काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धनले न्यायालयमा देखिएको समस्यालाई यथाशीघ्र निकास दिन आह्वान गरेको छ । गठबन्धनसम्बद्ध दलहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधमा ध्यानाकर्षण भएको भन्दै यथाशीघ्र निकास दिनका लागि आग्रह गरेको हो ।
समितिका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वासनीयता र स्वच्छतालाई कायम राख्ने गरी निकास दिनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राज्यको महत्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता गरिमा, विश्वासनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्छ भन्ने हाम्रो धारणा छ,’ बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले भने, ‘यो समस्या समाधानका लागि सम्बन्धित सबैबाट छिटो निकास दिने दिशामा पहल हुनेछ भन्ने आशा गर्दछौँ ।’
बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धनमा जोड दिएको मन्त्री कार्कीले बताए । बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीष परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोककुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
