३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

इजरायल लैजाने १ हजार नेपाली कामदार गोलाप्रथाबाट छानियो

कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये एक हजार जनाको नाम मंगलबार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ ।

इजरायल लैजाने १ हजार नेपाली कामदार गोलाप्रथाबाट छानियो

‘झन्डै एक वर्षअघि देखिको यो प्रक्रिया यहाँसम्म आइपुगेको छ,’ भर्चुअल रुपमा कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले भने,‘यो खुसीको अवसरमा नेपाल सरकार र इजरायली सरकार दुवैलाई धन्यवाद दिन चाहन्छु । यसले दुवै मुलुकका नागरिकहरु लाभान्वित हुनेछन् ।’

इजरायले नेपालबाट एक हजार ‘एक्जुलरी वर्कर्स’ अर्थात् मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारको रुपमा लैजान एक वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा सुरुआतमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए ।

त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १६ सय जना छनोट भएका हुन् । त्यसमध्ये गोलाप्रथाबाट एक हजारलाई छनोट गरिएको हो । ‘यो गोलाप्रथा नै सबैभन्दा पारदर्शी प्रक्रिया हो । त्यसैले यसलाई हामीले सबैले देख्ने गरी पारदर्शी प्रक्रियामा गोलाप्रथा गरेका हौं,’ राजदूत गोडरले भने ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट एक हजार जना नेपालीहरुको नाम आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरुको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जानको लागि तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल जान पाउने अवस्था रहन्न ।

इजरायलले कुनै पनि म्यानपावर र कुनै पनि विचौलीया बिनामात्र नेपालबाट सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट कामदार लैजाने भन्दैआएको थियो । सोही अनुसार जीटुजी प्रक्रियाबाटै कामदार लान लागिएको हो । पूर्व श्रमसचिव विनोद केसीले इजरायलले उक्त प्रस्ताव गरेपछि नेपाल सरकारकोतर्फबाट आफूहरुले नै इजरायललाई यसरी कामदार लानको लागि सल्लाह दिएको प्रष्ट पारे ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । उनले भनिन्, ‘यो सफलताको भागेदार दुवै मुलुक हुन् । दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन् ।’ उनले यसपछि कृषि क्षेत्रमासमेत कामदार पठाउनको लागि प्रक्रिया अघि बढिसकेको बताइन् ।’

परराष्ट्र मन्त्रालयका सहसचिव तथा मध्यएसिया, पश्चिम एसिया र अफ्रिका हेर्ने महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धबीच यो निकै महत्वपूर्ण खुड्किलो भएको बताए । ‘कामदारको क्षेत्रमा भएको यो प्रगतिलाई लिएर दुवै मुलुकका राजदूतहरुलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

कृषि क्षेत्रमा पनि कामदार पठाउने गृहकार्य

इजरायलको लागि नेपाली राजदूत अन्जान शाक्यले अब इजरायको कृषि क्षेत्रमासमेत नेपालीहरु लैजाने प्रक्रियालाई अघि बढाउनको लागि गृहकार्य गरेकी छन् । उनले इजरायका कृषि मन्त्री ओडेड फोररसँग भेटवार्ता गर्दै त्यसको लागि पहल गर्न आग्रह गरेकी हुन् ।

राजदूत शाक्य र इजरायलका कृषिमन्त्री ओडेड फोररबीच यसै साता इजरायली संसदमा भेटवार्ता भएको थियो । उक्त अवसरमा मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी यकोभ पोलेग तथा दूतावासका द्वितीय सचिवसहितको उपस्थिति थियो ।

उक्त अवसरमा दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको उल्लेख गर्दै राजदूत शाक्यले अब कृषि क्षेत्रमासमेत नेपालीहरुलाई लैजान आग्रह गरेकी हुन् ।

जवाफमा मन्त्री फोररले राजदूत शाक्यलाई विदेशी कामदारको कोटा बढाएरै भए पनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने प्रतिवद्धता व्यक्त गरेको शाक्यले कान्तिपुरलाई जानकारी दिइन् ।

‘अहिले काम गर्ने नेतृत्व चाहिन्छ, जुन तपाईँले इजरायलमा देखाउनुभयो,’ मन्त्री फोररले भनेका थिए । लामो समयदेखि रोकिएको इजरायलको रोजगारी खुला गर्दै यसै सम्झौता अनुरुप काम भएको छ । सोही अनुसार केही दिनभित्र १००० नेपाली कामदार इजराल जाँदैछन् ।

इजरायलको प्राविधिक सहयोगमा नेपालमा कृषि सेन्टर फर एक्सिलेन्स स्थापना गर्नेसम्बन्धी सम्झौतासमेत सम्पन्न भइसकेको छ । त्यसलाई तदारुकताका साथ कार्यान्वयनमा लैजानुपर्नेमा राजदूत शाक्यले जोड दिइन् । नवीन इजरायली प्रविधि भित्र्याएर देशको कृषि क्षेत्रको विकास गर्नुपर्ने पर्ने शाक्यले बताइन् ।

उनले नेपालबाट ११ महिने कृषि तालिमका लागि वार्षिक करिब ५०० जना नेपाली विद्यार्थीहरु इजरायल आउने गरेकोमा त्यसमध्येका उत्कृष्ट विद्यार्थीहरु छनोट गरी थप तालिमको अवसर दिलाउने र उनीहरुलाई कृषि परामर्शकर्ता/विज्ञका रुपमा विकास गर्ने अवसर दिलाइदिनसमेत मन्त्रीलाई आग्रह गरिन् । उक्त अवसरमा राजदूत शाक्यले मन्त्री फोररलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी थिइन् ।


प्रकाशित : आश्विन २५, २०७८ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?