सामाजिक सञ्जालमा ‘प्राइभेट ग्रुप’ खोलेर अश्लील सामाग्रीको लेनदेन

मातृका दाहाल

काठमाडौँ — भिडियोलगायतका सन्देश आदानप्रदान गर्न मिल्ने विभिन्न सामाजिक सञ्जालमा ‘प्राइभेट ग्रुप’ खोलेर नेपालमा अश्लील सामाग्रीको मोलमोलाइ र लेनदेन हुने गरेको पाइएको छ । तर, यस्ता सामाग्रीको कारोबार रोक्न प्रहरीलाई भने कानुनी अड्चन छ । जसले गर्दा सामाजिक विकृति फैलने जोखिम समेत बढेको छ ।

सामाजिक सञ्जालमा ‘प्राइभेट ग्रुप’ खोलेर अश्लील सामाग्रीको लेनदेन

अश्लील सामाग्रीजन्य वेबसाइट बन्द गरी सामाजिक विकृति रोक्न सरकारले २०७५ असोजबाट सक्रियता बढाएको थियो । त्यसयता यस्ता अश्लील सामाग्रीजन्य करिब २५ हजार बेभसाइट बन्द गरिसकेको छ ।

तर, पछिल्ला दिनमा टेलीग्राम, ट्याङगो, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका प्राइभेट मेसेज ग्रुपमा हजारौं मानिस अश्लील सामाग्रीको मोलमोलाइमा लागेको देखिन्छ । प्रहरीले अनुसन्धान गरिरहेका प्राइभेट ग्रुपका गतिविधि केलाउने हो भने ग्रुपमा आबद्ध व्यक्तिले शारीरिक सम्पर्क गर्नेदेखि नग्न तस्बिर प्रदर्शन गर्नेसम्मका कार्य निश्चित रकम तोकेरै हुने गरेको देखिन्छ ।

सामाग्री उपलब्ध गराउने प्रयोगकर्ताले तोकेको रकम अनलाइन माध्यमबाट भुक्तानी भएपछि अश्लील गतिविधि सुरु हुने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘अश्लील तस्बिर खिचेर पोस्ट गर्ने वा लाइभ देखाउने वा तोकिएको स्थानमा पुगेर भुक्तानी गरेको रकमअनुसार महिला–पुरुषबीच यौन क्रियाकलाप हुने गरेको पाइएको छ । यो सबै अनालइनबाट रकम भुक्तानी भइसकेपछि हुने गरेको पनि देखिन्छ,’ ती अधिकारीले भने ।

अश्लील सामाग्रीको कारोबार गर्नकै लागि अश्लील वार्तालाप, नग्न तस्बिर प्रदर्शन र त्यसपछि रकम भुक्तानी गर्नेसँग व्यक्तिगत रुपमा कुराकानी गरेर थप यौनजन्य क्रियाकलाप गर्नलाई मोलमोलाइ हुने गरेको उनले दाबी गरे ।

नग्न तस्बिरसहित एक महिलाको नाम उल्लेख गरिएको एउटा इन्स्टाग्रामको अकाउन्टबाट अर्को व्यक्तिलाई ग्रुप म्यासेजमा मेन्सन गरेर पठाइएको छ, ‘तपाईंका केही भिडियो पाएँ, मसँग भएका भिडियो किन्ने हो भने मलाई डाइरेक्ट म्यासेज पठाउनुहोस ।’ यस्ता अन्य प्राइभेट ग्रुपमा पनि अश्लील भिडियो आदानप्रदान गर्न यही तरिका अपनाइने गरेको अनुसन्धानमा देखिन्छ ।

अनुसन्धानको दायरामा परेको एउटा केसमा टेलिग्राम एपमार्फत करिब १० हजार मानिसबीच अश्लील सामाग्रीको मोलमोलाइ भइरहेको पाइएको छ । प्रहरीले त्यस ग्रुपमा नेपालीका साथै विदेशी नागरिकहरु पनि अश्लील सामाग्री कारोबार तथा आदानप्रदानमा जोडिएको बताउँछ ।

यस्तै, अनुसन्धानमा परेको अर्को एउटा केस भने इन्स्टाग्रामको प्राइभेट ग्रुपसँग सम्बन्धित छ । त्यसमा अश्लील तस्बिर र भिडियोका क्लिप राखेर मोलमोलाइ गर्ने गरिएको देखिन्छ । साथै, अर्को केस भने ट्याङगो एपको प्राइभेट ग्रुपसँग सम्बन्धित छ । यसमा त खुलमखुला नै अश्लील सामाग्रीजन्य भिडियो र तस्बिर राखेको देखिन्छ ।

वेबसाइटमार्फत् अश्लील सामाग्रीको कारोबार र प्रचारप्रसार रोक्न सरकारले २०७५ असोजमा निर्णय गरेको थियो । त्यसयता नेपाल प्रहरीको समेत सहयोगमा नेपाल दूरसञ्चार प्राधिकरणले अश्लील वेबसाइट बन्द गर्दै आएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा १९ देखि २३ सम्म कानुनले वर्जित गरेका यौनजन्य गतिविधि गर्न रोक लगाएको छ । यी ५ वटा दफामा वेश्यावृत्ति, अश्लील सामाग्रीको कारोबार, प्रचारप्रसार, लेनदेन, सार्वजनिक स्थलमा शारिरीक सम्पर्कलगायत गतिविधि गर्न नपाइने उल्लेख छ । विद्युतीय माध्यमबाट अश्लील सामाग्रीको कारोबार गर्न नपाइने व्यवस्था दफा १ सय २१ मा छ । संहिताको दफा १२१ (क) मा भनिएको छ, ‘शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचारप्रसार पाइने छैन ।’

संहिता अनुसार त्यस्ता अश्लील गतिविधिमा संलग्न भएको पाइएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।

यस्तै, विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ ले पनि विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन/प्रदर्शन गर्न रोक लगाएको छ । यो दफाविरुद्धको कसुर गरेमा १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । तर, महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङ विभिन्न स्वरुपमा सन्देश आदानप्रदान गर्न मिल्ने सामाजिक सञ्जालमा प्राइभेट ग्रुप खोलेर अश्लील सामाग्रीको मोलमोलाइ, लेनदेन र प्रदर्शन गर्ने संगठित समूह सक्रिय रहेपनि कुन कानुन टेकेर कारबाहीको दायरामा ल्याउने भन्ने समस्या रहेको बताउँछन् ।

‘हामीसँग मुलुकी अपराध संहिता २०७४ को दफा १२१ र विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार यस्ता गतिविधि नियन्त्रण गर्ने कानुनी आधार छ, त्यसबाहेक अश्लील सामाग्रीबाट आफू पीडित भएको भनी कसैले उजुरी लिएर आएमा पनि अनुसन्धान गर्न सहज हुन्छ,’ एसएसपी खापुङले कान्तिपुरसँग भने, ‘तर, प्राइभेट ग्रुपमा प्रवेश गरेर अश्लील सामाग्रीको कारोबारमा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउँदा व्यक्तिको गोपनीयताको कुरा पनि उठ्न सक्छ । यसका लागि कानुनी रुपमा देखिएका जटिलता हटाउन जरुरी छ ।’

खापुङ एक वर्ष यता टेलिग्राम, ट्याङगो, इन्स्टाग्रामलगायतका सन्देश आदानप्रदान गर्न मिल्ने एप्समा प्राइभेट ग्रुप खोलेर अश्लील सामाग्रीको कारोबार, लेनदेन र मोलमोलाइ हुने गरेको र यसलाई प्रहरीले गम्भीर रुपमा लिएको बताउँछन् ।

दूरसञ्चार प्राधिकरणले अश्लील सामाग्री प्रचार र उत्पादन गर्ने वेबसाइटहरु बन्द गर्न ‘आईपी डोमेन नेम एण्ड डीएनएस रेस्पोन्सिबिलिटी सिस्टम’, ‘मोबाइल मनिटरिङ सिस्टम’लगायतका प्रविधि प्रयोगमा ल्याइसकेको छ । तैपनि गिरोहले नेपाल र विदेशबाट यस्ता सामाग्री उत्पादन र प्रचार गर्न छोडेका भने छैनन् । इन्स्टाग्राम, टेलिग्राम, ट्याङगोलगायतका सामाजिक सञ्जालको कार्यालय नेपालमा नहुँदा पनि अनुसन्धानका लागि कठिनाई भएको एसएसपी खापुङको दाबी छ ।

प्रकाशित : आश्विन ११, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?