डडेलधुरा कांग्रेसको अनशन स्थगित

मंसिर १४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस डडेलधुराका सभापति कर्ण मल्लसहितका नेताहरुले अनशन स्थगित गरेका छन् । एकलौटी ढंगबाट क्रियाशील सदस्यता वितरण गरी गराइएको जिल्ला अधिवेशन बदरको माग गर्दै पा‍र्टी कार्यालय सानेपामा बसेको अनशन १४ औं दिनमा उपसभापति विमलेन्द्र निधिको आग्रहपछि उनीहरुले स्थगित गरेका हुन् ।निधिले डडेलधुरा कांग्रेसको मागप्रति ऐक्यबद्धता जनाए ।

डडेलधुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस विषयमा सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रुपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराए । 

जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधै नाम थपेको भन्दै विवाद उत्पन्न भएको थियो । नेता निधिले सदस्यता छानबिन नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु बिडम्बनापूर्ण भएको बताए ।

निर्वाचन समितिका सदस्यहरुबीच सहमतिका आधारमा निर्णय गर्नुपर्नेमा अल्पमत र बहुमतका आधारमा निर्णय हुनु दुःखद् भएको निधिको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully