६ हजार ७ सय ४३ वडामा २ लाख ९ हजार कार्यकर्ता संगठित हुँदै
काठमाडौँ — सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो ।
तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी पुनर्निर्माण र चुनावी तयारीलाई पहिलो कार्यसूची बनाएको छ ।
विधान महाधिवेशनको तीन सातापछि एमालेले बाढी प्रभावितबाहेक सबै वडामा एकै दिन नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर वडा अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ओलीले उन्नतस्तरको समझदारीका साथ वडा अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको दाबीअनुसार भर्चुअल माध्यमबाट अध्यक्षको सम्बोधनमा कम्तीमा पाँच लाख कार्यकर्ता सहभागी थिए ।
एमालेले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैपटक अधिवेशन सक्ने तयारी गरे पनि बाढीपहिरो प्रभावित जिल्लामा रोकिएको छ । ‘६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएको छ । बाढीका कारण ६ सयभन्दा बढी वडामा अधिवेशन सम्पन्न हुन सकेन, खासगरी सुदूरपश्चिम प्रदेशमा,’ तामाङले भने, ‘ती वडामा पनि कात्तिक मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिइसकिएको छ ।’ अध्यक्ष ओलीले पनि सम्बोधनका क्रममा अतिवृष्टिका कारण शनिबार हुन नसकेका वडा अधिवेशन छिट्टै सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएका थिए । तर दसबुँदे सहमति पक्षधर नेताहरूले वडा अधिवेशन केही दिन सार्न गरेको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।
देशभर ६ हजारभन्दा बढी वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व र कमिटी चयन भएको सचिव तामाङले जानकारी दिए । ‘कुनै पनि ठाउँमा विवाद भएको र निर्वाचन भएको रिपोर्ट प्राप्त भएको छैन,’ उनले भने, ‘सबै ठाउँमा नेतृत्व सर्वसम्मत चयन भएको छ ।’
एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार गाउँ र नगरमा वडा अधिवेशनबाट ३१ सदस्यीय कमिटी बनेका छन् । उपमहानगरका वडामा ४१ र महानगरका वडामा ५१ सदस्यीय कमिटी हुने विधानमा छ । विधानअनुसार वडामा अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक तथा दुई उपसचिव रहेको कमिटी हुन्छ । ६ हजार ७ सय ४३ वडामा २ लाख ९ हजार कार्यकर्ता संगठित हुनेछन् । स्थानीय चुनावका लागि एमालेको यो सबैभन्दा ठूलो शक्ति हुनेछ । केन्द्रीय कार्यालय सचिव तामाङले बिहीबारै सर्कॅलरमार्फत वडा अधिवेशनको तयारी मापदण्ड जारी गरेका थिए । सर्कुलरमा संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न निर्देशन दिइएको थियो । अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको थियो ।
एमालेले कात्तिक ९ मा देशभरका ७ सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन गर्दै छ । महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहने विधानमा छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको दसौं महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनमार्फत एमालेले पार्टीको नीति, विचार र विधान पारित भएकाले महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । विधान महाधिवेशनले चुनावकेन्द्रित राजनीतिक र सांगठनिक योजना पनि बनाएको छ ।
६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी एमालेको पहिलो विधान महाधिवेशनले तीनवटै तहको निर्वाचनमा पार्टीलाई एकल बहुमतप्राप्त ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प पारित गरेको थियो । ‘आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरूलाई आह्वान गर्दछ,’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।
विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न र सुझाव सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पनि तीनवटै तहको चुनावमा पार्टीलाई सुदृढ बहुमतको स्थानमा पुर्याउने गरी तयारीको काममा जुट्न आह्वान गरेका थिए । ‘हामीले अब स्थानीय तहको निर्वाचन जित्नै पर्नेछ । संघीय र प्रदेश तहका निर्वाचन जित्नुपर्नेछ र त्यहाँ हामीले अत्यधिक सफलता प्राप्त गर्नुपर्नेछ । सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा हामीले वर्चस्व जमाउनुपर्नेछ, बहुमतको एमालेको सुदृढ संघीय सरकार बनाउनुपर्नेछ । यी कार्यभारलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेछ,’ ओलीले भनेका थिए ।
महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न २०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड बनाइएको छ । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न कात्तिक ११ मा स्थायी कमिटी र कात्तिक १२ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय एमालेले गरेको छ ।
पार्टीमा कुनै समस्या छैन : ओली
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको बहिर्गमनपछि पार्टीमा समस्या नरहेको बताएका छन् । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार देशभरका वडा कमिटी अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले पार्टी एक ढिक्का बनेको बताएका हुन् ।
‘विभिन्न समयमा विभिन्न ढंगका बहिर्गमनपछि पार्टी एक ढिक्का छ,’ उनले भने, ‘पार्टीको हुर्मत लिने, व्यवधान गर्ने र पार्टीभित्रका समस्यालाई बढाइचढाइ गर्ने खालका कुरा अब पार्टीभित्र रहेन । यो खुसीको कुरा हो ।’ दसबुँदे सहमति कार्यान्वयनमा अनिच्छुक देखिएको भन्दै पार्टीभित्र विवाद भइरहेका बेला ओलीले पार्टीमा समस्या नरहेको दाबी गरेका हुन् ।
विपक्षीहरूले एमालेमा विवाद किन भएन भनेर हेरिरहेको उल्लेख गर्दै उनले सर्वसम्मतिमा जोड दिइरहेको बताए । ‘त्यत्रो महाधिवेशन भयो, कहीँकतै विमति भएन । कतिपयले लाञ्छना लगाए, यो त व्यक्तिगत पार्टी भनेर । व्यक्तिको प्रश्न हैन, आन्दोलनको नेतृत्वको प्रश्न हो,’ उनले भने, ‘पार्टीलाई एकजुट बनाएर लैजाँदा केन्द्रीय नेतृत्वदेखि लिएर सम्पूर्ण पार्टी एकजुट भएर अगाडि बढ्नु आजको आवश्यकता हो । त्यसकारण हामी सर्वसम्मतिमा जोड गरिरहेका छौं । विरोधीका चाहना, उनीहरूलाई खुसी पार्ने काम हामीले गर्ने हैन ।’
एमाले र आन्दोलनमाथि चारैतिरबाट हमला भएका कारण राष्ट्रको समृद्धि, सुरक्षा र भविष्यमाथि असर परिरहेको दाबी पनि ओलीले गरे । तर आफूहरूले त्यसको सशक्त प्रतिवाद गरिरहेको र अब पनि गर्ने उनले बताए । ‘जनताको अभिमतबाट आज पनि एमाले पहिलो शक्ति हो । राजनीतिक, सांगठनिक, वैचारिक क्षेत्रमा देशको प्रमुख पार्टी हो । लामो उतारचढावबाट हाम्रो पार्टी प्रमुख हैसियतमा छ,’ उनले भने, ‘अब पनि तदनुरूपको जिम्मेवारी छ । राष्ट्र निर्माणको जिम्मेवारी हाम्रो काँधमा छ । सम्पूर्ण कमरेडहरूले यी अभिभारा पूरा गर्न तयार हुनुपर्छ ।’
देशको पहिलो शक्ति एमाले नै रहेको र आगामी निर्वाचनमा पनि तिनै तहमा सानदार बहुमत ल्याउने गरी तयारी गर्न ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘जनताले पत्याएको सुदृढ शक्ति हौं, हामी एक्लैले आगामी निर्वाचनमा सबै तहमा सानदार ढंगले बहुमत ल्याउँछौं,’ सम्बोधनका क्रममा ओलीले भने, ‘त्यसको तयारी पनि हामी गरिरहेका छौं । त्यसअनुसार आन्दोलनमा लाग्न कमरेडहरूलाई आग्रह गर्दछु ।’
वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको र अग्रगमन हुन नदिएको आरोप ओलीको छ । राज्य तहबाट नै अनुशासनहीनता भइरहेकाले मुलुकलाई गठबन्धनले विपरीत र प्रतिगमनको बाटोमा लगिरहेको उनले बताए । ‘पाँचदलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउमा सेवा गर्ने ?’ तर एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न लागेको उनको दाबी थियो ।
