मध्यवर्ती बाटो खोज्‍न सरकार सक्रिय

तजबिजमा पेसी तोक्ने प्रचलनको सट्टा गोलाप्रथा लागू गर्न र अब इजलासमा नबस्न जबरा तयार भए निकासको सम्भावना

कार्तिक २८, २०७८

कुलचन्द्र न्यौपाने

काठमाडौँ — सर्वोच्च अदालतका पूर्व तथा बहालवाला न्यायाधीशहरू, नेपाल बार तथा नागरिक संस्थाहरूको आवाजबीच दबाबमा परेको सरकारले न्यायालयको गतिरोध अन्त गर्न मध्यवर्ती बाटो खोज्न थालेको छ । न्यायपालिकाको संकटमा कार्यपालिकाले पनि संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने भन्दै पार्टीभित्रै आवाज उठेपछि सरकारले भूमिका खुम्च्याएर जबरालाई पदमा राख्न सकिने सम्भावना खोजिरहेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने वा न्यायालयको नेतृत्वमा यथावत् राखेर निकास खोज्ने भन्नेमा सत्तारूढ कांग्रेसभित्र मतान्तर छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा जबरालाई हटाउन अग्रसर छैनन् । तीन सातासम्म न्यायालय अस्तव्यस्त हुँदा पनि संसद् र सरकारलाई मूकदर्शक बनाएको भन्ने आरोप लागेपछि देउवा सहमतिको प्रयासमा लागेका हुन् । जबरालाई न्यायालयको नेतृत्वमा यथावत् राखेरै निकास खोज्न सकिन्छ कि भनेर कानुनमन्त्री दिलेन्द्र बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती जुटेका छन् । 

‘बेन्च सपिङ’ गरेर भ्रष्टाचार र न्यायिक विचलन बढाएको भनेर सार्वजनिक आरोप सामना गरिरहेका प्रधानन्यायाधीश जबरालाई अंकुश लगाउन सरकारी प्रतिनिधिले प्रधानन्यायाधीश, आन्दोलनरत न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरिरहेका छन् । अटोमेसन (स्वचालित कम्प्युटर प्रणाली) बाट पेसी तोक्ने र त्यसको व्यवस्था नभएसम्म ‘गोलाप्रथा’ लागू गर्न आनाकानी गर्दै आएका जबरा अहिले त्यसका लागि तयार भइसकेका छन् । प्रधानन्यायाधीशले नै भ्रष्टाचार बढाएको भनेर अवज्ञामा उत्रिएका न्यायाधीशहरू गोलाप्रथाकै भरमा इजलासमा फर्कन भने तयार छैनन् । ‘न्यायिक विचलन देखिएको भनेर तीन सातासम्म अवज्ञा गरिएका प्रधानन्यायाधीशसँग फेरि कुन बहानामा इजलासमा सँगै बस्ने ? हामी उहाँसँगै इजलासमा बस्ने हो भने दलका नेताहरूजस्तै भागबन्डामा लागेका थियौं, न्यायालयको बृहत्तर सुधार हाम्रो अभीष्ट थिएन भन्ने अर्थ लाग्छ,’ एक न्यायाधीश भन्छन् । 

जबराले गोला नै तान्न नपाउने र उनले अब आइन्दा मुद्दा नहेर्न सहमति भएमा आफूहरू इजलासमा फर्कन सक्ने संकेत न्यायाधीशहरूले दिएका छन् । न्यायाधीशहरूबाट यति सन्देश पाएका मन्त्री बडूले त्यसका लागि प्रधानमन्त्री र प्रधानन्यायाधीशसँग छलफल गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । 

‘प्रधानमन्त्रीलाई सत्ता गठबन्धन जोगाउनुपर्ने र न्यायालयको नेतृत्वलाई पनि चिढाउन हुन्न भन्नेछ,’ कांग्रेसका एक मन्त्रीले भने, ‘महाअभियोग दर्ता गरेर पारित हुन सकेन भने प्रधानन्यायाधीश जबरा फेरि न्यायालयको नेतृत्वमा फर्कने र त्यतिबेला सत्ता गठबन्धनप्रति पूर्वाग्रही बन्न सक्ने भय छ ।’ त्यसैकारण प्रधानमन्त्री बरु प्रधानन्यायाधीशलाई अंकुश लगाएर निकास खोज्ने तर महाअभियोग दर्ता गर्ने पक्षमा नभएको उनले बताए ।

प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले संसद्को अंकगणितका कारण पनि महाअभियोग दर्ता गर्न नसकिएको आफूनिकटहरूलाई बताउने गरेका छन् । गठबन्धनसँग दुई तिहाइको संख्या नभएकाले महाअभियोग दर्ता गर्दा जोखिम हुने देउवाको धारणा छ ।

प्रतिनिधिसभाका एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने भए पनि पारित गर्न दुई तिहाइको समर्थन आवश्यक पर्छ । दुई तिहाइ समर्थनबाट प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव पारित हुन नसक्ने भएपछि जोखिम लिन नहुने मत सहयोगी दलको पनि छ । गठबन्धनले जबराविरुद्ध महाअभियोग दर्ता गरेमा प्रमुख प्रतिपक्ष एमालेले साथ नदिने प्रस्ट संकेत गरिसकेको छ । बरु, प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश दिने अन्य चार न्यायाधीशविरुद्ध समेत महाअभियोग दर्ता गराउने चेतावनी एमाले नेताहरूले दिइरहेका छन् । आसन्न महाधिवेशनको विषयमा छलफल गर्न शनिबार राखिएको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पनि देउवाले न्यायालयको विषयलाई छलफलमा ल्याउन चाहेनन् । कार्यकारीले न्यायालयमाथि हस्तक्षेप गर्न नमिल्ने तर्क गर्दै देउवाले न्यायालयको समस्या त्यहींभित्रबाट समाधान हुनुपर्ने पुरानै धारणा दोहोर्‍याएका थिए । 

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको संकट त्यहींबाट चाँडो समाधान होस् भनेर पार्टीले आग्रह गरिरहेको बताए । ‘चाँडोभन्दा चाँडो न्यायालयबाटै निष्कर्ष निस्कियोस् भन्ने धारणा नै पार्टीका सबै नेताहरूको छ,’ महतले भने । तर, पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरूले भने जबराले राजीनामा नदिँदा न्यायालयभित्रबाटै थप संकट निम्तने भन्दै महाअभियोगका लागि पनि राजनीतिक दलहरू तयार हुनुपर्ने बताउँदै आएका छन् । शनिबारको बैठकमा पनि पौडेलले न्यायालयको निकासका लागि अग्रसरता लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

पौडेल समूहको शुक्रबार बसेको बैठकले राजीनामा नदिने जबरा र राजीनामा नदिएसम्म आन्दोलन नछाड्ने बारको अडानले न्यायालयभित्र ‘मुठभेड’ को अवस्था सिर्जना भएको भन्द ै संसद्बाटै निकास खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । कांग्रेस नेता अर्जुननरसिंह केसी आइतबारको केन्द्रीय कार्यसमितिको बैठकमा पनि यस विषयमा जोडदार छलफल हुने बताउँछन् । ‘लोकतन्त्र, जनअधिकार र संविधानको संरक्षक रहेको स्वतन्त्र न्यायालय क्षतविक्षत र अन्योलग्रस्त हुँदा पनि कार्यपालिका मौन बस्नु दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिने नदिने उनको स्वेच्छाको विषय होला, तर राजीनामा नदिएर प्रक्रियामा जान्छु भनिसकेपछि सरकार र राजनीतिक दलले अब महाअभियोगका लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्छ, त्यो कार्यपालिका र व्यवस्थापिकको कर्तव्य हो ।’

न्याय क्षेत्र नै तहसनहस बन्दा पनि त्यहींभित्रबाट समाधान खोज्नुपर्छ भन्दै आएका देउवाले २०७४ वैशाखमा तत्कालीन सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गर्दा किन यस्तो हेक्का राखेनन् ? कांग्रेस नेता केसीको प्रश्न छ, ‘म त्यतिबेला वरिष्ठ मन्त्री थिएँ । मलाई समेत थाहा नदिई मेरोसमेत हस्ताक्षरमा कार्कीविरुद्ध महाअभियोग दर्ता गरिएको थियो । खासमा सभापति र मेरो दूरी बढेको पनि त्यही घटनादेखि हो ।’ त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए भने सत्ताको मुख्य साँचो देउवाको हातमा थियो । अहिले देउवा प्रधानमन्त्री र साँचो दाहालले लिएका छन् । 

अहिले गम्भीर प्रकृतिका आरोप लगाउँदै जबराबाहेकका १९ न्यायाधीशहरू इजलासमा बसेका छैनन् भने बारले दिनहुँ सर्वोच्च परिसरमा नाराबाजी गर्दै प्रधानन्यायाधीशलाई प्रवेशमा अवरोध गरिरहेको छ । न्यायालयलाई बिचौलियाको केन्द्र बनाएको, कार्यकारीसँग सौदाबाजी गरेको, न्याय खरिदबिक्री गरेर न्यायालयको प्रतिष्ठालाई ध्वस्त बनाएको आरोप जबरामाथि छ ।

अग्रसरता लिन पूर्वउपकूलपतिहरूको आग्रह

त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिले न्यायालयमा देखिएको संकट समाधान गर्न दलहरूले अग्रसरता लिनुपर्ने बताएका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाशजंग शाहले ‘बार एसोसिएसनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण’ शीर्षकमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् । ‘लामो समयदेखि सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएसनको आन्दोलन र जिम्मेवार निकायहरूले त्यसप्रति देखाएको उदासीनता देशकै लागि ठूलो दुर्भाग्यको विषय बनेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘गम्भीर कुरा के भने न्यायालयप्रति जनताको विश्वासमा स्खलन आउन नदिन पनि आन्दोलनले अविलम्ब निकास पाउन जरुरी छ ।’ 

न्यायालयले जनताको विश्वास गुमाएपछि न्याय पाउन जनता कहाँ जाने भन्ने प्रश्न राख्दै पूर्वउपकुलपतिहरूले ‘यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु अत्यन्त आश्चर्यलाग्दो भएको’ बताएका छन् ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully