जहाँ तिहार मनाउन भ्याउँदैनन्

मगर समुदायको बाहुल्यता रहेको यहाँ कामकाज सकेपछि भने झन्डै ५ दिन मंसिरे मेला लाग्छ
हरि गौतम

रुकुम पूर्व — तिहारको यमपञ्चक सुरु भइसके पनि यहाँका घरमा न सेल रोटी पाकेका छन्, न त देउसीभैलोको रमझम नै देखिन्छ । बुधबार कुकुर पूजा पनि गरिएन । यहाँ दिदीबहिनी दाजुभाइकोमा जाँदैनन्, न दाजुभाइ नै आउँछन् । पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट तिहारका बेला कामकाजमै व्यस्त छ ।

जहाँ तिहार मनाउन भ्याउँदैनन्

खासमा यहाँ तिहार मनाउने चलन नै छैन । धर्म फरक भएर वा आस्था नभएर नमनाइएको भने होइन । परम्परादेखि नै यहाँका बासिन्दा पर्व मनाइँदैन । अन्य दिनमा जस्तै तिहारमा पनि उनीहरू नियमित कामकाजमा व्यस्त रहन्छन् ।

यस क्षेत्रका सर्वसाधारणको यो समय भनेको कामकाजको हो । बाली भित्र्याउने तथा लगाउने समय हो । बारीको घाँस काट्ने, सुकाउने र सुकेपछि बाँधेर राख्ने काममा सबै व्यस्त हुन्छन् । गहुँ, जौं लगाउने तथा लेक वा जंगलतिर लगिएका बस्तुभाउ बेंसी झार्ने काममा मैकोटी जुटेका छन् । यसो नगरेपछि आफैंले दु:ख पाइने गाउँले बताउँछन् । यसैले हरेक वर्षको यस समय मैकोटीका लागि काम गर्ने विशेष समय हो । कामकाजमा व्यस्त भइने हुनाले यहाँ तिहार मान्ने चलन छैन । पहिल्यैदेखि तिहार मनाउने चलन नभएपछि मैकोटीलाई यस पर्वको रौनक पनि नभएको हो ।

‘हामीले थाहा पाउने बेलादेखि यहाँ तिहार मान्ने चलन छैन,’ स्थानीय भरत बुढा मगरले भने, ‘प्राय: तिहार यही समयमा परेको हुन्छ, हामी पनि यही बेलामा कामकाजमा व्यस्त हुन्छौं ।’ कामकाजका बेला तिहार मनाउनु हुन्न भनेर छाडिएको भन्ने सुनेको उनले बताए । हिमाली गाउँ मैकोटीलाई यतिबेला हिमपातभन्दा पहिल्यैको सबै कामकाज सक्ने चटारो हुने गर्छ । त्यसैले पनि उनीहरू यतिबेला वर्षायाममा जंगल लगिएका बस्तुभाउ घर ल्याउने, हिमपातभर बस्तुभाउलाई खुवाउने घाँस भण्डारण गर्ने र खेतीपातीको काम सक्नमा व्यस्त छन् । ‘हिमपात भएपछि केही गर्न पाइन्न, बसेरै खाने मात्र हुन्छ, त्यसैले यो बेला सबै काममा व्यस्त छौं,’ अर्की स्थानीय रामलीला पुन मगरले भनिन् । सबै एउटै किसिमको काममा जुट्नुपर्ने भएपछि फुर्सद नभएको उनको भनाइ छ । हिउँ परेपछि बस्तुभाउ र आफूलाई खानको जोहो पहिल्यै नगरे दु:ख पाइने भएकाले पनि यो समयमा काम नगरी नहुने उनले बताइन् ।

पूर्वजिल्ला विकास समितिका सदस्य लक्ष्मीप्रसाद पुन मगरले कामकाजमा व्यस्त हुने बेला तिहार मान्ने ध्याउन्नमा कोही नहुने बताए । ‘हामीले त्यही सुन्दै आएका हौं, गाउँमा ठूलो काम उठेका बेला पर्व मान्नुहुन्न भनेर तिहार मनाउन छोडिएको हो रे, हामीलाई पाका–पुरानाले यही सुनाए । हामी पनि हाम्रा पछिकालाई यही सुनाइरहेका छौं’ उनले भने ।

यहाँ मंसिरे मेला भने भव्यसँग मनाइन्छ । कामकाज सकेपछि गाउँमा झन्डै ५ दिन मंसिरे मेला लाग्छ । मेलामा आफन्त भेटघाट, खानपिन, नाचगान र विविध खेलकुद प्रतियोगिता हुने गर्छन् । मेला भर्न टाढा–टाढाबाट पनि आउने गर्छन् । कामकाज सकिएपछि तिहारको सट्टा मेला मान्ने गरिएको कार्यवाहक वडाध्यक्ष मग कामीले बताए । ‘मंसिरे मेला पहिल्यैदेखि लाग्छ । पछिल्ला वर्षमा खेलकुद कार्यक्रम पनि थपिएकाले मेलाको महत्त्व बढेको छ,’ उनले भने । मैकोट आसपासका गाउँकाले पनि तिहार मनाउँदैनन् । यस क्षेत्रमा मगर समुदायको बाहुल्यता छ । मगरले भूम्या पर्व भने जेठदेखि असारसम्म एक महिना मनाउने गर्छन् ।


प्रकाशित : कार्तिक १८, २०७८ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?