पाँचौंपटक सर्‍यो कांग्रेस महाधिवेशन

मंगलबारको बैठकमा देउवा–पौडेलबीच भनाभन
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबारे छलफल गर्न मंगलबार बसेको बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिलाई निर्देशन दिए, ‘तपाईंहरुलाई कुनै हस्तक्षेप छैन । मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अघि बढ्नुस् ।’ देउवाको निर्देशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पनि सहमत भए ।

पाँचौंपटक सर्‍यो कांग्रेस महाधिवेशन

कांग्रेसको महाधिवेशन सार्ने वा कार्यतालिका बनाउने निर्णय गर्न विधानतः केन्द्रीय कार्यसमिति बस्नु आवश्यक हुन्छ । तर, मंगलबारको बैठकमा न सबै पदाधिकारी थिए, न पूर्वपदाधिकारी । बैठकमा उपसभापति विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, र पूर्णबहादुर खड्का तथा कोषाध्यक्ष सीतादेवी यादवको समेत थिएन ।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौला बसेर यसअघि संवैधानिक संकट टार्ने गरी मंसिर ९–१३ का लागि तोकिएको मितिमा महाधिवेशन नगर्ने निर्णय गरे । उनीहरुले पाचौंपटक महाधिवेशन सारेर मंसिरभित्र सम्पन्न गर्ने सहमति गरे । उनीहरुले त्यहीअनुसार निर्वाचन समितिलाई सम्पूर्ण अधिकारसहित महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । बैठकमा ३ नेताबाहेक उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्रीद्वय प्रकाशसरण महत र सुनिलबहादुर थापामात्रै सहभागी थिए ।

बैठकपछि सहमहामन्त्री महतले महाधिवेशनको कार्यतालिका तोकेर प्रक्रिया अघि बढाउन आवश्यक गृहकार्य गर्ने जिम्मा निर्वाचन समितिलाई दिइएको बताए । ‘बैठक अधिवेशनको प्रक्रियालाई अघि बढाउने कुरामा केन्द्रीत भयो । सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईंहरुले अधिवेशनको प्रक्रियालाई चाडोभन्दा चाडो अघि बढाउनुस् । मंसिरभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्छ । त्यहीअनुसारको कार्यतालिकाका लागि होमवर्क गर्नुस् । प्रक्रिया अघि बढाउनुस् भनेर निर्देशन गर्नुभयो । त्यो विषयमा सबैको साझा सहमति बन्यो,’ महतले भनेका छन् ।

उनकाअनुसार बैठकमा नेताहरुले निर्वाचन समितिलाई अर्को पनि निर्देशन दिए- ‘बाँकी रहेका जिल्लामा छठपछि मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउनू ।’ त्यसआधारमा निर्वाचन समितिले फेरि पनि महाधिवेशन गराउनका लागि जम्मा ३५ दिन मात्रै पाएको छ । गएको २२ महिनादेखि प्रयास गर्दा पनि गर्न नसकेको महाधिवेशन अब ३५ दिनमा कसरी सम्भव होला त ? जबकि यसअघि निर्वाचन समितिले नै सात तहको अधिवेशन गराउन ५१ दिनको समय मागेको थियो । समितिले नेताहरुले फेरि पनि छोटो समय दिएर अफ्ठ्यारोमा पारेको गुनासो गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिका एक पदाधिकारीले भने, ‘महाधिवेशनको विषय लामो समयसम्म रहिरहँदा हामीलाई पनि झन्झट नै भइसक्यो । छिटो गरौँ भन्ने त हामीलाई पनि लागेको हो । तर, नेताहरुले फेरि पनि छोटो समयसीमा दिए । एकदमै ‘टाइट सेड्युल’ मा काम गर्नुपर्ने भएको छ । एकदमै कठिन हुने देखिरहेको छु ।’

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भने छोटो समय पाएको भएपनि आफूहरूले त्यहीअनुसार काम गर्ने बताए । ‘पार्टीको निर्देशन नै भएपछि हामीले असम्भवलाई पनि सम्भव बनाउने कोसिस गर्छौं । हामी त्यसैगरी काम गर्छौं , ’ यादवले इकान्तिपुरसँग भने ।

कांग्रेसले यसअघि भदौ १८ मा वडा अधिवेशन गरेर मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने गरी ३ महिने लामो कार्यतालिका बनाएको थियो । तर, कार्यतालिकाअनुसार कुनैपनि तहको अधिवेशन भएन । नेतृत्वले कार्यतालिकाअनुसार महाधिवेशन गर्ने इच्छाशक्ति नदेखाउँदा अधिवेशनको प्रक्रिया भद्रगोल बनेको छ । कतै जिल्ला अधिवेशन भइसकेको छ भने कतै क्रियाशील सदस्यताकै टुंगो लागेको छैन ।

नेता अर्जुननरसिंह केसीले महाधिवेशन हुने वा नहुने भन्ने विषय अब नेतृत्वको इच्छाशक्तिमा भर पर्ने बताए । ‘हामीले विधान र संविधानले दिएको सुविधा उपभोग गरिसकेका छौं । ४ पटक त केन्द्रीय महाधिवेशन नै सरिसकेको छ । यो दुर्भाग्यपूर्ण मात्रै होइन, लज्जास्पद हो, ’ उनले भने, ‘अब यो नेतृत्वको इच्छाशक्तिमा भर पर्ने कुरा हो । विधिको पालना गर्ने मनसाय हुनुपर्‍यो । कहाँ कसलाई फाइदा हुन्छ भनेर पर्ख र हेर गर्ने हो भने त कहिल्यै पनि हुँदैन ।’

यसरी सर्दै आयो महाधिवेशन

कांग्रेसले १३ औं महाधिवेशन २०–२३ फागुन, ०७२ मा गरेको थियो । त्यसआधारमा कांग्रेसको अधिवेशन चार वर्षभित्र अर्थात् २३ फागुन ०७६ फागुनमा भइसक्नुपर्ने थियो । तर, सभापति देउवाले विधानको विशेष अवस्थामा एक वर्ष कार्यकाल लम्ब्याउन सकिने व्यवस्थालाई टेकेर त्यसबेला सामान्य अवस्थामै एक वर्ष कार्यकाल थपे । र, ०७७ फागुन ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकियो । तर, त्यो मितिमा महाधिवेशन हुन सकेन ।

क्रियाशील सदस्यता वितरण र नवीकरण नसकिएपछि महाधिवेशन प्रभावित भएको थियो । त्योसँगै कांग्रेसको विधानको पाँच वर्षे हद म्याद सकियो । त्यसपछि ६ फागुनमा संविधानको ६ महिना थप गर्न सकिने व्यवस्था बमोजिम कांग्रेसले विधान संशोधन गर्‍यो । र, ०७८ भदौ ७–१० का लागि महाधिवेशन तोक्यो । त्यो कार्यतालिकामा पनि क्रियाशील सदस्यताको काम अघि बढेन । ४ असारमा तेस्रो पटक महाधिवेशनको मिति तोकियो, १६–१९ भदौका लागि । तर, क्रियाशीलकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसले चौथोपटक महाधिवेशन सारेर मंसिर ९–१३ सम्म धकेलेको थियो । अहिले फेरि नेताहरुले त्यो मितिमा पनि महाधिवेशन नगर्ने सहमति गरेका हुन् ।

कांग्रेसले ५१ जिल्लामा स्थानीय तहको अधिवेशन गरिसकेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मकै अधिवेशन सकिएको छ । तर, बाँकी १३ मध्ये रौतहट र रसुवाको क्रियाशील सदस्यता नै टुंगिएको छैन । एकैपटक अधिवेशन गर्ने शर्तमा अरु ११ जिल्लाको अधिवेशन पनि रोकिएको छ ।

मंगलबारको बैठक के भयो ?

केन्द्रीय निर्वाचन समितिको आह्वानमा मंगलबारको बैठक बसेको थियो । महाधिवेशनको बाँकी कार्यतालिका तयार गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफलपछि निर्वाचन समितिले नेताहरुको समय मागेका थिए । साढे ३ बजेदेखि बसेको बैठक करिब डेढ घण्टासम्म चल्यो । बैठकमा धेरै नेता सहभागी नभएपनि बैठक लामो समयसम्म चल्यो ।

बैठकमा निर्वाचन समितिका पदाधिकारीले नेताहरुका कारण महाधिवेशनको प्रक्रिया अघि बढाउन ढिलाइ भएको गुनासो गरेका थिए । ‘तपाईंहरुले नरोकेको भए जिल्ला तहसम्मको अधिवेशन भइसक्थ्यो । तपाईंहरुकै कारण अधिवेशन रोकियो । लामो समयसम्म यो रहिरहृयो भने यसले राम्रो सन्देश दिँदैन,’ बैठकमा नेताहरुलाई भनेको सुनाउँदै समितिका एक सदस्यले भने ।

बैठकमा सभापति देउवाले वरिष्ठ नेता पौडेलमाथि आक्रोश प्रस्तुत गरेका थिए । ‘तपाईं जथाभावी बोल्दै हिँड्नुहुन्छ ? मैले कहाँ महाधिवेशन नगरौं भनेको छु ? तपाईं जे पायो त्यही बोल्नुहुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै ती सदस्यले भने ।

यसअघि पौडेलले सभापतिले महाधिवेशन गर्न नचाहेको र चुनावपछि मात्रै महाधिवेशन गर्ने गरी सार्न चाहेको अभिव्यक्ति दिएका थिए ।

देउवा–पौडेलको भनाभन सकिएपछि नेता सिटौलाले नेताहरुको झगडा हेरेर निर्वाचन समितिलाई अलमलमा नपर्न भनेका थिए । ‘तपाईंहरु हाम्रो झगडा नहेर्नुस् । आफ्नो काम अघि बढाउनुस् । हामीले भनेको मान्नैपर्छ भन्ने पनि छैन । एउटा विधिअनुसार अघि बढ्नुस्,’ सिटौलाले भनेका थिए ।

‘पहिले उहाँहरुको अलिअलि भनाभन भयो । तर, सभापतिज्यूले मंसिरमै महाधिवेशन गर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेताज्यूले पनि सहमति जनाउनुभयो,’ बैठकमा सहभागी एक नेताले भने ।

बैठकपछि वरिष्ठ नेता पौडेलले आफूले महाधिवेशनको तयारी र कार्यतालिकाका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने भनेको बताए । ‘हामी मंसिरभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा सहमत भयौं । तर, मैले केन्द्रीय समितिको बैठक बोलाउन भनेको छु । महाधिवेशनको तयारीका लागि पनि, र कार्यतालिकालाई अन्तिम रुप दिन पनि केन्द्रीय कार्यसमिति बैठक आवश्यक छ,’ पौडेलले भने ।


प्रकाशित : कार्तिक ९, २०७८ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?