कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

राप्रपाको पनि समर्थन

मंसिर १५, २०७८

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । गठबन्धन र राप्रपासहित चार दलको तर्फबाट मुख्यमन्त्री शाहीले २२ मत पाए । 

नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ३,  कांग्रेसका ६ र राप्रपाका १ जनाले उनलाई विश्वासको मत दिएको संसद सचिवालयले जनाएको छ । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन नगरेको राप्रपाले कांग्रेस नेतृत्वको सरकारलाई भने समर्थन गरेको छ । 

कर्णाली प्रदेशसभामा रहेकी राप्रपाकी एकमात्र सांसद सोशिला शाहीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएकी हुन् । मत दिनुअघि विशेष समयमा बोल्दै सांसद शाहीले मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई आफ्नो दलको पनि समर्थन रहेको भन्दै परिणाममुखी काम गर्न आग्रह गरेकी थिइन् । हाल ३५ सदस्यीय प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का १३ सांसद छन् ।

बैठकमा  प्रमुख प्रतिपक्ष एमाले अनुपस्थित रह्यो । 

चाँदनी

Link copied successfully