राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति भण्डारीले गरिन् नवकन्याहरूको पूजा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेकी छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेकी हुन् । 

विजया दशौको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौा दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।

विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमश: २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो ।

यसैक्रममा राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शितल निवासमै नवकन्याहरुको पूजा गरेकी हुन् ।

प्रकाशित : आश्विन २८, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्

रोटे पिङ संरक्षणमा युवा पुस्ता

हरिराम उप्रेती

गोरखा — शहिद लखन गाउँपालिका–८ छापथोककी सुनमायाँ श्रेष्ठलाई गाउँमा पिङको आवाज ठोक्किएपछि बल्ल दसैं भित्रिएको महसुस हुन्छ । ७५ वर्षीय श्रेष्ठ सानैदेखि पिङको सौखिन छिन् । भन्छिन्,‘सानैदेखि रोटेपिङमा मच्चिने बानी परेको छ । यतिका उमेर भएपनि पिङ राखेपछि खेलुँ–खेलुँ लागिहाल्छ ।’

दसैंमा गाउँ बस्तीमा रमाइलो गर्ने माध्यम पिङ बनेको छ । रोटे, जातेँ, लिंगे पिङको ग्रामिण भेगमा आफ्नै महत्व छ । युवायुवती भेला भएर पिङ राख्न जुटछन् । दसैंको टिकाको दिन धर्ति छाड्नुपर्छ भन्ने जनविश्वास पनि रहँदै आएको छ ।

पिङ राख्ने परम्परालाई निरन्तरता पाएको गाउँमा चार पिर्के रोटे पिङ राख्ने प्रचलन छ । छापथोकमा भने आठ पिर्के रोटे पिङ राखिएको छ । काठैकाठबाट बनेको पिङमा रंगरोगन गरिएको छ । पिङको मज्जा लिन युवायुवती, बालबच्चादेखि वृद्धवृद्धा सम्म पछि परेका छैनन् । पिङले गाउँमा दसैंको रौनक नै बेग्लै बनाएको शहिद लखन गाउँपालिका–८ का रुद्रबहादुर श्रेष्ठ बताउँछन् । ‘घरमै बसेर के रमाइलो हुनु,’उनले भने,‘भुराहरु आउँछन्, पिङ खेल्छन्, हाहा हुहु गर्छन्, छुट्टै मज्जा हुन्छ नी ।’


विगतका वर्षजस्तो गाउँ–गाउँमा रोटे पिङ देखिदैनन् । केहि गाउँका स्थानीय युवाहरुको अगुवाइमा भने परम्परालाई निरन्तरता दिँदै रोटे पिङ संरक्षण गरिएको छ । गोरखा नगरपालिका–८ सिमलगैरीमा झण्डै १० वर्षपछि पिङको आवाज गाउँमा ठोक्किएको छ । लोप हुन लागेको पिङ राख्ने परम्पराले यस वर्षबाट निरन्तरता पाएको गोरखा नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण केसीले बताए । सिमलगैरीमा यो वर्ष रोटे, जाँते र लिंगे तीनवटै पिङ राखिएको उनले बताए । ‘बिचको १० वर्ष पाका पुस्ताले चासो देखाएनन्, युवापुस्ताले मेसो पाएनन्, ’उनले भने, ‘यो वर्ष फेरि परम्परा जिवितै राख्नुपर्छ भनेर युवा, पाका सवै मिलेर पिङ राख्यौँ ।’

गत वर्ष कोरोना कहरले पिङ हाल्न नपाएकाहरु पनि यस वर्ष गाउँको रोटे(चर्खे) र लिंगे पिङले उत्साहित छन् । कोरोना जोखिम मथ्थर भएपछि यस वर्ष युवादेखि पाका पुस्ता सम्मले जाँगर निकालेका छन् । पाका पुस्ताबाट युवाले पिङ राख्ने ‘कला’ सिकेका छन् ।


छापथोकमा झण्डै ३० वर्षको अन्तरालपछि २०७६ बाट रोटे पिङ हाल्ने प्रचलनलाई निरन्तरता दिएको स्थानीय युवा राजेश श्रेष्ठ बताउँछन् । ‘३० वर्ष सम्म खम्बा मात्र थियो, निर्माण समिति बनाएर लोपन्मुख अवस्थामा रहेको रोटेपिङ र जाँतेपिङको संरक्षण गरेका हौं,’ श्रेष्ठले भने । युवाहरुले पिङ संरक्षणमा अग्रसरता देखाएपछि वन समूहले काठ उपलब्ध गराएको उनले बताए । ‘पछिका सन्ततीहरुले पनि पुरानो संरचना देख्न पाउँछन्,’ उनले भने,‘हामी युवा पुस्ताले पनि जुवातास, विकृति विसंगतिमा भुल्नुभन्दा पनि पिङलाई मनोरञ्जनको साधन बनाउनुपर्छ भन्ने सोचेर पिङमा जोड दिएका हौँ ।’

पालुङटार नगरपालिका–९ सिस्नेरीका युवाहरुले वर्षौदेखिको पिङ हाल्ने प्रचलनलाई यस वर्ष पनि निरन्तरता दिए । सिस्नेरीस्थित फेदी चौताराको रोटेपिङ उत्त भेगमा दसैंको आकर्षण बन्दै आएको छ । ‘कोरोनाले गत वर्ष रोकिएको थियो, यस वर्ष निरन्तरता दियौँ,’ स्थानीय युवा कृष्ण थापाले भने, ‘फेदी चौतारामा पिङ हाल्ने प्रचलन निकै पहिले देखिको हो, पाका पुस्ता र युवाहरु मिलेर यो संस्कृति जोगाएका छौँ ।’

पाका पुस्ताबाट युवापुस्तामा पिङ हाल्ने सिप हस्तान्तरण भएको छ । विगतका वर्ष गाउँका बस्ती पिच्छेका रोटे पिङ लोप भएका छन् । केहि गाउँमा भने युवा पुस्ताको सक्रियतामा पिङको संरक्षण गरिएको छ ।

प्रकाशित : आश्विन २८, २०७८ १३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×