अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोजेको गाडी दुर्घटनामा परेका ६ नेपाली डिस्चार्ज- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोजेको गाडी दुर्घटनामा परेका ६ नेपाली डिस्चार्ज

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको सवारी दुर्घटनामा परेका सबै ६ नेपाली जोखिममुक्त रहेका छन् । दुर्घटनाग्रस्त गाडीमा सवार १५ मध्ये ६ नेपाली घाईते भएपनि सबैजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको खबर बेलायती संचारमाध्यम डेली मेलले समाचार प्रकाशित गरेको थियो ।

एनआरएनका टर्कीका अध्यक्ष उज्जवल कुमार घिसिङले दुर्घटनामा ६ नेपाली घाइते भएकोमा बिहीबार चारजना र दुर्घटनालगत्तै दुईजना अस्पतालबाट डिस्चार्ज भएको बताए । कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, ‘घाइतेसँग सर्म्पकमा रहेका व्यक्तिसँग कुराकानी गर्दा उनीहरु सामान्य घाइते मात्रै भएको बुझियो ।’ उनका अनुसार टर्कीबाट अवैध रुपमा ग्रिस छिर्ने खोजेका उनीहरु कसरी त्यहाँसम्म आईपुगे भन्नेबारे आफूहरुले विस्तृतमा बुझिनसकेको बताए ।

डेली मेलले तिव्र गतीमा गुडिरहेको बेला सन्तुलन गुमाएर गाडी दुर्घटना भएको र त्यसमा चार पाकिस्तानी पनि रहेको उल्लेख गरेको थियो । ग्रिस प्रहरीलाई उद्धत गर्दै डेली मेललाई उनीहरु सबैलाई संगठित मानव तस्करले अवैध रुपमा टर्कीबाट ग्रिस छिराउन खोजेको उल्लेख गरेको छ । तिव्र गतिमा हाँकिएको सवारीले नियन्त्रण गुमाएर दुर्घटना भएको पनि समाचारमा उल्लेख छ ।

अवैध रुपमा नेपालीहरु टर्कीबाट ग्रिस छिर्ने घटना विगतका दिनमा पनि सार्वजनिक भएका थिए । अवैध रुपमा ग्रिस छिरेका नेपालीहरुका अनुसार उनीहरुले मानव तस्करलाई ११ देखि १५ लाख रुपैयाँ बुझाएर टर्कीबाट ग्रिस छिर्ने गर्छन् ।

२०७५ साउनमा अवैध रुपमा टर्कीबाट ग्रिस छिर्न खोजेका एक नेपालीको समुहमा रहेका नवलपरासी कावासोतीमा नविन तिवारी बिच बाटोबाटै हराएको र सात महिनादेखि परिवारको सर्म्पकमा नरहेको खबर सार्वजनिक भएको थियो ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरो स्थापना हुनु अघि महानगरिय प्रहरी अपराध महाशाखामा आर्थिक वर्ष २०७४/७५ मा मात्रै १४ जनाले टर्की जाने भन्दै ठगिएको उजुरी दिएका थिए । ति मध्ये ५ जना टर्की पुगेर भनेजस्तो काम नपाएर बिचल्लीमा परेपछि आफ्नै खर्चमा स्वदेश फर्केका थिए भने दुईजना ग्रिसमा अलपत्र परेका र चारजना टर्कीमा अलपत्र अवस्थामा रहेका थिए । सोही समयमा ३७ जनाले टर्की जाने आश्वासनको पछि लाग्दा आफू ठगिएको भन्दै २ करोड ५० लाख बिगो दाबी गर्दै प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दर्ता गराएका थिए ।

यो संख्याले अवैध रुपमा टर्की पुग्ने र त्यहाँबाट अवैध रुपमै ग्रिस छिर्ने काममा कति नेपाली फसिरहेका छन् भन्ने बुझाउँछ ।


प्रकाशित : मंसिर ९, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

सभापतिका लागि निधिको घोषणा–पत्र सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले आसन्न महाधिवेशनमा सभापतिमा आफूले दिने उम्मेदवारीका कारणहरू खुलाउँदै घोषणा पत्र सार्वजनिक गरेका छन् । निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरेका छन् ।

कांग्रेसको महाधिवेशनमा मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । निधिले बिहीबार बानेश्वरस्थित सचिवालयमा एक कार्यक्रम मार्फत सभापति पदको उम्मेदवारीका लागि आफ्ना एजेण्डासहितको प्रतिबद्धता र योजनासहितको घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

निधिले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह गरेका छन् ।

उनले अहिले कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्ने नेतृत्व चाहिएको भन्दै त्यसकालागि आफू तयार रहेको बताएका छन् ।

‘नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराइ नेतृत्व विकास गर्न, राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न,’ निधिले आफ्नो उम्मेदवारी किन भन्दै सार्वजनिक गरेको घोषणा पत्रमा लेखिएको छ, ‘जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन, जातीय, साँस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपांगता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिंगी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न ।’

निधिले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराइ वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन आफूलाई सभापतिको उम्मेदवारका रुपमा उभ्याएको दाबी गरेका छन् ।

विस्तृतमा पढ्नुहोस् :

प्रकाशित : मंसिर ९, २०७८ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×