१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आफैं भीडभाड नगर्न आदेश जारी गरेर सभा-सम्मेलनमा सुरक्षा दिन्छ प्रशासन

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार दिउँसो १२ बजेदेखि लागू हुने गरी जारी गरेको आदेशमा भनिएको छ, ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुादा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ।’

आफैं भीडभाड नगर्न आदेश जारी गरेर सभा-सम्मेलनमा सुरक्षा दिन्छ प्रशासन

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संक्रामक रोग ऐन, ०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, ०२८ को दफा ६ को उपदफा ३ बेमाजिम कोभिड–१९ रोकथाम तथा न्युनिकरणका लागि ११ बुँदे आदेश जारी गरेका छन् । तर, यो आदेश देखावटी मात्रै हो, यथार्थमा काठमाडौंमा भीडभाड हुने कार्यक्रम, सभा र सम्मेलन नभएको दिन नै छैन । सबैजसो प्रमुख राजनीतिक दलहरुले दिनैपिच्छे कार्यक्रम गरिरहेका छन् । सत्तारुढ दलकै आयोजनामा ठूलठूला सभा र सम्मेलन हुँदैछन् । जहाँ आदेश जारी गर्ने प्रशासन आफै खडा भएर सुरक्षा दिइरहेको छ ।

त्यसो त प्रशासनको यो आदेश नयाँ पनि होइन, यसअघि कोरोना महामारीका कारण भएको बन्दाबन्दीपछि प्रशासनको यो आदेश निरन्तर छ । तर, सर्वसाधारण नागरिकका लागि निरन्तर आदेश जारी गर्ने प्रशासनले राजनीतिक दलका सभा सम्मेलनमा भने कुनै अवरोध गर्दैन । न त त्यो आदेशले राजनीतिक दललाई नै फरक पार्छ । दलले चाहेका ठाउँमा चाहे जसरी सभा सम्मेलन गरिरहेका छन् । आफ्नै आदेश कार्यान्वयनमा प्रशासन निरीह बनिरहेको छ ।

सत्तारुढ नेपाली कांग्रेस भीडभाड गरेरै १४ औँ महाधिवेशन गर्दैछ । ६७४३ वडाबाट सुरू भएको त्यो लहर अब स्थानीय तहमा आइपुगेको छ । कतिपय जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रसम्म पुगेको छ । काठमाडौंका १० वटै नगरपालिकामा कांग्रेसलाई महाधिवेशनको चटारो छ । नेताहरु कोरोना महामारी नियन्त्रणमा भन्दा पनि महाधिवेशनबाट नेतृत्व हत्याउने दाउमा कार्यकर्ता भेला गर्दै, भेटघाट र कार्यक्रम गर्दै देश दौडाहामा छन् । कांग्रेसकै आयोजनामा दैनिकजसो दर्जनौँ सभा सम्मेलन भइरहेका छन् ।

नेकपा विभाजनपछि आफ्नै पार्टीको संगठन विस्तारमा लागेको नेकपा माओवादी केन्द्रले पनि दैनिकजसो त्यस्तै कार्यक्रम गरिरहेको छ । काठमाडौंमै बिहीबारदेखि माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको तीन दिने राष्ट्रिय सम्मेलन सुरू भएको छ, जहाँ भीडभाडकै बीच अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दैछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि दिनहुँ यस्तै कार्यक्रम गरिरहेको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन नै गर्दैछ, जहाँ एकैसाथ देशभरिबाट आएका पाँच हजार प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको व्यवस्थापनले हुने भीडभाड साता अघिदेखि चलेकै छ ।

काठमाडौं प्रशासनले हरेक दुई साताको अन्तरमा निषेधाज्ञा जारी गर्दै आएको छ । ललितपुरमा पनि प्रशासनले त्यसैगरी आदेश जारी गरिरहेको छ । प्रशासनको आदेशले दलका ठूला सभा सम्मेलन र कार्यक्रम रोकिएका छैनन् । तर, सर्वसाधारण जनता, व्यापारी र व्यवसायीलाई भने त्यो आदेश कडाइका साथ लागू भएको छ । जसकारण उनीहरु मारमा छन् ।

प्रशासनकै आदेशका कारण होटल, रेस्टुरेण्ट र पार्टी प्यालेसहरुले अन्य व्यावसायिक प्रयोजनका कार्यक्रम र गोष्ठीहरु आयोजनाका लागि हल उपलब्ध गराउन पाएका छैनन् । प्रशासनले विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म स्थानीय ढुवानी गर्न रोक लगाएको छ । सार्वजनिक निजी निर्माण कार्यका लागि निर्माण सामाग्री ढुवानी बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म मात्रै गर्न पाइन्छ ।

यस्तो छ बिहीबार जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेश

प्रकाशित : आश्विन १४, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?