३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चिसोले छाङरु सर्‍यो टिंकर प्रहरी

मनोज बडू

दार्चुला — सिजनअघि नै जाडो बढेपछि दार्चुलाको व्यास–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी छाङरु सरेको छ । कात्तिक पहिलो साताको हिमपातका कारण अत्यधिक चिसो बढेपछि टिंकरको प्रहरी टोली छाङरु झरेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले बताए । पिउने पानी बग्न छाडेको र अढाई फिट जमेको हिउँमा हिँडेर प्रहरी टोली टिंकरबाट झरेको भट्टले बताए ।

चिसोले छाङरु सर्‍यो टिंकर प्रहरी

समुद्र सतहबाट ३ हजार ७ सय मिटर उचाइको टिंकर गाउँमा झन्डै ८० परिवारको बसोबास छ । हिउँदको चिसो छल्न उनीहरू बेंसी (सदरमुकाम खलंगा) झर्ने गर्छन् । कात्तिक मसान्तसम्म गाउँमै बस्दै टिंकरका बासिन्दा अहिले सुरक्षाविहीन बनेका छन् । सीमा क्षेत्र र नागरिकको सुरक्षाका लागि बसेको प्रहरी स्थानीयभन्दा अघि प्रहरी तल झरेको स्थानीयको भनाइ छ ।

सीमा प्रहरी चौकी टिंकरका इन्चार्ज प्रहरी नायब निरीक्षक हर्क महतारा नेतृत्वको टोली कात्तिक ६ गते छाङरु सरेको हो । टिंकर गाउँभन्दा माथिल्लो क्षेत्र छियालेकमा प्रहरी बस्ने गरेको छ । सीमा चौकी छोडेपछि अहिले टिंकर गाउँसम्म छाङरुबाटै गस्ती भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उच्च हिमाली भेग टिंकरमा चिसो बढ्नेबित्तिकै बाहिर निस्कन सकिने अवस्था हँुदैन । हावा चल्ने र आकाशमा बादल लाग्नेबित्तिकै हिउँ पर्न सुरु हुन्छ । सरकारले उच्च हिमाली भेगमा बस्न सक्ने बन्दोबस्तीका सामानको व्यवस्था नगर्दा चिसोमा चौकी छोड्नुपरेको प्रहरीको भनाइ छ । टिंकर प्रहरी चौकीकै आसपास सरकारले सशस्त्र प्रहरीका लागि चिसोमा समेत बस्न मिल्ने भौतिक संरचना बनाए पनि सशस्त्र प्रहरी जान सकेको छैन । सशस्त्र प्रहरी पनि गत वर्षदेखि व्यास–१ छाङरुमा गुल्म स्थापना गरी बस्दै आएको छ ।

सशस्त्र पनि अहिले व्यास क्षेत्रको सुरक्षा निगरानी छाङरुबाट गरिरहेको छ । सीमित स्रोत साधनका कारण लामो तथा छोटो समयको गस्ती छाङरुबाट गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ । टिंकरको प्रहरी टोली छाङरु झरेपछि नीतिकुण्डमा रहेको प्रहरी चौकीमा बस्नलाई ठाउँ नपुग्दा छाङरु चौकीबाट चार जना व्यास–२ दुम्लिङस्थित चौकीमा झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

व्यासको नीतिकुण्डमा प्रहरीको नयाँ भवन निर्माणको काम भइरहेको छ । गत महिनाबाट भवन निर्माणको काम सुरु भएको छ । समयमै भवन निर्माण भए आगामी वर्षबाट व्यास क्षेत्रमा प्रहरीलाई बस्नका लागि समस्या नहुने उनको भनाइ छ । नीतिकुण्डमा पनि धेरै अगाडि बनेको भवन जीर्ण छ ।

भारतले नेपाली भूमि मिचेर बसेको ठाउँबाट अहिले व्यास क्षेत्रमा नेपाली सुरक्षाकर्मी ६/७ किलोमिटर वरै बस्ने गरेका छन् । भारतको गव्र्याङ गाउँ र नेपालको छाङरु गाउँ जोड्ने नाका सीतापुल हो । सीतापुलमा महाकाली नदीमाथि काठेपुल छ । छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा टिंकर गाउँ पर्छ । टिंकर उत्तरतर्फको अन्तिम बस्ती हो । टिंकरबाट ५/६ घण्टा हिमाल चढाइपछि चीनको सीमा क्षेत्र पुगिन्छ ।

भारतले अतिक्रमण गरेको कालापानी नजिकका गाउँहरू छाङरु र टिंकरमा हिउँदमा भारी हिमपात हुने गरेको छ । छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना हुनुभन्दा पहिले छाङरु र टिंकरको प्रहरी टोली हिउँदमा व्यास–२ दुम्लिङ झर्ने गरेको थियो । सशस्त्रको गुल्म छाङरुमा बाह्रै महिना बस्न थालेपछि प्रहरी पनि गत वर्षबाट बाह्रै महिना छाङरुमा बस्ने गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–१ छियालेकस्थित जीर्ण अवस्थाको नेपाल प्रहरीको सीमा प्रहरी चौकी । तस्बिर : मनोज बडू/कान्तिपुर

प्रकाशित : कार्तिक १३, २०७८ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?