एआईजी सिंहमाथि अनुसन्धान गर्न समिति

कार्तिक ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी अस्पताल महाराजगन्जमा आर्थिक अनियमितता भएको आशंकामा एआईजी डा. आशा सिंहमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सिंहमाथि अनुसन्धान गर्न मानवस्रोत तथा प्रशासन विभागका एआईजी विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

सिंह र आर्थिक खटनपटनमा संलग्न प्रहरीमाथि अनुसन्धान गर्न समितिलाई निर्देशन दिइएको छ । स्रोतका अनुसार कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर खरिद गर्दा आर्थिक अनियमितता गरेको, आइसोलेसन वार्ड बनाउँदा रकम हिनामिना भएको, भारतबाट सेकेन्डह्यान्ड पीसीआर मेसिन किनेर नयाँ उपकरणसरह बिल भुक्तानी गरेको, अपारदर्शी रूपमा करारमा कर्मचारी नियुक्ति गरेकोलगायत आरोपमा एआईजी सिंह र अन्य प्रहरीमाथि अनुसन्धान गर्न समिति गठन भएको हो ।

एआईजी पोखरेल नेतृत्वको समितिमा महानिरीक्षकको कार्यालयका डीआईजी वसन्त लामासहित एसएसपीद्वय पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेत छन् ।

सिंह २०७६ माघ ६ को मन्त्रिपरिषद् बैठकबाट अस्पतालको एआईजी तथा कार्यकारी निर्देशक नियुक्त भएकी थिइन् । सिनियर डीआईजी मीनराज पाठकलाई पन्छाएर सिंहलाई बढुवा गरिएको भन्दै त्यतिबेला पनि विवाद भएको थियो । सिंहको नियुक्तिविरुद्ध त्यसबेला पाठकले लोक सेवा आयोगको बढुवा समितिमा उजुरी पनि दिएका थिए ।

सिंहमाथि राष्ट्र्रसंघीय शान्ति मिसनमा सहभागी नभई सहभागी भएसरहकै तक्मा लगाएको पनि आरोप छ । उनीमाथि नेपाल सरकारले पदक नै नदिई गोरखा दक्षिणबाहु तक्मा लगाएको आरोप पनि लागेको थियो । शान्ति मिसन र गोरखा दक्षिणबाहु पदक पाए/नपाएकोबारे पनि अनुसन्धान गर्न समितिलाई कार्यादेश दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयले सिंहमाथि अनियमितता आरोपमा उजुरी परेको भन्दै अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको स्रोतको भनाइ छ । गृह मन्त्रालयले असोज २० मै एआईजी सिंहमाथि विभिन्न ८ वटा विषयमा अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । 

गृहले ‘गोप्य/अत्यन्त जरुरी’ भनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा आइसोलेसन वार्ड बनाउँदा अनियमितता गरेको, भारतबाट किनिएका सेकेन्डह्यान्ड पीसीआर मेसिनको नयाँ खरिदसरह बिल पेस गरेको, आर्थिक भुक्तानी गरेको, अस्पतालमा बहालवाला तथा अवकाशप्राप्त प्रहरीका लागि दिइने सहुलियत औषधिमा पनि अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा मनोमानी गरेको, पाउँदै नपाएको पदक लगाएर हिँड्ने गरेको आरोपमा अनुसन्धान गर्न निर्देशन दिएको छ ।

त्यस्तै अस्पतालमा निःशुल्क पाइने मास्क, सेनिटाइजर र पीपीईमा समेत बिल पेस गरी रकम भुक्तानी गरेको, स्वास्थ्य मन्त्रालयले दिएको कोभिड–१९ भत्तामा अनियमितता गरेको लगायत आरोप सिंहमाथि लागेको छ । 

अनुसन्धानबारे एआईजी सिंहले भने अनभिज्ञता प्रकट गरिन् । ‘यसबारेमा मलाई केही थाहा छैन । त्यस्तो समिति गठनको बारेमा कुनै जानकारी आएको छैन,’ उनले भनिन्, ‘जब त्यस्तो केही भएकै छैन भने यो विषयमा मैले के भन्ने र ?’ 

कान्तिपुर

Link copied successfully