काठमाडौँ — कांग्रेस नेता महेश आचार्यले पार्टीको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आचार्यले आसन्न १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
‘मैले पार्टीको उपसभापतिमा उम्मेदवारी दिन्छु । यही विषयमा अहिले साथीभाइहरूसँग छलफल गरिरहेको छु,’ आचार्यले इकान्तिपुरसँग भने ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाबाट प्रभावित आचार्य कांग्रेसभित्र विचार र निष्ठाको राजनीति गर्ने नेताका रुपमा प्रतिष्ठित छन् । कांग्रेसको विधानले पार्टीको उपसभापति केन्द्रीय नीति, अनुसन्धान र प्रशिक्षण विभागको प्रमुख रहने व्यवस्था गरेको छ । नेता आचार्यले पार्टीलाई वैचारिक रुपले सशक्त बनाउन त्यही विभागमा बसेर नीति, अनुसन्धान र प्रशिक्षण कार्य गर्ने उद्देश्यले उपसभापतिमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए । ‘हाम्रो पार्टीको विधानमा उपसभापतिले गर्नुपर्ने एउटा भूमिका छ । पार्टीको नीति, अनुसन्धान र प्रशिक्षणमा उपसभापति भूमिका हुन्छ । अहिले पार्टी वैचारिक हिसाबले कमजोर बन्दै गइरहेको छ । यस्तो बेलामा म पार्टीको त्यो संरचनामा बसेर पार्टीलाई वैचारिक रुपले सशक्त बनाउन चाहन्छु,’ आचार्यले इकान्तिपुरसँग भने, ‘त्यहीअनुसार साथीहरूसँग सल्लाह गरिरहेको छु ।’
पटक–पटक कांग्रेसको केन्द्रीय कार्यसमितिमा सदस्यको रुपमा काम गरिसकेका नेता आचार्य कोइराला परिवारका भान्जा हुन् । पञ्चायतविरोधी आन्दोलनदेखि नै राजनीतिमा होमिएका आचार्य बीपी र गिरिजाप्रसाद कोइरालाहरूसँगै विभिन्न आन्दोलनमा सक्रिय थिए । उनी नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको राजनीतिमा आएका हुन् ।
०४८ सालमै अर्थ राज्यमन्त्री बनेका आचार्य ०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको ९ महिने सरकारको अर्थमन्त्री थिए । मोरङबाट पटक–पटक निर्वाचित उनी बनमन्त्री समेत भए । ०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी मोरङ क्षेत्र नं. ४ बाट बाम गठबन्धनका उम्मेदवार अमनलाल मोदीसँग पराजित भएका थिए ।
