शुद्धीकरण अभियान संघर्षपूर्ण

मंसिर ३, २०७८

जयसिंह महरा

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बिहीबार अदालत प्रवेशमा रोक लगाउन धर्ना दिइरहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले गरेको लाठीचार्जबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत घाइते भएका छन् । गम्भीर घाइते भएका महर्जनलाई नजिकैको अन्नपूर्ण न्युरो अस्पतालमा तत्कालै लगिएको थियो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै केही सातादेखि नेपाल बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत प्रवेश गर्ने मूल गेटमा धर्ना दिँदै आएका छन् । प्रधानन्यायाधीश जबरा भने मूल गेटबाट नभई गेट नम्बर २ बाट अदालत प्रवेश गर्दै आएका थिए । कानुन व्यवसायीहरूले बिहीबार गेट नं. २ मा पनि धर्ना दिएपछि प्रहरीले बल प्रयोग गरेको हो । वकिलहरूले धर्नाका लागि तय गरिएको दुई घण्टा गेट नं. २ मा सुरक्षाकर्मीसँग घम्साघम्सीमै बिताए । कानुन व्यवसायीलाई रोक्न अदालतको सुरक्षामा एसपीको कमान्डमा रहेका प्रहरीले नपुगेर दंगा प्रहरीलाई समेत खटाइएको थियो । एसएलआर हतियार बोकेका ‘स्पेसल टास्क फोर्स’ का सुरक्षाकर्मी पनि कानुन व्यवसायीलाई रोक्न तैनाथ देखिन्थे । 

प्रहरीले आफूलाई लक्ष्य गरेर प्रहार गरेको घाइते महर्जनले बताए । अग्रमोर्चामा रहेका उनी यसअघि धर्नास्थलमा व्यवस्थापकीय काम गर्थे । ‘डीएसपी सधैंझैं आज (बिहीबार) पनि माइक खोस्न आउनुभयो । मैले यस्तो नगर्नुस्, हामी भ्रष्टको विरुद्धमा आवाज उठाइरहेका छौं भनेको थिएँ । उहाँले म हुन्जेल गर्न दिन्नँ भन्नुभयो,’ महर्जनले सुनाए, ‘भीडमा तानी घेरा हालेर लाठी र बुटले प्रहार गरियो ।’ 

प्रदर्शनमा बल प्रयोग भएकोबारे कुरा गर्न अधिवक्ता ओमप्रकाश अर्याललगायतका कानुन व्यवसायी सर्वोच्च अदालतमा खटिएका एसपी दीपक रेग्मीलाई भेट्न गएका थिए । ‘तपाईंहरूले अदालत परिसरमा फोर्स खटाउनु, हतियार प्रदर्शन गर्नु र शान्तिपूर्ण विरोधमा लाठी र बुटले प्रहार गर्नु गलत हो भन्यौं । नारा लगाउने, तपाईंहरूलाई धकेल्न अग्रभागमा हुनेलाई अर्को दिन लक्ष्य गरेर प्रहार गर्नु ठीक भएन भन्यौं,’ अर्यालले भने । 

‘लक्ष्य गरेर प्रहार गर्नु अपराध हो, आदेश दिने अपराधी हुन् र त्यसरी प्रहार गर्नेलाई कारबाही नगर्नु पनि अपराध हो भन्यौं,’ उनले भने । अर्यालका अनुसार एसपी रेग्मीले बाहिरको सुरक्षा हेर्ने जिम्मा महानगरीय प्रहरी परिसर, काठमाडौंको भएको र भित्र पनि बल प्रयोग गर्ने सुरक्षाकर्मी आफ्नो कमान्डमा नभएको बताएका थिए । 

बारले विरोध प्रदर्शनमा भएको बल प्रयोगको अनुसन्धान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनलाई आह्वान गरेको छ । बार अध्यक्ष श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानवअधिकारसम्बन्धी संघसंस्थाहरूलाई आह्वान गर्छौं । साथै अदालत परिसरबाट दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँछौं ।’

राष्ट्रिय मानवअधिकार आयोगले पनि बारको शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नगर्न भन्दै विज्ञप्ति जारी गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार अदालत परिसरमा भएको घटनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य भन्दै छानबिन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याउन भनेका छन् । बिहीबार सर्वोच्च अदालत नियमावली संशोधन गर्न बसेको न्यायाधीशहरूको पूर्ण बैठकले पनि कानुन व्यवसायीमाथि भएको धरपकडमा दुःख व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको छ । 

सर्वोच्च अदालतसँगै जोडिएको नेपाल बारको कार्यालय परिसरमा बिहीबार दिउँसो पौने १ बजेतिर चार जना प्रवेश गरेर बार र कानुन व्यवसायीविरुद्ध अपशब्द प्रयोग गर्दै चेतावनी दिएका थिए । कालो कोट लगाएका वकिल, पत्रकार र न्यून मात्रामा सेवाग्राही प्रवेश पाउने बारको गेटबाट बेरोकटोक उनीहरू छिरेका थिए । त्यति बेला बारको सभाहलमा विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गरेको र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते भएको र केन्द्रीय सदस्य प्रकाश महर्जन अस्पताल नै भर्ना हुनुपरेको घटनाका विषयमा समीक्षा बैठक भइरहेको थियो । 

उनीहरूमध्ये एकले भने, ‘ए वकिलहरू यहाँ आन्दोलन गर्ने होइन । तिमीहरूका काला कोट च्यातेर बाल्दिन्छौं । जुत्तैजुत्ताले हान्छौं । के पैसा आउँछ भन्दैमा गलत मुद्दा लिने, गलत ऊ गर्ने ? लाज लाग्दैन (अपशब्द) पैसाले कहिले पुग्छ तिमीहरूलाई ? तिमीहरूलाई यही बारमै आएर कुट्छौं ।’ त्यहाँ रहेका एक कानुन व्यवसायीले ‘तिमी को हो ?’ भनेपछि ती व्यक्तिले आफ्नो टिसर्टमा रहेको चिलको तस्बिरतिर देखाउँदै भने, ‘अमेरिकन इगल हुँ म बुझिस् !’

बारको ढोकामा कानुन व्यवसायीमाथि अपशब्द बोल्दै औँला ठड्याएर चेतावनी दिइरहेका बेला नजिकै रहेका प्रहरी भने मूकदर्शक बनेका थिए । बारमा प्रवेश गर्ने ढोकामा रहेका प्रहरीले पनि कुनै चासो देखाएनन् । वकिल, कर्मचारी र पत्रकारलाई परिचयपत्र हेरेर तथा सेवाग्राहीलाई अदालतले दिएको मुद्दा पेसी चढेको पर्चा हेरेर मात्रै प्रवेश दिने प्रहरीले उनीहरूलाई भने केही नभनी प्रवेश गर्न दिएका थिए । विवाद बढ्दै गएपछि वकिलहरूले ती चार जनालाई बाहिर लखेटेका थिए । उनीहरूमध्येका एक जनालाई कानुन व्यवसायीले तानेर नियन्त्रणमा लैजाऊभन्दा पनि प्रहरीले पक्राउ नगरी छाडिदिएको थियो ।

सर्वोच्च अदालतमा भएको बल प्रयोग र बारमा चार जनाले गरेको व्यवहारको घटनामा प्रहरी अधिकारीहरू आफू जिम्मेवार नभएको भन्दै पन्छिएका छन् । बार परिसरमा हुलहुज्जत गर्ने मानिसलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरेन । अरू बेला यस्ता घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिन्थ्यो । सर्वोच्च अदालतको सुरक्षाको नेतृत्व गरिरहेका एसपी रेग्मीले बारबाहिर तैनाथ भएका सुरक्षाकर्मी आफू मातहतका नभएको बताए । अदालतभित्रको सुरक्षा जिम्मेवारी मात्रै आफ्नो भएको र बाहिर खटिएका प्रहरी महानगरीय प्रहरी परिसरको भएको उनको भनाइ छ । महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले बारमा झगडा गर्नेहरूको खोजी भइरहेको बताए । उनले भने, ‘त्यहाँ झगडा परेर हानाहान भएको अवस्था थिएन । सामान्य डिस्कस परेको होला ठानेर छाडिदिए । भित्रको कुरामा अनभिज्ञ छु । उनीहरू त्यहाँ किन गएका रहेछन् भनेर खोजिरहेका छौं ।’ 

महानगरीय प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले त चार जनाले गरेको दुर्व्यवहारमा उल्टो कानुन व्यवसायीलाई नै घटनाका लागि जिम्मेवार ठानेका छन् । उनले बार परिसरभित्र प्रवेश गरेर नाराबाजी र हुलहुज्जत गर्ने व्यक्तिहरूलाई कानुन व्यवसायीले नै प्रवेश गराएको हुन सक्ने बताए । ‘नेपाल बारमा पुगेर नााराबाजी र हुलहुज्जत गर्ने व्यक्ति कानुन व्यवसायीकै मद्दतमा प्रवेश गरेको पाइएको छ,’ उनले भने, ‘पछि सुरक्षाकर्मीकै सक्रियतामा अप्रिय घटना हुन पाएन ।’

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully