१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
कांग्रेस अधिवेशन

पालिकाबाटै तीव्र प्रतिस्पर्धा

आइतबार साँझसम्म ३१४ स्थानीय तहको नतिजा आउँदा १६४ मा देउवा (सिटौलासहित) र १४३ मा पौडेल समूहका सभापति निर्वाचित, ७ जना खुल्न बाँकी
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच स्थानीय तहबाटै तीव्र प्रतिस्पर्धा देखिएको छ । शनिबार र आइतबार भएको स्थानीय तहको अधिवेशनमा दुवै समूह प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका थिए ।

पालिकाबाटै तीव्र प्रतिस्पर्धा

आइतबार साँझसम्म ३ सय १४ स्थानीय तहको नतिजा आएकामध्ये १ सय ६४ मा देउवा (केहीमा कृष्णप्रसाद सिटौलासहित) समूहका सभापति चुनिए भने १ सय ४३ पालिकामा पौडेल समूहका सभापति आएका छन् । सात स्थानीय तहमा कतै नखुलेका नेता सभापति बनेका छन् ।

केन्द्रीय निर्वाचन समितिले आइतबारसम्म ५४ जिल्लामा पालिका अधिवेशन भएको जनाएको छ । वडा अधिवेशन भएका ६४ जिल्लामध्ये १० जिल्लाको पालिका अधिवेशन भने हुन बाँकी छ । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए ।

‘कतै निर्वाचनमार्फत नेतृत्व चयन कार्य भइरहेको छ,’ उनले भने । आइतबार निर्वाचन भएको भक्तपुरका चार वटै नगरपालिकामा दुई वटै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । सूर्यविनायक र चाँगुनारायणमा देउवा समूह तथा मध्यपुर र भक्तपुरमा पौडेल समूहले नगर सभापति जितेका छन् ।

देउवा र पौडेल समूहको आ–आफ्नो प्रदेशमा वर्चस्व देखिएको छ । सुदूरपश्चिममा निर्वाचन सम्पन्न भएका ६५ पालिकामध्ये करिब ५० पालिकामा देउवा समूह र १५ पालिकामा पौडेल समूहका सभापति निर्वाचित भएका छन् । सुदूरपश्चिम देउवाको गृहप्रदेश हो । पौडेलको गृहप्रदेश गण्डकीका ८५ स्थानीय तहमध्ये आइतबार साँझसम्म ६७ स्थानीय तहको नतिजा आएको छ । तीमध्ये ४० पालिकामा पौडेल र २३ पालिकामा देउवा समूहका उम्मेदवार सभापतिमा चुनिएका छन् । लुम्बिनी प्रदेशमा आइतबार साँझसम्म नतिजा आएका ७० स्थानीय तहमध्ये पौडेल समूहका ३३, देउवा समूहका २८, शशांक कोइराला समूहका ३ र तटस्थ ६ जना पालिका सभापति निर्वाचित भएका छन् । लुम्बिनीका बाँके, बर्दिया, गुल्मी र कपिलबस्तुमा पालिकास्तरीय अधिवेशन हुन सकेको छैन ।

कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ वटामा अधिवेशन सम्पन्न भएको छ । तीमध्ये ४४ स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको छ । अधिवेशन सम्पन्न भएका स्थानीय तहमा देउवा समूहका २८ र पौडेल समूहका २५ जना सभापति निर्वाचित भएका छन् । जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा कतै खुलेका छैनन् ।

डोल्पाका ८ र सुर्खेतका ९ गरी १७ स्थानीय तहमा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन सकेको छैन । आठ स्थानीय तहमा कतै सर्वसम्मतिको प्रयास भइरहेको छ भने कतै निर्वाचनको तयारी हुँदै छ । वाग्मती प्रदेशका काठमाडौं, ललितपुर र रसुवामा स्थानीय तहको अधिवेशन भएको छैन ।

अधिवेशन सम्पन्न भएका ६२ पालिकामध्ये ३५ मा देउवा (सिटौलाको समेत सहयोग) र २७ पौडेल समूहका पालिका सभापति निर्वाचित भएका छन् । प्रदेश २ मा क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशनसमेत हुन सकेको छैन । प्रदेश १ मा पालिका अधिवेशनको यकिन विवरण आएको छैन । सुदूरपश्चिममा देउवा समूहकै रमेश लेखक र एनपी साउदबीच प्रतिस्पर्धा भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा लेखक समूहका अच्युत कलौनीले साउद समूहका आशिष खत्रीलाई पराजित गरेका छन् । देउवाको वर्चस्व भए पनि कञ्चनपुरका ९ पालिकामध्ये ३ पालिकामा पौडेल समूहले सभापति जितेको छ । भक्तपुरमा समेत देउवा गुटभित्र विवाद हुँदा पौडेल समूहलाई फाइदा भएको छ । काभ्रेपाल्चोक र दोलखामा देउवा समूह र कृष्णप्रसाद सिटौला समूहबीच समीकरण भएको छ ।

पालिकाको नेतृत्व र केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोटमा क्षेत्रीय प्रतिनिधिले मतदान गर्छन् । त्यसैले पालिकाको निर्वाचन परिणामले धेरै हदसम्म केन्द्रीय महाधिवेशनलाई समेत संकेत गर्ने गर्छ । कांग्रेसबारे जानकार पत्रकार धर्मेन्द्र झा पालिकाको अधिवेशनपछि वास्तविक समीकरण निर्माण सुरु भएको बताउँछन् । ‘सम्पूर्ण रूपमा पालिकाको नतिजा आयो भने केन्द्रीय महाधिवेशनको परिणाम आकलन गर्न सकिन्छ,’ उनले भने, ‘त्यसैले पालिकाबाटै समीकरण बनेको देखिन्छ ।’ १३ औं महाधिवेशनसम्म स्थानीय निर्वाचनमा सबै क्रियाशील सदस्यले मतदान गर्थे । त्यसैले केन्द्रीय महाधिवेशनको अड्कल गर्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन पर्खनुपर्थ्यो ।

(प्रदेश ब्युरोहरूको सहयोगमा)

प्रकाशित : आश्विन ११, २०७८ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?