कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल संवत्‌मा ओलीको सन्देश- ‘समृद्धि अभियानका अवरोधकलाई परास्त गरौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सुरु गरेको राष्ट्रको समृद्धिको अभियानमा अवरोध पुर्‍याएकाले त्यसलाई परास्त गर्न आग्रह गरेका छन् । नेपाल संवत् ११४२ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै ओलीले त्यस्तो आग्रह गरेका हुन् ।

नेपाल संवत्‌मा ओलीको सन्देश- ‘समृद्धि अभियानका अवरोधकलाई परास्त गरौं’

‘पूर्ववर्ती सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराएको थियो । हामीले नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा मुलुकलाई नवनिर्माणको चरणमा प्रवेश गराएका थियौं’, अध्यक्ष ओलीको सन्देशमा छ, ‘राष्ट्रको समृद्धिको यस अभियानमा गरिएका विभिन्न खाले अवरोधलाई सचेततापूर्वक परास्त गर्दै राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकताबद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसै एकतामार्फत हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु ।’

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको उल्लेख गरेका छन् । ‘यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित छन् । एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं’, उनले भनेका छन्, ‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।’

उनले नेपाल सम्वत्‌का प्रवर्तक शंखधर साख्वा: को पनि स्मरण गरेका छन् । ‘ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरूलाई शंखधर साख्वा:ले ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीनकालदेखि नेपाल संवत्का रुपमा मनाइँदै आएको छ । नेपाल संवत् ११४२ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वा:को विशेष स्मरण गर्न चाहन्छु ।’

प्रकाशित : कार्तिक १९, २०७८ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?