१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

न्यायालयको विवाद त्यहींबाट समाधान हुनुपर्छ : कांग्रेस

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ कांग्रेसले न्यायालयमा देखिएको विवादको विषयमा तत्कालै धारणा नबनाउने भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताए ।

न्यायालयको विवाद त्यहींबाट समाधान हुनुपर्छ : कांग्रेस

महतकाअनुसार बैठकमा त्यसबारे छलफल भएको र नेताहरुले विभिन्न विचार राखेका थिए । तर, त्यसबारे कुनै निर्णय नभएको उनले बताए । उनले आइतबार बस्ने केन्द्रीय समिति बैठकमा यो विषय थप उठ्न सक्ने भए पनि अहिलेलाई कांग्रेसको यही नै प्रस्ट दृष्टिकोण भएको दाबी गरे ।

‘न्यायालयको विवादमा सबैको ध्यानाकर्षण भएकै छ । त्यसबारे अहिले हामीले बोल्ने कुरा छैन । हामीभित्र छलफल भइरहेको छ । भोलि पनि हुनसक्छ । तर अहिलेको प्रस्ट कुरा भनेको न्यायालयभित्रैबाट निकास आउनुपर्छ भन्ने नै हो,’ महतले भने ।शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरु चुप लागेर बस्नु नहुने बताएका थिए ।

पौडेल समूहको शुक्रबारै न्यायालयमा देखिएको समस्याका विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि संस्थापनइतर पक्षका १२ जना केन्द्रीय सदस्यहरुले विज्ञप्ति नै जारी गरेर न्यायालय विवादमा दलहरु चुप लागेर बस्न नहुने भनेका थिए । पौडेल समूहको भेलाको निष्कर्ष बमोजिम नै नेताहरुले शनिबारको बैठकमा न्यायालयको विवादका विषयमा प्रस्ट धारणा बनाएर निकास दिनुपर्ने प्रस्ताव गरेका थिए ।

जवाफमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवाद त्यहीं भित्रैबाट समाधान हुनुपर्ने बताएका थिए । देउवाले न्यायालयको विवादमा अहिले बोल्न नमिल्ने बताएका थिए । ‘राज्य सञ्चालनका लागि संविधानले तीन अंगहरु न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका रहने व्यवस्था गरेको छ । यी निकायको आ–आफ्नै अधिकार क्षेत्र छ । त्यो कसैले पनि मिच्न मिल्दैन,’ देउवालाई उदृत गर्दै सहमहामन्त्री महतले इकान्तिपुरसँग भने, ‘न्यायालयमा देखिएको विवादको विषयले समस्या उत्पन्न भएको छ । तर, यसमा हामीले पक्ष वा विपक्षमा लाग्ने कुरा छैन । यसको न्यायालयभित्रैबाट निकास आउनुपर्छ ।’

प्रकाशित : कार्तिक २७, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?