एमालेको विधान महाधिवेशन आजदेखि

आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने कार्यदिशा

‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्ने, पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय लिने
माओवादी र एकीकृत समाजवादीविरुद्ध वैचारिक रणनीति तय गर्ने, सरकारको नेतृत्व गरेको कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने
बबिता शर्मा

काठमाडौँ — नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि एमालेले सबैभन्दा ठूलो अधिवेशन गर्दै छ । ललितपुरको गोदावरीस्थित ‘सनराइज हल’ मा शुक्रबारबाट हुने पहिलो विधान महाधिवेशनले ‘समाजवादको आधार निर्माण’ गर्ने मुख्य कार्यदिशा तय गर्नुका साथै पार्टीको विधान र सांगठनिक संरचनाबारे निर्णय गर्नेछ ।

आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने कार्यदिशा

यो महाधिवेशनले मुख्य गरी माओवादी र एकीकृत समाजवादी पार्टीविरुद्ध वैचारिक रणनीति तय गर्नेछ भने हाल सरकारको नेतृत्व गरेको कांग्रेसलाई आगामी निर्वाचनमा चुनौती दिने ‘कार्यभार’ निर्माण गर्ने एमालेले जनाएको छ । ‘पार्टीलाई वैचारिक रूपले सुस्पष्ट, संगठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ रूपमा आबद्ध मुलुकको बहुमत प्राप्त पहिलो शक्ति बनाउने,’ अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख छ, ‘वर्तमान गठबन्धनको अवरसवादी, स्वार्थी र राजनीतिक अस्थिरता सिर्जना गर्ने चरित्रका बारेमा जनतालाई स्पष्ट गर्ने । गठबन्धन सरकारबाट गरिने जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापको सशक्त भण्डाफोर र विरोध गर्ने ।’ प्रतिपक्षका रूपमा पार्टीको भूमिकालाई सशक्त, सिर्जनात्मक र प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध गर्दै आएको एमालेले विधान महाधिवेशनबाट देशव्यापी रूपमा राजनीतिक तरंग दिन खोजेको छ । कम्युनिस्ट नाम भएका माओवादी र एकीकृत समाजवादीप्रति लक्षित मुख्य नारा पनि महाधिवेशनले निर्धारण गरेको छ । ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,’ एमालेले आगामी कार्यदिशाबारे भनेको छ, ‘जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ।’

महाधिवेशनमा देशैभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । अध्यक्ष ओलीको राजनीतिक, महासचिव ईश्वर पोखरेलको संगठनात्मक र संगठन विभागको तर्फबाट उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । यसअघि यी तीनैवटा दस्ताबेज स्थायी कमिटी, केन्द्रीय कमिटी र पुन: स्थायी कमिटीबाट अनुमोदन भइसकेका छन् । विधान महाधिवेशनमार्फत पार्टी संगठनलाई पुन:संगठित गर्ने र कार्यकर्ताको मनोबल उठाउने एमालेले जनाएको छ ।

एमाले नेताहरूले विधान महाधिवेशन पार्टीको आन्तरिक जीवनका लागि कोसेढुंगा सावित हुने दाबी गरेका छन् । माधवकुमार नेपालले पार्टी विभाजन गरी आफ्नो नेतृत्वमा एकीकृत समाजवादी गठन गरेपछि त्यसले पुर्‍याएको क्षतिलाई विधान महाधिवेशनको बलमा पूर्ति गर्ने र लगत्तै मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने एमालेको योजना छ ।

ओलीको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन, संसद् विघटनदेखि पार्टी विभाजनसम्मको अवस्था, आफ्नो नेतृत्वको सरकारको कामको समीक्षासहित चुनावसम्मका लागि पार्टीको योजना उल्लेख छ । महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनमा पार्टी विभाजनपछि संगठन र अबको संगठनात्मक अवस्थाबारे उल्लेख छ । यसबाहेक विधान संशोधन प्रस्तावमा एमालेले दसौं महाधिवेशनको नेतृत्वको ढाँचा तय गरेको छ ।

तीन दिन चल्ने विधान महाधिवेशनमा तीनवटै प्रस्तावमा समूहगत छलफल गर्ने र उनीहरूको सुझावसमेत समेटेर पारित गर्ने एमालेको तयारी छ । यी प्रस्ताव पारित भएसँगै पार्टीलाई नयाँ गतिमा अगाडि बढाउन मद्दत पुग्ने र आगामी चुनावमा बहुमत हासिल गर्ने विश्वास एमाले नेताहरूले लिएका छन् ।

महाधिवेशनको व्यवस्थापनका लागि केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको समिति गठन गरेको थियो । सोही समितिले बिहीबार पत्रकार भेटघाटमार्फत महाधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिएको हो । व्यवस्थापन समितिका संयोजक थापाका अनुसार पहिलो दिन अध्यक्षको मन्तव्यसहित तीनवटा प्रस्ताव पेस हुनेछन् । दोस्रो दिन असोज १६ मा समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति हुनेछ । तेस्रो दिन असोज १७ मा दस्ताबेज पेस गर्ने, अध्यक्ष ओली, महासचिव पोखरेल र उपमहासचिव पौडेलले समूह छलफलबाट आएका सुझाव र उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गर्ने तयारी छ ।

महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघ/संगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने संयोजक थापाले जानकारी दिए । एमालेले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताएको छ ।

थापाका अनुसार मुख्य सभाहलको मञ्चमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरू बस्नेछन् । सोही हलमा ३ हजार प्रतिनिधि, हलको दायाँबायाँको खाली हलमा १/१ हजार प्रतिनिधिका लागि बस्ने व्यवस्था गरिएको छ । त्यसबाहेक हलको दायाँबायाँका प्यासेजहरूको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १/१ हजार क्षमताका हल निर्माण गरिएको छ । थापाका अनुसार सबै गरेर ७ हजार क्षमताका हल तयार गरिएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरूका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको संयोजक थापाले बताए । उनका अनुसार खानाको व्यवस्थापनका लागि क्याटरिङलाई जिम्मा दिइएको छ । महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ देखि ११ बजेसम्म खानाको समय छुट्याइएको छ भने दिउँसोका लागि प्याकेटको खाजा व्यवस्था गरिएको छ । प्रतिनिधिहरूले साँझको खाना भने बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने भएका छन् । उनीहरूको आवासको व्यवस्था काठमाडौंमा रहेका प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरूको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीहरूले गर्ने भएका छन् । निजी साधन नभएका प्रतिनिधिलाई गोदावरी पुर्‍याउन ललितपुरको सातदोबाटोबाट २० वटा हायसको व्यवस्था गरिएको व्यवस्थापन समितिका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने र नगराउने’ भनेर आदेश जारी गरेको थियो । उक्त आदेशलाई व्यवस्थापन समितिका संयोजक थापाले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाए । ‘एक महिनाअघिदेखि महाधिवेशनबारे सम्बन्धित निकायलाई जानकारी गराएका थियौं तर बिहीबार जारी गरिएको आदेश राजनीतिक रूपमा प्रेरित छ,’ उनले पत्रकारसँग भने ।

थापाले गरे जबजको व्याख्या

स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीेको वैचारिक लाइन ‘जनताको बहुदलीय जनवाद’ अब सिद्धान्त भइसकेको बताएका छन् । पार्टीभित्र यस विषयमा अझै सिद्धान्त कि कार्यक्रम भन्ने बहस भइरहेका बेला माओवादी धारबाट एमालेमा जोडिएका नेता थापाले मदन भण्डारीको परिकल्पनामा आएको यो विचार अब व्यवहारले सिद्धान्त भइसकेको बताए । ‘मदन भण्डारीको परिकल्पना थियो जबज, जनवादी क्रान्ति सम्पन्न भएपछि त्यो व्यवहारले नै सिद्धान्त थियो भन्ने पुष्टि भयो,’ उनले प्रथम विधान महाधिवेशन मूल व्यवस्थापन कमिटीका तर्फबाट बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विषयमा पार्टीभित्र मदनवाद विचारधारा भनेर जाने कि भन्ने पनि छ । कसैले यो कार्यक्रम मात्र हो भन्ने पनि छ ।’

उनले जबजलाई अब नयाँ ढंगले थप संश्लेषण गर्दै अघि बढ्नुपर्ने पनि बताए । एमालेभित्रकै घनश्याम भुसाललगायतका नेताले पार्टीको वैचारिक धारको राम्ररी समीक्षा नगरेको भन्दै आलोचनात्मक धारणा राखिरहेका बेला माओवादी धारबाट एमालेमा आएका नेता थापाले यसको राम्रो बचाउ गरेका छन् । विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक प्रतिवेदनले पार्टीको वैचारिक विषय निरूपण गरेको उनको धारणा छ । ‘जनवादी क्रान्तिपछि पनि के हुने भन्ने कुरा जबजले भनेको छ’, थापाले भने, ‘एउटा सामन्तवादको अवशेषको अन्त्य, अर्को राष्ट्रिय पुँजीको निर्माण र समाजवादी संक्रमणकालीन योजना छ । यो विषय महाधिवेशनको प्रतिवेदनमा पनि आएको छ । यो सान्दर्भिक छ र वैचारिक रूपमा पनि निरूपण गरेको छ’, उनले भने ।


प्रकाशित : आश्विन १५, २०७८ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?