काठमाडौँ — एमालेको नवौं महाधिवेशनमा कसलाई अध्यक्ष बनाउने भन्ने भूमिकामा वामदेव गौतम करिब ‘किङमेकर’ जस्तै थिए । उनले जसको पक्ष लियो, त्यो महाधिवेशनमा नेतृत्वमा आउन सक्थ्यो । त्यसैले गौतमको महत्व धेरै थियो । गौतमले केपी शर्मा ओलीको पक्ष लिए, ओलीले जिते । गौतम केही समय उनलाई बोकेर हिँडे । अहिले एमाले दसौं महाधिवेशनको तयारीमा छ । गौतम समेतले पारित गरेको नीतिका आधारमा एमालेले हालै विधान महाधिवेशन पनि सम्पन्न गरेको छ । तर यी दृश्यमा गौतम कहींकतै छैनन् । किनकि उनले आफ्नो कित्ता गत महिनानै क्लियर गर्दै पार्टी छोडेर हिँडे । न त उनी नेकपा (एकीकृत समाजवादी)मै गएका छन् ।
कुनै बेला पार्टी र राजकीय सत्ताका खेलहरूमा मुख्य भूमिकामा देखिने गौतम अहिले गुमनाम छन् । अध्यक्ष ओलीको कार्यशैलीमाथि गम्भीर असहमति जनाउँदै एमाले छाडेका गौतम दलविहीन छन् । एमालेमा गौतम उपाध्यक्ष थिए । एमालेबाट राजीनामा दिएपछि गौतम माधवकुमार नेपालको नेतृत्वको नेकपा (एस)मा जाने अनुमान गरिएको थियो । तर गौतमले नेकपा (एस)ले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गनिर्देशक सिद्धान्त नमानेको भन्दै त्यसमा सहभागी हुन हिच्किएका छन् ।
गौतमनिकट रहेका पूर्वमन्त्री हरि पराजुली गौतमको अधिकांश समय अहिले भेटघाट र लेखपढमा बित्ने गरेको बताउँछन् । ‘अहिले केही गर्नु भएको छैन । घरमै बस्नु भएको छ लेखपढ गर्नुहुन्छ’, पराजुलीले भने ।
राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका गौतमनिकट नेताहरू अहिले छिन्नभिन्न भइसकेका छन् । पराजुली आफैं पनि नेकपा (एस)तर्फ लागेका छन् । गौतमनिकट रहेका केशवलाल श्रेष्ठ नेकपा (एस)का उपाध्यक्ष भएका छन् भने बलराम बाँस्कोटा, सावित्रा भुसालहरू केन्द्रीय सदस्य बनेका छन् । त्यसैगरी यमलाल कँडेल, किरण गुरुङहरु एमालेमै छन् ।
‘गौतमको अवस्था अहिले रामचन्द्र बनवास जाँदाको जस्तो भएको छ । आधा दायाँ र आधा बायाँबाट जाउभन्दा रामचन्द्र एक्लै बनेका थिए’, एमालेका स्थायी कमिटी सदस्यले भने, ‘राजनीतिमा पनि गौतमको अवस्थामा त्यस्तै छ । आधा एमालेमा छन् र बाँकी नेकपा (एस)तर्फ लागेका छन् ।’
अस्थिरताले खस्केको साख
२०७४ सालको आम निर्वाचमा बर्दिया १ बाट पराजित भएपछि राजनीतिक रुपमा अप्ठेरोमा परेका गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादमा खेलेको भूमिकाले उनको साख समाप्त पारेको थियो ।
ढुलमुले चरित्रले गौतमको हक्की स्वभाव र आफूलाई लागेको कुरामा दृढतापूर्वक लाग्ने छविलाई धुमिल बनायो । नेकपा अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध सबैभन्दा पहिलो लिखित दस्तावेज ल्याउँदै एक पद छाड्नु पर्ने प्रस्ताव गरे । गौतमले पार्टीभित्रको अन्तरसंघर्ष उत्कर्ष पुगेको समयमा निरन्तर गुट फेरबदल गरिरहे ।
प्रधानमन्त्री बन्ने गौतमको उत्कण्ठालाई नेकपाका शीर्ष नेताहरूले आफ्नो पक्षमा पार्न सक्दो उपयोग गरे । नेकपाको ९ सदस्यीय शक्तिशाली सचिवालयमा गौतम जता लाग्थे, त्यतै बहुमत पुग्ने अवस्था थियो । संविधानमै प्रतिनिधिसभा सदस्यले मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था भएको कारण गौतमले आफू निकट सांसदलाई राजीनामा गराएर उपनिर्वाचिनमार्फत प्रतिनिधिसभामा आउन कोसिस गरे । डोल्पा, बाँके, पाल्पा, कास्की हुँदै काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदलाई राजीनामा दिएर गौतम उपनिर्वाचनमार्फत चुनिन खोजेका थिए ।
गौतमले भने स्थानीय चुनावको समयमा विपक्षी दल कांग्रेसभन्दा निकै ठूलो मतान्तर रहेको बर्दियाको चुनावमा साढे ७ सय मतान्तरमा भएको हारलाई आफ्नो पराजय नभई अन्तरघात भएको बताउने गरेका थिए । तत्कालीन एमालेको शीर्ष नेतृत्वबाट आफूलाई हराउन प्रयास भएको भन्दै गौतमले पटक-पटक छानबिनको माग गरेका थिए । गौतमको माग कहिले पनि पूरा भएन ।
उपनिर्वाचनबाट पनि सुरक्षित हुने नदेखेपछि गौतम राष्ट्रिय सभा सांसद बन्ने र संविधान संशोधन गराएर प्रधानमन्त्री हुने जुक्तिमा लागेका थिए । ती सबै प्रयासमा सफल हुन सकेनन् । गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने विज्ञ र समाजका प्रतिष्ठित व्यक्तिहरूका लागि छुट्याएको कोटाबाट राष्ट्रिय सभाका सांसद बने । तर तत्कालीन नेकपाभित्र गौतमको मनोनयनको विषय पनि निकै विवादमा परेको थियो । यो विषय सर्वोच्च अदालतसम्म पुग्यो र त्यो अहिले विचाराधीन छ ।
लामो समय राजनीतिक सहकार्य गरेका नेकपा (माले)का महासचिव सिपी मैनालीले अस्थिर चरित्रले गौतम अहिलेको अवस्थामा आइपुगेको बताउँछन् । ‘गौतम अस्थिर हुन्, सत्ताका र स्रोत साधनका लोभी हुन्, यो कमजोरी हो’, गौतमसँग २०३४ सालदेखि संगत गरेका मैनालीले भने, ‘मार्क्सवादको गहिरो जानकारी छैन । सतही प्रकारको जानकारी छ । अहिले सबै कुरा सत्ता हो भनेर हिँड्नु भएको छ । जता फाइदा हुन्छ उतै जानुहुन्छ ।’
मैनालीकाअनुसार स्पष्ट भिजन नभएको र सत्ता नै सबै हो भनेर लाग्ने गरेका कारण गौतमलाई अरुले सहजै ठग्छन् । ‘निश्चित भिजन छैन । त्यसैले यता जाँउ कि उता जाँउ भन्ने परिरहन्छ । ‘ट्रायल एन्ड इरर’को अभ्यासमा जाँदा उनलाई कसैले पनि नपत्याउने अवस्थामा पुर्यायो’, मैनालीले भने ।
मैनालीकाअनुसार गौतम मनमा लागेको कुरा खुल्ला रुपमा राख्छन् । ‘नराम्रो लागेको छ भने पनि खत्तमै पारेर छाड्ने हुन् । अरुलाई नराम्रो लागेको तर उनलाई लागेको छ भने त्यसलाई पनि पूर्णरुपमा बोकेर हिFड्छन्’, मैनालीले भने, ‘विश्वास गलत होस वा सही उनलाई लागेपछि त्यसलाई अन्तिम समयसम्म बोक्छन् ।’
महाकाली सन्धिको विषयमा एमालेमा मतभेद चुलिएपछि गौतम र मैनालीले एमाले विभाजन गर्दै माले गठन गरेका थिए । २०५६ सालको आमनिर्वाचनमा मालेले एक सिट पनि जित्न नसकेपछि गौतम आफू निकटका नेताहरू साथमा लिएर २०५८ सालमा एमालेका फर्किए । तर मैनाली भने मालेकै नेतृत्व गरिरहेका छन् ।
–––
अध्यक्ष केपी शर्मा ओलीले सञ्चालन गरेको सरकारको सबैभन्दा पहिले गौतमले आलोचना गर्दै लिखित प्रस्ताव ल्याएका थिए । तर गौतम त्यसमा अडिन सकेनन् । नेकपाभित्र रहँदा गौतम कहिले ओली र कहिले पुष्पकमल दाहाल र माधवकुमार नेपालको खेमामा यताउता गरिरहे । संवैधानिक रुपमा असम्भव नै रहेको राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था मिलाउन उनी लामो समय कोसिसमा रहे । विवाद चर्किंदै गएको समयमा प्रधानमन्त्री ओलीको प्रधानमन्त्री बनाइदिने आश्वासनलाई सहज रुपमा विश्वास गरे । सचिवालयका बहुमत सदस्यहरूको समर्थन भन्दै गत कात्तिकमा दाहालले ओलीमाथि लगाएको आरोप पत्रमा गौतमको पनि समर्थन थियो । तर पछि अन्तरसंघर्ष चर्किएपछि गौतम दाहालको पक्षमा पनि खुलेनन् । नेकपा एकीकरण गर्ने भन्दै राष्ट्रिय अभियान घोषणा गरे । घोषणापत्र जारी गरेर कमिटी निर्माणमा जुटे । तर त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न सकेन । नेकपापछि एमाले पनि विभाजन भयो गौतमको उद्देश्य पनि फेरियो । पछि उनले एमाले एक बनाउने घोषणा गरे । तर अहिले त्यो अभियान छिन्नभिन्न मात्र भएन उनी आफैंले पार्टी छोडेर अहिले गुप्तवासमा छन् ।
उनीनिकट स्रोतका अनुसार छोरा हरिश गौतम नेकपा (एस)मा लाग्नु पर्ने पक्षमा छन् । पत्नि तुलसा थापा भने एमाले छाड्न नहुने पक्षमा छन् । किनकि एमाले छोड्दा थापाको पद जान्छ । अहिले पनि उनी प्रतिनिधिसभामा एमाले सांसद हुन् ।
पछिल्लो समय ओलीलाई शक्तिशाली बनाउने प्रस्ताव आएपछि गौतम स्थायी कमिटीको बैठक छाडेर हिँडे । अध्यक्ष ओलीको कार्यशैलीको स्वेच्छाचारी भएको आरोप लगाउँदै राजीनामा दिए । त्यसपछि सार्वजनिक कार्यक्रममा नदेखिएका उनले भेट्न आउने नेताहरुलाई नयाँ दल खोल्ने बताउने गरेका छन् । ‘अभियान अहिले छिन्नभिन्न अवस्थामा छ । गौतमले एमालेमा ओलीको कारण बस्न नसक्ने र नेकपा (एस)मा नजाने बताउनु भएको थियो’, अभियानको केन्द्रीय सदस्य रहेकी इन्दिरा पन्तले भनिन्, ‘पछिल्लो भेटमा आफैं दल खोल्ने बताउनु भएको थियो ।’ अहिले गौतमका लागि फेरि एमाले फर्केर नेता बन्न ७० वर्षको छेकबार लागिसकेको छ । नेकपा (एस)मा जान उनले भन्दै आएको 'जबज' पार्टीले मान्ने हो कि होइन भन्ने अन्योल छ । त्यसैले गौतम अहिले चुपचाप बसेका छन् ।
