कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय रेसा र मुरातोभलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको नोबेल शान्ति पुरस्कार दुई जना पत्रकारलाई दिइने भएको छ । नर्वेजियन नोबेल कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई दिइने भएको छ ।

यस वर्षको नोबेल शान्ति पुरस्कार पत्रकारद्वय रेसा र मुरातोभलाई

उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि नोबेल शान्ति पुरस्कार दिइएको कमिटीले जनाएको छ । प्रजातन्त्रको पूर्वसर्त र शान्तिका लागि अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भएको र त्यसको रक्षाका लागि रेसा र मुरातोभले उल्लेख्य भूमिका निर्वाह गरेको कमिटीले जनाएको छ ।

रेसा फिलिपिन्सको पेसिगबाट सञ्चालन भएको समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सीईओ हुन् । त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिणपूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन् । फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो । उनी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको खरो आलोचक हुन् । उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो । उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन् ।

त्यस्तै मुतारोभ रूसी अखबार नोभाया ग्याजेटाका प्रधान सम्पादक हुन् । उनले सन् १९९५ देखि २०१७ सम्म अखबारको सम्पादन गरेका थिए । नोभाया ग्याजेटालाई कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्सले 'आजको रूसमा एक मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्ने आलोचनात्मक अखबार' को संज्ञा दिएको छ ।

दिमित्री आन्द्रेभिच मुरातोभ रुसमा बढ्दो चुनौतीका बीच अभिव्यक्ति स्वतन्त्रताका लागि वर्षौँदेखि लडेका छन् । १९९३ मा रुसमा स्थापना भएको स्वतन्त्र पत्रिका नोभाजा गजेटका संस्थापकमध्ये उनी एक थिए । १९९५ देखि उक्त पत्रिकाको उनी प्रधान सम्पादक समेत रहँदैआएका छन् । १९९३ मा सुरु भएदेखि नै नोभाया ग्याजेटाले भ्रष्टाचार, प्रहरी हिंसा, गैरकानुनी गिरफ्तारी, चुनावी अनियमितताविरुद्ध थुप्रै आलोचनात्मक आलेख प्रकाशन गर्दैआएको छ ।

हालसम्म नोभाया ग्याजेटामा आवद्ध ६ पत्रकारको हत्या भइसकेको छ । तीमध्ये चेचन्या युद्धबारे नयाँ खुलासासहित आर्टिकल लेख्ने पत्रकार अन्ना पोलित्कोभ्सकाजा पनि एक हुन् । हत्या र धम्कीका बावजुद प्रधान सम्पादक मुरातोभले पत्रिकाको स्वतन्त्र नीति परिवर्तन गरेनन् ।

प्रकाशित : आश्विन २२, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?