कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शरणार्थी बा–आमाहरू एक्लाएक्लै

शरणार्थी शिविरमा अलपत्रै छाडिएकाहरुको गुनासो छ– ‘चाडबाड सम्झेर न छोराछोरी आउँछन्, न हामीलाई बोलाउँछन् । फोनसमेत गर्दैनन् ।’
देवेन्द्र भट्टराई

पथरी, मोरङ — तेस्रो मुलुक जान नपाएका वा नलगिएका भुटानी शरणार्थीको रहलपहल हूलमा ८० वर्षे पुण्यलाल अधिकारी पनि भेटिए– पथरी, शनिश्चरेको शरणार्थी शिविरमा । आफ्नो टहरोमा छिर्ने कल्भर्टमाथि बसेर बाँसको चोया काडिरहेका पुण्यलाल अमेरिका–क्यानडामा रहेका आफ्ना सन्तानबारेमा त्यति धेरै कुरा भन्न चाहिरहेकै थिएनन् ।

शरणार्थी बा–आमाहरू एक्लाएक्लै

‘हामी यता टहरोमा बूढाबूढी मात्रै छौं,’ शरणार्थी शिविरको दैनिकी सुनाउँदै उनले भने, ‘यस्तै बसिबियाँलो गर्छौं, अन्नपात जुटाएर जीवन निर्वाह गर्छौं ।’ पुण्यलालका दुई छोरा अमेरिका र एक छोराको परिवार क्यानडा पुगेको धेरै वर्ष भएको रहेछ । मुटुको रोग, दमको समस्या भएकाले रोगीकित्तामा परेरै उनी भने तेस्रो देशमा जान नपाएका रहेछन् ।

सन् ९० दशकको सुरुवातमै भुटानबाट शरणार्थी बनेर आएका पुण्यलाल अझै पनि त्यही बेला भुटान छँदै दसैं–तिहारजस्ता चाडबाड खुलेर मनाएको मात्रै स्मरण गरिरहेका छन् । स–साना छोराछोरी हुर्काउँदा–बढाउँदाको संघर्षका माझ चाडबाडले दिने आनन्द उनले भुल्न सकेकै छैनन् । ‘अहिलेको के कुरा गर्नु नानी ?,’ उनले सुस्केराको भाकामा सुनाए, ‘चाडबाड सम्झेर न छोराछोरी आउँछन्, न हामीलाई बोलाउँछन् । कतिसम्म भने फोनसमेत गर्दैनन् । ‘यो जीवनमा ५ बजेको छ नानी, घाम डुब्नै लागेको छ । खोइ, सन्तानसँग अब के भेट होला र ?’


पथरीकै सीटु/२२ टहरोमा अर्की शरणार्थी लछिमाया खालिङ भेटिइन् जो आफ्ना सबै सन्तानको निधन भएपछि शिविरमै कुरुवाझैं बसिरहेकी छन् । उनका मामा–माइजू र आफन्तहरू अस्ट्रेलियामा भए पनि आफ्नो कहींकतै जाने वा कोही फर्केर आउने सम्भावना नरहेको उनले सुनाइन् । शिविरको बीटु/१५ टहरोमा शारीरिक रूपमा अशक्त आमा डोल्मा र बाबु विकास तामाङलाई दबाइपानी गर्दै बसिरहेका थिए, १९ वर्षे छोरा प्रितम । ‘हामीलाई विदेश जानु पनि मुस्किल छ, यही जीवन धान्न पनि निकै मुस्किल भएको छ,’ प्रितमले सुनाए, ‘कुनै चाडबाड कहिले आउँछ वा जान्छ पनि पत्तो हुन्न, आजको दिन कसरी बिताउने होला भन्ने मात्रै हुन्छ ।’ बाथ रोगका कारण हिँडडुलमै अशक्त बनेका बाबु र उच्च रक्तचापका कारण कुँजिएर बसेकी आमालाई रेखदेख गरेर प्रितमसहित २ छोरी प्रिती र प्रितिका पनि शिविरमै बसिरहेका छन् ।

सन् २०१६ बाट शरणार्थी पुनर्बसोबासको कार्यक्रम स्थगित भएपछि र गत जनवरीबाट शरणार्थीका लागि खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षा तथा अन्य राहत पनि आउन छाडेपछिको बिजोग स्थितिमाझ शिविरभित्र एक्लिएर बसेका बूढाबूढीको हालत अझ हेरिनसक्नु देखिन्छ । पुनर्बसोबासमा लैजाने मुलुकले पनि शारीरिक रूपमा अशक्त, एकल वा बुढ्यौली उमेरका शरणार्थीलाई अलपत्रै शिविरमा छाडेको स्थिति अझ कहालीलाग्दो देखिन्छ ।


पथरीकै सी/२५४ टहरोमा बस्ने ७५ वर्षीय दिलबहादुर तामाङ मानसिक समस्याले ग्रस्त भएको धेरै भइसक्यो । आफ्ना दाइलाई रेखदेख गरेर बसिरहेका भाइ कर्णबहादुरसहित सपरिवार अमेरिका जाने प्रक्रियामा लागिसकेका थिए । तीमध्ये २ छोराछोरी अमेरिका पुगिसके, यता ४ जना अड्किएका छन् । ‘खासमा दाइको एक जना छोरा भुटानमै बेपत्ता भएपछि उहाँ मानसिक रूपमा बिराम पर्न थाल्नुभएको थियो, यता नेपाल आएपछि झनै चापेको हो,’ दिलबहादुर भन्छन्, ‘यो शिविरमा बसेर चाडपर्व, रमाइलो मान्ने अवस्थै रहेन । रात त बित्यो, दिन कसरी बिताउने भन्ने भइरहन्छ ।’

यता दमक, बेलडाँगी शिविरमा पनि बांगे चौतारीको छेवैमा दिनभर कुर्सी राखेर बसिरहेका छन्– ८४ वर्षीय पूर्णबहादुर गुरुङ । ३० वर्षअघि भुटान गेलेफुबाट लखेटिएर आएका गुरुङका छोराछोरी अमेरिका पुगिसके, उनी एक्लै भने आफ्नो उमेर र कुनै दिन गेलेफु नै फर्कने सपना देखेरै शिविरमा अड्किएका छन् । एक जना ज्वाइँको भरथेगमा शिविरमा बसिरहेका उनलाई यो दसैंमा भने आफ्ना छोराछोरीले अमेरिकाबाट आउने भनेकोमा खुसीको मुद्रामा चुरोट पिइरहेका थिए । तेस्रो देशमा शरणार्थी पुनर्बसोबासको अभियान अघि बढेसँगै सामाजिक र पारिवारिक रूपमा एकल बन्दै गएका तथा विशेषतः बुढेसकालको शरणार्थी जीवन बिताइरहेका बाआमाका लागि पथरी शिविरमा ‘डे केयर सेन्टर’ पनि सञ्चालन गरिएको छ । पुनर्बसोबासमा परेर अमेरिका पुगेका शरणार्थी समुदायले खोलेको ‘इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को समन्वयमा सुरु भएको डे केयर सेन्टरमा अहिले झन्डै १ सय जना बुढ्यौली उमेरका वा एकल शरणार्थीहरू दिन बिताउने मेलो गरिरहेका भेटिन्छन् । ‘हामीले यहाँ सानो पुस्तकालय पनि राखेका छौं, चियानास्ता पनि ख्वाउँछौं,’ फाउन्डेसनका नेपाल संयोजक राम बानियाँ भन्छन्, ‘डे केयरमा बनाइएको हलमा मादल, चेस, टेलिभिजन राखिदिएका छौं । कहिलेकाहीँ अरू गतिविधि, प्रवचन आदि पनि हुन्छ ।’


यही संस्थाले दमकको बेलडाँगीस्थित शिविरमा पनि यस्तै हलसहितको डे केयर सेन्टर सञ्चालनमा ल्याउनै लागेको रहेछ । ‘हामीले ८० वर्षमाथिका शरणार्थी बुबाआमालाई मासिक ५ हजार रुपैयाँको पकेट खर्च पनि दिने गरेका छौं,’ फाउन्डेसनका सचिव सुरेन्द्र शेर्माले भने, ‘अहिले पनि बेलडाँगी शिविरका ९० र पथरीका २७ जना बुबाआमाले मासिक भत्ता पाइरहनुभएको छ ।’

संयोजक बानियाँका अनुसार दसैंतिहारजस्ता चाडबाडमा पनि शिविरमा रहेका एकल वा बुढ्यौली उमेरका बाआमाका लागि न्यास्रो मेटाउने प्रकारका सांस्कृतिक कार्यक्रम राख्ने योजना रहेको सुनाए । पछिल्लो समयमा भने कोरोना संक्रमणका कारण डे केयर सेन्टरमा भीड गर्न नदिइएको उनले सुनाए । यसरी एक्लिने वा बुढ्यौली बेहोर्ने बाआमाहरू दमक र पथरी गरेर १ हजारजतिको संख्यामा रहेको बानियाँले जानकारी दिए । दुई शिविरमा गरेर अहिले पनि ६ हजार ५ सयभन्दा बढी शरणार्थी भुटान घरफिर्ती वा पुनर्बसोबासमा तेस्रो देश जान पाइने आशा गरेर बसिरहेकै छन् ।

प्रकाशित : आश्विन २७, २०७८ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?