उद्धार, राहत र पुन:स्थापनामा तीव्रता दिन मानव अधिकार आयोगको आग्रह


काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार, राहत, पुन:स्थापना र मनोसामाजिक परामर्शमा तीव्रता दिन आग्रह गरेको छ ।


आयोगले बुधबार विज्ञप्ति जारी गर्दै ३ दिनदेखि अविरल वर्षाका कारण देशभरका बाढी पहिरो प्रभावितहरुको उद्धार, राहत, पुन:स्थापना र मनोसामाजिक परामर्शमा ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।
आयोगले मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरेअनुरुप व्यक्तिको जीऊधनको सुरक्षा, आधारभूत आवश्यकता परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चितता गर्ने कार्यमा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।
‘प्राकृतिक विपद्बाट हुन जाने थप जोखिमको न्यूनीकरण गर्न, विपद् प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीऊधनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले आफ्नो अनुगमनबाट बाढी पहिरोका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको, धानबालीलगायत कृषिजन्य उत्पादन र पशुपंछी नष्ट भएको र तराईका विभिन्न स्थानमा घरहरु डुबानमा परेको, सुदूरपश्चिमका अधिकांश जिल्लामा यातायात, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।
प्रकाशित : कार्तिक ३, २०७८ १५:५४