२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

यो वर्ष किरण नेपाल आउन पाउने छैनन् : अध्यागमन विभाग 

कान्तिपुर संवाददाता

काठमाडौँ — 'भ्वाइस अफ नेपाल सिजन-३'का विजेता किरण गजमेर भिसा वर्ष, २०२१ को डिसेम्बरसम्म नेपाल आउन नपाउने भएका छन् । यो वर्षको पर्यटक भिसाको म्याद सकिएपछि गत सोमबार नेपाल आएका उनलाई अध्यागमन कार्यालयले त्रिभुवन विमानस्थलबाटै फर्काएको थियो । 

यो वर्ष किरण नेपाल आउन पाउने छैनन् : अध्यागमन विभाग 

'एक भिसा वर्षमा बस्न पाउने अवधि उहाँ बसिसक्नु भएको रहेछ । हामीले इन्ट्री दिँदा थप दिन सक्नु पर्‍यो, कानुनमा त्यो व्यवस्था छैन,' अध्यागमन कार्यलयका प्रवक्ता झंकनाथ ढकालले भने, 'उहाँ त नेपाली पनि हुनुहुँदो रहेनछ । कोभिडका कारण २ सय २० दिन उहाँ बसिसक्नु भएको रहेछ । भिसा वर्ष २०२१ मा पर्यटक भिसामा बस्न पाउने अवधि उहाँ बसिसक्नु भयो । भिसा वर्ष २०२१, डिसेम्बरसम्म उहाँ नेपाल आउन सक्नुहुन्न ।'

अध्यागमन विभागका अनुसार एक भिसा वर्षमा १ सय ५० दिनमात्र बस्न पाइन्छ । 'हाम्रै कलाकार पनि कुनै देश जानुभयो भने त्यताको अध्यागमनले तोकेको अवधि नै बस्न पाइयो । धेरै बसियो भने जरिवाना लाग्छ,' ढकालले थपे ।

झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् गजमेर । हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिएका थिए । 'मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,' किरणले भनेका थिए । नेपाली नभएकै कारण उनलाई नेपाल प्रवेशमा रोक लगाइयो ।

प्रकाशित : आश्विन १३, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?