बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेमौसमी वर्षाले सडकमा १ अर्ब ५ करोडको क्षति 

कान्तिपुर संवाददाता

काठमाडौँ — कात्तिक महिनामा परेको बेमौसमी वर्षाका कारण आएको बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ । 

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा महानिर्देशक थापाले भने, 'कात्तिक १ गतेयता परेको बेमौसमी वर्षाका कारण सडकमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान १ अर्ब ५ करोड आएको छ । यो अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी छ ।'

बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको थापाले जानकारी दिए । तीमध्ये अझै केही खुल्न बाँकी रहेको उनको भनाइ थियो । 'मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ । अबको दुई–तीन दिनमा मनाङ खुल्ने अवस्थामा छ । बझाङमा अवरुद्ध सडक खुल्न अझै समय लाग्ने अवस्था छ,' उनले भने ।

अहिले सडक विभागको पहिलो प्राथमिकता अवरुद्ध सडक अस्थायी रूपमा वा एकतर्फी रूपमा भएपनि सञ्चालनमा ल्याउने रहेको उनले बताए ।

कात्तिक १ गतेयता परेको वर्षका कारण सुदूरपश्चिम र कर्णाली लगायतका धेरै ठाउँमा बाढी र पहिरो गएको थियो । तराईका विभिन्न जिल्ला डुबानमा परेका थिए ।

प्रकाशित : कार्तिक ७, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्

सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आइतबार छापावालको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

काठमाडौंको न्युरोडस्थित ज्वेलरीमा गहना मिलाउँदै कामदार । तस्बिर : किरण पाण्डे/कान्तिपुर

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँ बढी हो ।त्यस्तै चाँदीको मूल्य पनि यस दिन प्रतितोला १० रुपैयाँले बढेको छ । सो मूल्य बढेसँगै आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×