखेको प्रस्ताव भने गृह मन्त्रालयबाट रोकिएको छ । अर्थ मन्त्रालयले आर्थिक दायित्व बढ्ने भन्दै २० वर्ष अवधि पूरा गरेपछि मात्रै पेन्सन पाक्ने प्रावधानलाई नै निरन्तरता दिएको हो । २०६० अघि भने जवान र हवलदारले १६ वर्ष, असई र सईले १८ वर्ष तथा प्रहरी निरीक्षक र त्यस माथिका कर्मचारीले २० वर्ष सेवा पूरा गरे पेन्सन पाउने प्रावधान थियो । तर, २०६० सालमा प्रहरी नियमावली संशोधन गर्दै त्यसपछि सेवा प्रवेश गरेका सबै दर्जाका कर्मचारीले २० वर्ष अवधि पूरा गरे मात्रै पेन्सनमा जाने प्रावधान ल्याइएको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘बुस्टर डोज’ कहिले ?

अहिलेसम्म आइसकेको र चैत मध्यसम्म आइपुग्ने गरी ६ करोड २८ लाख डोज खोप लक्षित जनलाई दुवै चरण मात्र होइन, बुस्टर लगाउन पनि पर्याप्त
विज्ञ भन्छन्– ‘पहिलो र दोस्रो डोज तीव्र बनाउँदै बुस्टर डोज सुरू नगरे भण्डारणको समस्या र ओमिक्रोनजस्ता नयाँ भाइरसको जोखिम’
अतुल मिश्र

काठमाडौँ — एकातिर कोरोना भाइरसको नयाँ रूप ओमिक्रोनले ढोका ढकढक्याउन थालेको छ, अर्कोतिर नेपालमा मौज्दात र आउने खोप भण्डार गर्ने पूर्वाधारको कमी छ । पहिलो वा दोस्रो चरणको खोप अभियानसमेत तीव्र बनाउन नसकेको सरकारले ‘बुस्टर’ डोजको कुनै कार्यक्रम बनाएको छैन । जबकि तीन चरणका खोप लगाउन सकिने गरी खोपको व्यवस्था भएको सरकारी अधिकारीहरूको भनाइ छ । 

हालसम्म मुलुकमा २ करोड ७१ लाख ६८ हजार मात्रा खोप भित्रिएको छ । शुक्रबारसम्म १ करोड ८८ लाख ६२ हजार खोप उपयोग भएको छ । यसरी ८३ लाख ६ हजार खोप विभिन्न भण्डारणमा छ । त्यस्तै अहिलेदेखि आगामी चैत मध्यसम्म क्रमशः आउने गरी थप तीन करोड ५६ लाख खोप सुनिश्चित भएको छ ।

‘अब पाइपलाइनमा रहेअनुसार सन् २०२२ को पहिलो तीन महिनामा ३ करोड ५६ लाख ९१ हजार खोप आउनेछ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन् । यसरी मन्त्रालयको तथ्यांकअनुसार पनि अहिले मौज्दात रहेको र आउने गरी वैशाखभित्र नेपालसँग चार करोड ३९ लाख मात्रा खोप हुनेछ ।

पछिल्लो एक साताको हिसाब गर्दा देशभर औसत एक लाख ४८ हजार डोज खोप खपत भइरहेको छ । यो हिसाबले नेपालसँग उपलब्ध हुने खोप खपत हुन ९ महिना लाग्नेछ । अहिलेकै गतिमा खोप लगाउँदा चैत मध्यसम्म आइपुग्ने खोप उपयोग गर्न नेपाललाई भदौसम्म लाग्नेछ । त्यसमाथि ओमिक्रोनजस्ता ‘भेरिएन्ट’ को लहर त्योभन्दा अघि नै आइसक्ने जोखिम छ । कोभिडविरुद्धको खोप अभियान सुरु भएको ९ महिना भइसकेको छ । तर विज्ञहरूका अनुसार दोस्रो खोप लगाएको ६ महिना कटेका व्यक्तिहरूमा खोपको प्रभाव देखिएको छैन । त्यसैले महामारीबाट नागरिकलाई सुरक्षित गर्न ‘बुस्टर डोज’ अनिवार्य भएको छ । पहिलो वा दोस्रो खोप लगाउन बाँकी सबैलाई खोप लगाएर पनि ‘बुस्टर डोज’ लगाउने मात्र नेपालसँग पर्याप्त हुने अधिकारीहरूको भनाइ छ ।

‘अहिले मुलुकमा खोप लगाउने जनसंख्या दुई करोड पनि छैन,’ सरकारको नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुर भन्छन्, ‘अहिलेसम्म खोप नपाएकाहरूलाई मात्र होइन, बुस्टर डोज लगाउनसमेत खोप पुग्छ, किनकि पर्याप्त खोप पाइपलाइनमा छ । अहिलेसम्म आएको २ करोड ७१ लाख ६८ हजार र अब चार महिनाभित्र आइपुग्ने ३ करोड ५६ लाख ९१ हजार गरी नेपाल सरकारले कुल ६ करोड २८ लाख ५९ हजार डोज खोप सुनिश्चित गरेको छ, नेपालमा १२ वर्षमाथिको जनसंख्या दुई करोड ३२ लाख हो, त्यसैले सबैलाई तीन/तीन डोज खोप लगाउन सकिने विज्ञहरूको भनाइ छ ।

दुई करोड ३२ लाखलक्षित जनसंख्यालाई दुई डोज लगाउन साढे चार करोड खोप सुनिश्चित भएकाले ‘बुस्टर डोज’ लगाउन पनि पर्याप्त हुने भएको छ । तर सरकारले भने ‘बुस्टर डोज’ को योजना बनाएर खोप आयात नीति बनाएको होइन । ‘पाइपलाइनमा रहेको खोप आपूर्तिमा समस्या पर्न सक्छ भनेर जोखिम कम गर्न ६ करोडभन्दा बढी मात्रा खोप मगाइएको हो,’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘भारतीय कम्पनी सिरम इन्स्टिच्युटसँग सम्झौता भएको खोपसमेत नपाउँदा गत वर्ष समस्या भयो, त्यही अवस्था नदोहरियोस् भनेर बढी मात्रामा खोप ल्याउन सम्झौता भएको हो ।’

तर, पहिलो डोज र दोस्रो डोज लगाउने कार्यक्रम चलिरहेकाले ‘बुस्टर डोज’ का विषयमा कुनै योजना नबनेको सरकारको भनाइ छ । ‘जनताले पहिलो डोजको खोप नै पाएका छैनन् । तर, यस्तोमा बुस्टर खोपबारे विज्ञहरूले सुझाव दिन्छन् भने स्वास्थ्य मन्त्रालयले अवश्य विचार गर्नेछ ।’ तर खोपको कमीले होइन, सरकारको कमजोर व्यवस्थापनले पहिलो वा दोस्रो डोजको खोप लगाउन ढिलाइ भइरहेको गुनासो छ । त्यसो त ठूलो मात्रामा खोप राख्न नेपालमा भण्डारणको समेत अभाव छ । गत महिना चीनबाट आएको भेरोसेल राख्ने ठाउँ नभएर स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमा जेनेरेटर जोडेर राख्नुपरेको थियो । त्यसैले खोप छिटो खपत गर्ने कार्यक्रम ल्याउन पनि सरकारमाथि दबाब छ ।

उता, विश्वभर तीव्र गतिमा प्रसार भइरहेको ओमिक्रोन वा भविष्यमा आउन सक्ने कुनै पनि भेरिएन्टको लहरलाई सामना गर्न पनि खोप अभियानलाई गतिमान बनाउनुपर्ने आवश्यकता विज्ञहरूले देखेका छन् । उनीहरूले सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य निगरानीसँगै अल्फा, डेल्टा भेरिएन्ट फैलिएको समयमा जस्तो ‘कन्ट्याक्ट ट्रेसिङ’ फेरि सुरु गर्न पनि भनेका छन् ।

कोभिडविरुद्ध खोप पूर्ण मात्रामा लगाएको ६ महिना पुगिसकेकाहरूलाई सुरक्षित गर्न ‘बुस्टर डोज’ अनिवार्य भएको बताउँछन् इपिडिमियोलजी तथा रोग नियन्त्रण विभागका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे । हाल जापानको नागासाकी विश्वविद्यालय, इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन, मोलिकुलर इपिडिमियोलोजी विभागका प्राध्यापक पाण्डेले आफैंले नेपालमा ६ महिनाअघि कोभिसिल्डको दोस्रो खोप लगाएको र हाल जापानमा एन्टिबडी परीक्षण गर्दा शून्य देखिएको बताए । ‘मैले आफैंलाई परीक्षण गर्दा कोभिडविरुद्घ एन्टिबडी पटक्कै देखिएन, त्यसैले नेपालमा नयाँ व्यक्तिलाई खोप दिनुका साथै पूर्ण मात्रा खोप लगाएर ६ महिना नाघेकालाई तुरुन्त बुस्टर डोज लगाउन अनिवार्य छ, यसो गरेमात्र ओमिक्रोनलगायत भविष्यमा देखिने नयाँ भेरिएन्टप्रति केही न केही सुरक्षा दिन सक्छ,’ उनले कान्तिपुरसँग भने । इडियन सार्स कोभिड–२ जेनेटिक कन्सोर्टियमका वैज्ञानिकहरूले पनि ओमिक्रोनको जोखिम दृष्टिगत गर्दै ४० वर्षभन्दा माथिकाहरूको लागि बुस्टर डोजको सिफारिस गरेको छ । यो संस्था कोरोना भाइरसको ‘जिनोम भेरिएसन’ निगरानी गर्न भारत सरकारद्वारा बनाइएको माथिल्लो प्रयोगशाला हो । संस्थाको बुलेटिनमा ४० वर्ष माथिकाहरूलाई ‘बुस्टर डोज’ लगाउन भनिएको छ ।

डा. पाण्डे नेपालमा पनि पर्याप्त तयारीसहित ‘कन्ट्याक्ट ट्रेसिङ’ मा कडाइ गर्दै ‘जिन सिक्वेन्सिङ’ गरेर भाइरसको रूप पहिचान गर्न निरन्तर काम गर्नुपर्ने बताउँछन् । ‘कन्ट्याक्ट ट्रेसिङ अनिवार्य छ, क्वारेन्टाइनमा ७ दिन हैन १० दिन राख्ने व्यवस्था हुनुपर्छ, शंकास्पद सबैको जिन सिक्वेन्सिङ गर्नुपर्छ,’ उनी भन्छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विगत दुई महिनादेखि निरन्तर जिन सिक्वेन्सिङ भइरहेको छ । ‘यसको माध्यमले ओमिक्रोन वा कुनै पनि नयाँ पुराना भेरिएन्ट पत्ता लाग्छ । हालसम्म त्यस्तो भेटिएको छैन,’ उनी भन्छन् ।

पछिल्लो १० दिनमा ओमिक्रोन ३३ मुलुकमा फैलिएको पुष्टि भएको छ । बिहीबार मात्र भारत र ग्रिसमा देखिएको यो भेरिएन्ट शुक्रबार अमेरिका, सिंगापुर, मलेसिया र फ्रान्समा समेत देखिएको छ । त्यसैले पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाइनलाई नियमित गर्नेमा कुनै कमजोरी नगर्न चेतावनी दिन्छन् भाइरोलोजिस्ट एवं प्रदेश–२ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्र । उनी भन्छन्, ‘यसअघिको गल्ती नदोहोर्‍याऊँ, अल्फा, डेल्टा भेरिएन्ट फैलिएताका जस्तो कन्ट्याक्ट ट्रेसिङमा हेलचेक््रयाइँ गर्दा हामीले भारी मूल्य चुकाउनुपर्ला,’ उनी भन्छन् ।

हालसम्म ओमिक्रोन संक्रमण मधुरो

ओमिक्रोनविरुद्ध विश्वमा सतर्कता बढेको छ । यसको प्रसार तीव्र भए पनि लक्षण भने मधुरो देखिएको औंल्याउँदै डा. पाण्डे यसबारे किटानसाथ भन्न अझ केही समय लाग्ने बताउँछन् । उनका अनुसार खोप लगाएकाहरूमा यो भेरिएन्टले गर्दा गम्भीर लक्षण देखिएको छैन ।

‘यो भेरिएन्टमा करिब ५० प्रकारको म्युटेसन छ, जसमध्ये करिब ३० म्युटेसन यसको स्पाइक प्रोटिनमा देखिएकाले यसले भविष्यमा कुन रूप लिन्छ अहिले भन्न मुस्किल छ,’ डा. पाण्डे भन्छन् । ‘स्पाइक प्रोटिन’ त्यो खण्ड हो, जहाँ खोपले असर गर्छ ।

साउथ अफ्रिकी मेडिकल एसोसिएसनका अध्यक्ष डा. एन्जेलिक कोएटजीले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा बताएअनुसार ओमिक्रोनबाट संक्रमितको लक्षण डेल्टा भेरिएन्टभन्दा फरक र हल्का छ । यो भेरिएन्टका बिरामीमा थकाइ र टाउको दुखाइको समस्या बढी पाइएको छ । डा. कोएटजीले नै अफ्रिकी सरकारलाई ओमिक्रोन भेरिएन्टका बारेमा सतर्क गराएकी थिइन् ।

हालसम्म ओमिक्रोन संक्रमितहरूमा जीउ दुख्नु, तीव्र टाउको दुखाइ र थकाइ देखिएको छ । यस्तै यसअघिका भेरिएन्टहरूमा देखिएको लक्षण गन्ध स्वाद हराउने, नाक बन्द हुने, ज्वरोको समस्या अझसम्म देखिएको छैन ।

८ महिनापछि मृत्यु शून्य

नेपालमा करिब ८ महिनापछि कोरोना संक्रमितको मृत्यु शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र संक्रमणबाट कसैको पनि मृत्यु नभएको शुक्रबार जनाएको हो । यसअघि चैत २७ मा संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताए ।

गत जेठ ५ मा सबैभन्दा बढी २ सय ४६ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हालसम्म ११ हजार ५ सय ३५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा १० लाख जनसंख्यामा औसत मृत्यु ३ सय ८० जना रहेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गरिएकामा २ सय ४६ जनामा संक्रमण देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०६:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×