कारबाही प्रक्रियामा रहेका उपकुलपति गिरीलाई स्वास्थ्य मन्त्रालयको अर्को पत्र

आश्विन १४, २०७८

प्रदीप मेन्याङ्बो

सुनसरी — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई दीर्घकालीन असर पर्नेगरी प्रतिष्ठानका कर्मचारी, प्राध्यापकहरूलाई स्पष्टिकरण सोध्ने कार्य नगर्न निर्देशन दिएको छ ।

 प्रतिष्ठानमा केही दिनअघि सम्पन्न एक कार्यक्रममा सिनेट सदस्य समेत रहेका प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिन विभागका प्राडा पारसकुमार पोखरेललाई कार्यक्रमको नेतृत्व गरेको भन्दै उपकुलपति गिरीले स्पष्टिकरण सोधेपछि मन्त्रालयले पत्र लेखेको हो । मन्त्रालयले प्रतिष्ठानमा भएका विभिन्न समस्या र भ्रष्टाचारको विषयमा छानबिनको प्रक्रिया चलिरहेकाले प्राध्यापकहरुलाई स्पष्टिकरण पत्र नलेख्न निर्देशन दिएको हो ।

गत भदौ १७ गते मन्त्रालयमा बसेको बैठक अनुसार सञ्चालक परिषद्को बैठकबाट निर्णय नभएसम्मका लागि दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना  हुने आर्थिक कार्य बाहेक प्रतिष्ठानलाई थप आर्थिक दायित्व सिर्जना हुने अन्य कार्य नगर्न भनेर उपकुलपति गिरीलाई निर्देशन दिएको थियो । तर, असोज ११ गते प्राडा पोखरेललाई उगिरीले प्रतिष्ठान ऐन विपरित कार्य गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न निर्देशन दिएका थिए । 

प्रतिष्ठानको वार्षिक समारोहमा प्राडा पोखरेलले राम्रा मान्छेहरुलाई प्रतिष्ठानमा ल्याउन वर्तमान पदाधिकारीको बर्हिगमन उचित भएको र प्रतिष्ठानमा भएको आन्दोलन कुनै नेतृत्वको लागि नभएको बताएका थिए । उनले सरकारले गठन गरेको समस्या पहिचान छानबिन कार्यदलको प्रतिवेदन, सरकारले आन्दोलनरत पक्षसँग गरेको ६ बुँदे सहमतिमा पदाधिकारी निलम्बनका लागि २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरेर दिँदा आफूले समेत सिनेट बोलाउन हस्ताक्षर गरेको बताएका थिए । 

प्रदीप

Link copied successfully