न्याय खोज्दै रुकुमदेखि बागलुङ

प्रकाश बराल

बागलुङ — विवाह भएको ६ महिनामै छोरीको ‘हत्या’ भएको भन्दै २ सय किलोमिटर पश्चिमको रुकुम पश्चिमदेखि अभिभावक र छिमेकी बागलुङ आएका छन् । १९ वर्षीया जमुना भनिने जिरामाया कठायत रोका गत असोज १९ मा गलकोटस्थित डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

आफन्तका अनुसार शरीरमा चोट देखिएको थियो । पति दिनेश रोकाले जमुनाको हत्या गरेको उनीहरूको आरोप छ । त्रिवेणी गाउँपालिका–१ देखि झन्डै एक सय जना आइतबार न्याय खोज्दै यहाँ आएका हुन् ।

मृतकको घर रुकुम पश्चिमको मुसिकोट–१३ का दिनेश र जमुना गलकोट बस्दै आएका थिए । बाबु करवीर कठायत र आमा धनकुमारीले छोरीको हत्या भएको भन्दै कारबाहीको माग गरे । ‘मेरी छोरी मरिसकेकी छ, तर हामीले न्याय पाउनुपर्छ,’ धनकुमारीले भनिन्, ‘यस्तो घटना नदोहोरियोस् । मेरो छोरीले जस्तै अरू छोरीले फेरि मर्न नपरोस् ।’ पति दिनेशले यातनापछि हत्या गरेको आरोपमा मृतकका दाजु प्रज्वलले किटानी जाहेरी दिएका थिए । गलकोट नगरपालिकामा अमिन पदमा कार्यरत दिनेशलाई प्रहरीले असोज २२ मा पक्राउ गरेको थियो । उनीहरूको गत वैशाखमा विवाह भएको थियो ।


छुट्टै जिल्ला र छुट्टै प्रदेश भएकाले पीडितले न्याय पाउन नसक्ने आशंका गर्दै मृतकका माइती पक्ष प्रहरी र सरकारी वकिल खोज्दै आइपुगेका हुन् । उनीहरूसँगै रुकुमका अधिकारकर्मी, अन्तरपार्टी महिला सन्जालका पदाधिकारीसमेत आएका छन् । उनीहरूले केही दिनदेखि बागलुङमै बसेर मुद्दा दायर गर्न पहल गरेका छन् ।

जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले सोमबारसम्ममा अदालतमा मुद्दा दायर हुने बताए । ‘हामीले सबै प्रमाण बुझेर मुद्दाको तयारी गरेका छौं,’ उनले भने, ‘आरोपित युवक प्रहरीको हिरासतमा छन् ।’ घटनास्थल प्रकृति मुचुल्का, देख्ने मानिसको बयान र पीडित तथा आरोपितको बयानसमेत भइसकेको उनले बताए ।

रोकाले पटकपटक युवतीको माइतीमा पैसा माग्ने, दाइजोका रूपमा विभिन्न माग गर्ने गरेको बाबु करवीरले बताए । ‘मोबाइल किनेर दियौं, त्यो घरमा पठाएछन्,’ कठायतले भने, ‘हामीले सम्पर्क गर्न खोज्दा छोरीले मोबाइल बिग्रियो भनेकी थिइन् ।’ उनले पढ्न खोज्दा पति दिनेशले नदिएको पनि उनले आरोप लगाए । जमुनाले कृषि विषय पढेकी थिइन् ।

पोस्टमार्टम रिपोर्टमा झुन्डिएर मृत्यु भएको भेटिएको र चोटपटकसमेत भएकाले कर्तव्य गरेको आरोपमा जाहेरी लेखेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए । मृतकको शरीरमा धेरै नीलडामसमेत रहेकाले यातना पाएको हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १५, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्

सडक खुल्यो न जहाजको टिकट

कोल्टीमा सयौं यात्रु अलपत्र, हवाई टिकटमा बिचौलियाको नियन्त्रण
अर्जुन शाह

बाजुरा — अवरुद्ध सडक यातायात महिना दिनदेखि खुलेको छैन । बस र साना गाडी चल्न नपाउँदाको भर हवाईजहाज हो । १० दिन कुर्दा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । दसैं बिदामा घर आएका र उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाजुरालगायत विभिन्न छिमेकी जिल्लाका यात्रुहरू कोल्टीमा अलपत्र छन् । 

कतिपय यात्रु दुई सातादेखि जहाजको टिकट पर्खाइमा छन् । बिरामी लिएर नेपालगन्ज वा धनगढी जान असोज २८ मा कोल्टी पुगेका हुम्लाका भैपुरा ऐडी अलपत्र छन् । टिकट नपाएर कोल्टीमै बस्नु परेको उनले बताए । ‘उपचारका लागि कर्ज गरेर ल्याएको पैसा टिकट कुर्दाकुर्दै कोल्टीमा खानबस्न मै सकियो,’ उनले भने ‘एघारौं दिनमा बल्ल नेपालगन्ज जान पाइयो ।’

अधिकांश हवाई टिकटहरू बिचौलियाको नियन्त्रणमा रहेको यात्रुहरू गुनासो गर्छन् । कोल्टीबाट धनगढी र नेपालगन्जको भाडादर ५ हजार ५ सय भए पनि कतिपय यात्रुले १० हजारसम्म तिर्नुपरेको नागरिक समाज कोल्टीका अध्यक्ष जनेश भण्डारी बताउँछन् । सर्वसाधारण यात्रुहरू भने अन्योलमा परेको बताउँछन् । ‘कतिबेला टिकट वितरण गर्छन्, केही पत्तै हुँदैन,’ टिकटको पर्खाइमा एक साता कोल्टीमा पर्खेका बाजुराका ललित धामीले भने, ‘सर्वसाधारणले टिकट पाउने कुनै चान्स नै छैन ।’

टिकट नपाएर सयौं यात्रुहरू अलपत्र परेपछि उनीहरूले पाँच दिनअघि कोल्टीमा नाराजुलुस नै गरे । अध्यक्ष भण्डारीले विमान सेवा कम्पनीका प्रतिनिधिहरूले मनपरी गरिरहेकाले सर्वसाधारण यात्रुहरूले सास्ती खेप्नुपरेको बताए । ‘टिकट वितरणमा साह्रै बेथिति भएकाले यात्रुले धेरै दुःख खेप्नुपरेको छ,’ उनले भने । एयरलाइन्सका प्रतिनिधिहरू भने सम्पर्कमै आउँदैनन् ।

कोल्टीबाट समिट, नेपाल एयरलाइन्स, तारा र सीता एयरलाइन्सले नेपालगन्ज र धनगढी उडान भर्ने गरेका छन् । नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालले भने, ‘समिट एयरले दैनिक उडान भरिरहेको छ । अन्य कम्पनीहरूले फाट्टफुट्ट छ ।’ पर्यटनमन्त्रीको ठाडो आदेशमा एक सातायता नेपाल एयरलाइन्सले पनि उडान गर्दै आएको उनले बताए । कोल्टी विमानस्थलबाट बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, मुगुबाट यात्रु नेपालगन्ज र धनगढी ओहोरदोहोरका लागि कोल्टी आउने गरेका छन् ।

बिचौलियाले मनपरी गरेको गुनासो आए पनि प्रहरीले सहजीकरण गरिरहेको विमानस्थल सुरक्षा गार्ड कार्यालयमा खटिएका प्रहरी निरीक्षक देवेन्द्र जोशीले बताए । हाल टिकट पाएका हरेक यात्रुलाई कति तिरेर लिएको भन्ने सोधपुछ गर्ने गरिएको छ । ‘बाहिर चर्को मूल्यमा टिकट खरिद–बिक्री भइरहेको हल्ला चल्ने गरे पनि हामीलाई कुनै यात्रुले भन्दैनन्,’ निरीक्षक जोशीले भने ।

पहुँचवालाहरूले टिकट पाउने र सर्वसाधारणले अवसरै नपाउने अवस्था आएपछि अहिले लाइन लगाएर दैनिक १० वटा टिकट वितरण गराइरहेको उनले बताए । ‘६ टिकट भीआईपी, बिरामी र भैपरी आउने अवस्थाका लागि राख्ने गरिएको छ । १० वटा टिकट अनिवार्य रूपमा बाँड्न लगाइरहेका छौं,’ उनले भने, ‘दुई/तीन दिनयता केही सहज हुँदै आएको छ ।’

कोल्टी–मार्तडी र पिलुचौर जिते (कालीकोट) सडक खण्ड लामो समयदेखि अवरुद्ध छ । कात्तिक सुरुमा लगातार तीन दिनसम्म भएको बेमौसमी वर्षापछि साँफे–मार्तडी सडक खण्डअन्तर्गत बार्जुगाड–जडांगा खण्डको सडक क्षतविक्षत छ ।

प्रकाशित : कार्तिक १५, २०७८ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×