कतारको रोजगारी : पोस्टमार्टम न क्षतिपूर्ति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारको रोजगारी : पोस्टमार्टम न क्षतिपूर्ति

असामयिक तवरले ज्यान गुमाएका नेपाली श्रमिकका शवको पोस्टमार्टम नहुँदा अस्पतालहरु ‘मृत्यु कारण खुलेको छैन’ भन्ने रिपोर्ट दिन्छन्, जसका कारण ती श्रमिकका परिवार क्षतिपूर्तिबाट वञ्चित छन् 
होम कार्की

काठमाडौँ — प्राकृतिक र हृदयाघात (सुतेको सुत्यै) कारण मृत्यु भएका नेपाली श्रमिकको पोस्टमार्टमका लागि परिवारबाट सहमति चाहिने भए पनि त्यो लिन कठिन भएको कतार सरकारले जनाएको छ । कतार सरकारको समन्वयमा त्यहाँस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) द्वारा गत शुक्रबार सार्वजनिक ‘तापको दबाब र व्यवसायजन्य घाइते’ को विवरण र विश्लेषणसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनले मृतक श्रमिकको पोस्टमार्टमका लागि परिवारको सहमति लिनुपर्ने भए पनि लिन कठिन भएको उल्लेख छ ।

त्यस्तै पोस्टमार्टम नहुँदा श्रमिकको मृत्युको कारण नखुलेको र त्यसबाट परिवारजनले पाउने क्षतिपूर्ति सुनिश्चित हुन नसकेको समेत प्रतिवेदनले उजागर गरेको छ ।

प्रतिवेदनले त्यस्तो भने पनि मृतक नेपाली कामदारका परिवारले भने पोस्टमार्टमका लागि कतार सरकार न रोजगारदाता कम्पनी कसैले पनि सहमतिका लागि सम्पर्क नगरेको दाबी गरेका छन् । मृत्यु भएका नेपाली श्रमिकको पोस्टमार्टम नहुँदा उनीहरूको मृत्यु कारण खुलेको छैन भने ती श्रमिकका परिवार क्षतिपूर्तिबाट समेत वञ्चित छन् । प्रतिवेदनमा पोस्टमार्टमका लागि नेपाली श्रमिकका परिवारको अनुमति आवश्यक भएको औंल्याइए पनि कतारी निकाय वा रोजगारदाता कम्पनीले माग्ने गरेको देखिँदैन । यस सम्बन्धमा नेपाली दूतावासलाई समेत कुनै औपचारिक जानकारी छैन । ‘प्राकृतिक वा हृदयाघात भई मृत्यु भएका श्रमिकको आफन्तको अनुमति माग्ने गरेको छैन । सायद यो सम्भव नभएर पनि होला,’ कतारका लागि नेपाली एक पूर्वराजदूतले भने, ‘हामीले यसबारे भने धेरैपटक अनुरोध गरेका छौं ।’

मृतकका परिवार त आफूहरूले पोस्टमार्टम गर्न चाहे पनि सहयोग नपाएको गुनासो गर्छन् । रोल्पाको लुंग्री गाउँपालिका–७ का ३३ वर्षीय तुलबहादुर घर्तीको हृदयाघातबाट मृत्यु भएको थियो । उनकी पत्नी विपना घर्तीले श्रीमान्को शव पोस्टमार्टमका लागि कसैले नसोधेको बताइन् । ‘कतारमा गाउँका मान्छे थियो । पोस्टमार्टम गर्न उसलाई सम्पर्क गरेर सोधेको थिएँ, हुँदैन भन्यो । यसको पछाडि नलाग भनेर सबैले मलाई सम्झाउन लागे,’ उनले कान्तिपुरसँग भनिन्, ‘खोजतलास गर्ने मेरो चाहना थियो । अरूले आफ्नो नेपालमा त केही गर्न सकिँदैन, विदेशमा त झन् के गर्न सकिन्छ भनेर उल्टो मलाई गाली गरे । पोस्टमार्टमका लागि कसैले ध्यान नै दिएनन् ।’

१५ जेठ २०७७ को राति सुतेको बेला तुलबहादुरको मृत्यु भएको थियो । शवसँगै आएको मेडिकल रिपोर्टमा मृत्युको कारण ‘प्राकृतिक कारणले मुटु र फोक्सोले काम नगरेको’ भनेर उल्लेख गरिएको छ । त्यतिबेला उनी ३९ डिग्री सेल्सियससम्मको तापक्रममा तार काट्ने काम गर्थे । ‘एकपटक पनि उहाँ बिरामी पर्नुभएको कहिल्यै सुनेको थिइनँ । एक्कासि मृत्यु भएको खबर सुन्दा कसरी विश्वास गर्नु ?,’ विपनाले भनिन्, ‘कम्पनीको मान्छेले हृदयाघात भई मरेको र ड्युटीमा नभई क्याम्पमै मरेको हुनाले कम्पनीले कुनै क्षतिपूर्ति नदिने नियम रहेको सुनायो । कम्पनीले तलब र बोनसबापत ३१ सय रियाल र काजकिरिया गर्न १५ सय रियाल पठाइदियो ।’

दोहास्थित नेपाली दूतावासका अनुसार सन् २०१० यता पछिल्लो एक दशकको अवधिमा १८ सय ८४ जना नेपाली श्रमिकको मृत्यु भएको थियो । त्यसमध्ये ८ सय ९४ अर्थात् ४७.४५ प्रतिशतको मृत्युमा कारण प्राकृतिक र हृदयाघात रहेको रिपोर्टमा उल्लेख छन् । यसरी मृत्यु हुनेहरू अधिकांश क्याम्पमै सुतिरहेको अवस्थामा भेटिने गरेको छ । बितेको एक दशकमा कार्यस्थलमा मृत्यु हुने नेपालीको संख्या १ सय ८४ छ ।

कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ को एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको पत्ता लागेको उल्लेख गरेको छ । सन् २००९–२०१७ को अवधिमा भएको ५ सय ७१ नेपाली अप्रवासी श्रमिकहरूको मुटुको समस्याको कारणले भएको थियो । २ सय जना जतिलाई बचाउन सकिन्थ्यो भन्ने उक्त अध्ययनको निष्कर्ष थियो । कतारको कानुनअनुसार आपराधिक घटनामा मारिएको अवस्थामा मात्रै पोस्टमार्टम गर्न आदेश छ । मृत्युको कारण नखुलेको अवस्थामा पोस्टमार्टम गर्न मृतकका परिवारबाट स्वीकृति लिनैपर्छ ।

शवको पोस्टमार्टम नहुँदा स्थानीय अस्पतालले प्राकृतिक र हृदयाघातका कारणले मृत्यु भएको प्रमाणपत्र जारी गर्ने गरेका छन् । जसले गर्दा मृतक श्रमिकका परिवार क्षतिपूर्तिबाट वञ्चित छन् । कतारको श्रम कानुनमा प्राकृतिक कारणबाट भएको मृत्युमा क्षतिपूर्ति दिन पर्ने बाध्यकारी व्यवस्था छैन । त्यहाँको श्रम कानुनमा सडक र कार्यस्थल दुर्घटनामा मृत्यु वा घाइतेकालाई मात्र क्षतिपूर्ति दिने व्यवस्था छ । कतारमा कार्यस्थलमा ज्यान जाने श्रमिकका परिवारले कम्तीमा २ लाख रियाल (झन्डै ६४ लाख रुपैयाँ) क्षतिपूर्ति पाउँछन् ।

युवा उमेर समूहका श्रमिकहरू प्राकृतिक र हृदयाघातका कारण मृत्यु भइरहेको विवरण सार्वजनिक भएपछि कतारमाथि तापको दबाब (हिट स्ट्रेस) वा कामसँग सम्बन्धित कारणमध्ये कुन कारणले श्रमिकको मृत्यु भएको पत्ता लगाउन पोस्टमार्टम गर्न अन्तर्राष्ट्रिय दबाब छ । ‘ठूलो संख्यामा श्रमिकको मृत्यु अत्यधिक गर्मी वा कामसँग सम्बन्धित कारणले त्यो छुट्याउन निकै चुनौतीपूर्ण देखिएको छ,’ आईएलओको प्रतिवेदनमा विश्लेषण गरिएको छ, ‘जो श्रमिकको कार्डियक अरेस्ट (हृदयाघात) वा प्राकृतिक कारणबाट मृत्यु भएको छ, यसबारे पत्ता लगाउन धेरैले पोस्टमार्टम गर्न आह्वान गरिरहेका छन् ।’

त्यस्तै अत्यधिक गर्मीका कारण हुने मृत्युले निकै गम्भीर चुनौती पैदा गरेको समेत प्रतिवेदनले औंल्याएको छ । ‘प्राकृतिक कारणबाट स्वस्थ्य युवा श्रमिकको मृत्युको सर्न्दभमा भइरहेको अनुसन्धानको समीक्षा गर्न जरुरी छ । मृत्युको कारणबारे वास्तविक पहिचान गर्नुपर्छ । त्यस्तै परिवारले क्षतिपूर्ति पाउने सुनिश्चिता पनि गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पोस्टमार्टम गर्न कानुनी, सांस्कृतिक, चिकित्सक र व्यावहारिक रूपमा सम्भव छ कि छैन भनेर हेर्नुपर्छ ।’

कतारले अत्यधिक गर्मीको समयमा जोखिम घटाउन भन्दै गत मेमा कानुन ल्याएको थियो । जुन, जुलाई, अगस्ट र सेप्टेबार बिहान ११ देखि दिउँसो ३ बजेभित्र खुला क्षेत्रमा काम लगाउन पाइने छैन । नयाँ नियमअनुसार खुला क्षेत्रमा काम गर्ने श्रमिकलाई नियमित रूपमा स्वास्थ्य जाँच गर्नुपर्ने बाध्यकारी प्रावधानसमेत ल्याएको छ । यसअघि एम्नेस्टी इन्टरनेसनले पनि अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुदै पनि हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

‘कतारले पर्याप्त अनुसन्धान नै नगरी यस्ता मृत्युहरू प्राकृतिक कारण वा अस्पष्ट रूपमा परिभाषित हृदयाघातको कारणले भएको जनाउँदै नियमित रूपमा कसरी मृत्युका प्रमाणपत्रहरू जारी गरिरहेको छ,’ एम्नेस्टीले आफ्नो प्रतिवेदनमा भनेको थियो, ‘मुख्य कारण जनाउने थप व्यहोराबिना यी वाक्यांशहरूलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन । वास्तवमा भन्ने हो भने अन्तमा श्वासप्रश्वास वा मुटुको विफलताले गर्दा नै सबै जनाको मृत्यु हुन्छ र मृत्युको कारण नखुलाइएको वाक्यांशहरू अर्थहीन हुन्छन् ।’

प्रकाशित : मंसिर ७, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

विवाहको उमेर नपुग्दै सम्बन्धविच्छेद

‘सानैमा विवाह हुँदा जिम्मेवारी थेग्न नसक्नु र उमेरसँगै आउने मानसिक परिवर्तनले धैरै जोडी सम्बन्धविच्छेदसम्म पुग्छन्’
प्रताप विष्ट

काठमाडौँ — उमेरले १८ वर्षमा टेकेकी राक्सिराङ गाउँपालिका–७ की शर्मिला चेपाङका ३ छोराछोरी छन् । श्रीमान् सञ्चलाल चेपाङले दोस्रो विवाह गरेपछि छोराछोरीको लालनपालन गर्न उनलाई सकस छ । परिवारको करकापमा १३ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी उनी किशोरावस्थामै श्रीमान्‌बाट अलग भएकी छन् ।

राक्सिराङ गाउँपालिका–६ की २१ वर्षीया रमिला चेपाङले श्रीमान् आइतराम चेपाङसँगको सम्बन्ध अदालतबाट विच्छेद गरेकी छन् । श्रीमान्को दिनदिनैको कुटाइ सहन नसकेपछि सम्बन्ध तोडेको उनले बताइन् । उनको ७ वर्षअघि आइतरामसँग मागी विवाह भएको हो । ५ जना छोराछोरी छन् । तर उनको नाममा एक धुर पनि जमिन छैन । यस्तोमा छोराछोरी हुर्काउने जिम्मेवारी उनको काँधमा छ । बालविवाह, बर्सेनि सन्तान जन्माउनु तथा पोसिलो खानेकुराको अभावमा उनको आफ्नै स्वास्थ्य अवस्था पनि ठीक छैन ।

कैलाश गाउँपालिकाकी १७ वर्षीया सम्झना चेपाङको हालत पनि उस्तै छ । विवाह गर्ने कानुनी उमेर नपुग्दै श्रीमान् सुमन चेपाङसँग उनको सम्बन्धविच्छेद भइसकेको छ । विवाह गर्दा दुवैको उमेर १२ वर्ष मात्रै थियो । एउटै विद्यालयमा ३ कक्षामा पढिरहेका उनीहरूको अभिभावकले विवाह गरिदिएका हुन् । सम्झनाको साथमा अहिले २ छोरा र एक छोरी छन् । सुमन भने भार्ताकी १८ वर्षीया युवतीसँग विवाह गरी गत वैशाखदेखि चितवन बस्दै आएका छन् ।

सोही स्थानकी २१ वर्षीया सोनिका चेपाङ र २३ वर्षीय अमर चेपाङबीचको वैवाहिक सम्बन्ध गत पुस १० को अदालतको फैसलापछि विच्छेद भएको छ । सम्बन्धविच्छेदपछि सोनिकाले आफ्नो नागरिकताबाट श्रीमान्को नाम हटाउन जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । कार्यालयले निवेदनअनुसार नै अमरको नाम हटाइदिएको छ । अदालतले सम्बन्धविच्छेदको फैसला गरेपछि उमेर पुगेको होस् कि नपुगेको, प्रशासनले नागरिकताबाट श्रीमान् वा श्रीमतीको नाम हटाइदिनुपर्ने कानुनी व्यवस्था छ । तर २० वर्ष नपुगीकन बिहे गर्न नहुने कानुनी प्रावधान भए पनि त्योभन्दा कम उमेरका किशोरकिशोरीको पनि सम्बन्धविच्छेद भएको कार्यालयका एक प्रशासकीय अधिकृतले बताए ।

२० वर्ष उमेर नपुग्दै बिहे गरे विवाह दर्ता हुँदैन । विवाह दर्ता नभई सम्बन्धविच्छेद हुने कुरै भएन । तर अदालतले व्यावहारिक पक्षलाई ध्यान दिँदा उमेर नपुगी बिहे गरेका दम्पतीबीचमा पनि सम्बन्धविच्छेदको आदेश दिने गरेको बताउँछन् अधिवक्ता मदन दाहाल । ‘यो कानुनी कुराभन्दा पनि समाजमा चल्दै आएको बालविवाहको कारणले अदालतले विवाह गर्ने उमेर नपुगेका दम्पतीको पनि सम्बन्धविच्छेदको आदेश दिने गरेको हो ।’

जिल्ला अदालत मकवानपुरका एक न्यायाधीश भने पछिल्लो समय २० वर्ष उमेर नपुग्दै सम्बन्धविच्छेदका लागि अदालत आउनेको संख्या घटेको दाबी गर्छन् । ‘विगतका वर्षहरूमा सम्बन्धविच्छेद गर्न आएकामध्ये करिब २० प्रतिशतजति कम उमेरका हुन्थे, अहिले यो अनुपात घटेको छ,’ ति न्यायाधीशले भने । मकवानपुरमा गत आवमा ५ सय ३० वटा सम्वन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । त्यसमध्ये २ सय ९९ वटा फर्स्योट भएका थिए । तर विवाहको उमेर नपुग्दै सम्वन्धविच्छेद गर्न आएकाहरूको छुट्टै तथ्यांक भने नराखेको अदालतको भनाइ छ ।

यो समस्याको प्रमुख जड बालविवाह रहेको यस क्षेत्रमा कार्यरत व्यक्तिहरू बताउँछन् । त्यसमाथि चेपाङ समुदायमा बालविवाह प्रथाकै रुपमा छ । बालविवाहका कारण परिवारमा विखण्डन र छोराछोरीहरूको भविष्य अन्योलमा पर्ने गरेको माइती नेपाल मकवानपुरकी प्रमुख माया लामाले बताइन् । उनका अनुसार सानै उमेरमा आमा बन्दा स्वास्थ्यमा समस्या आई महिलाहरूको अल्पायुमै मृत्यु भएका धेरै घटना छन् । सम्वन्धविच्छेदका कारण बालबालिकाको उचित ढंगले पालनपोषण हुन सकेको छैन भने विद्यालय जाने अवसरबाट समेत उनीहरू वञ्चित भइरहेका छन् । ‘कतिपय सानै उमेरमा श्रम गर्न बाध्य छन् । सडकमा मागेर हिँड्ने र कष्टकर श्रमजीवन बिताउनेमध्ये धेरैजसो बाबुआमाको सम्बन्धविच्छेद भएका बालबालिका छन्,’ उनले भनिन्, ‘त्यसकारण चेपाङ समुदायको जीवनमा परिवर्तन ल्याउन बालविवाह रोक्नुको विकल्प छैन ।’ बालविवाहकै कारण चेपाङ समुदायमा बहुविवाहसमेत मौलाएको उनको दाबी छ ।

‘सानै उमेरमा विवाह गरिदिए बोझ कम हुन्छ भन्ने अभिभावकको बुझाइ, कमजोर आर्थिक अवस्था, संगतलगायत कारणले धेरैजसो बालबालिका विवाह गर्न बाध्य छन्,’ उनी भन्छिन्, ‘अपरिपक्व उमेरमै विवाह हुँदा त्यसपछिको जिम्मेवारी थेग्न दुवै जना सक्षम हुँदैनन् । उमेरसँगै आउने मानसिक परिवर्तनले पनि उनीहरूलाई सम्बन्धविच्छेदसम्म ल्याइपुर्‍याएको देखिन्छ ।’ यसलाई रोक्न अभिभावक, विद्यालय र सरकारी तहबाट पनि विशेष पहल हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : मंसिर ७, २०७८ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×