कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा (एस) : एक चौथाइ शक्ति लिएर विभाजन, एमालेभन्दा जम्बो संरचना 

बबिता शर्मा

काठमाडौँ — झण्डै एक चौथाइ हाराहारीको शक्ति लिएर विभाजित भएको नेकपा एकीकृत समाजवादीले एमालेकोभन्दा जम्बो पार्टी कमिटी बनाएको छ । जम्बो केन्द्रीय संरचना हुँदा पार्टीभित्रका गतिविधि सञ्चालन गर्नै समस्या परेको तत्कालीन नेकपाको निकट विगतलाई विर्सदैँ नेकपा (एस)ले भद्दा संरचना बनाएको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

नेकपा (एस) : एक चौथाइ शक्ति लिएर विभाजन, एमालेभन्दा जम्बो संरचना 

एकैपटक ठूलो संख्यामा केन्द्रीय कमिटीदेखि पदाधिकारीसम्म र पोलिटब्यूरोदेखि स्थायी कमिटीसम्म गठन गरेर नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई चुस्त होइन, बोझिलो बनाएका छन् ।

नेकपा(एस)ले २१ सदस्यीय पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी बनाएको छ । ७१ सदस्यीय पोलिटब्युरो, ७ सय १ सदस्यीय केन्द्रीय परिषद् गठनको पनि निर्णय लिएको छ । बैठकले प्रदेश इन्चार्जहरू पनि तोकेको छ । यस्तै, केन्द्रीय विभागहरू २५ सदस्यीय, सल्लाहकार समिति १५१ सदस्यीय बनाउने निर्णय गरेको छ । जेष्ठ कम्युनिष्ट मञ्च–१५१ सदस्यीय हुने र केन्द्र बाहेक सबै कमिटीमा दुई अध्यक्ष रहने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमाले विभाजन गरी साउन ९ मा नेपालको नेतृत्वमा नेकपा(एस) दर्ता भएको थियो । दर्तापछि बसेको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकले संगठनात्मक कमिटीको आकार र नेताहरूको जिम्मेवारी तोकेको हो ।

केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भएको अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा ‘पद, प्रतिष्ठा, निजी स्वार्थमा तल्लीन र परमुखापेक्षी होइन निःस्वार्थी, आत्मनिर्भर, जनसेवी, लोकतन्त्र र समाजवादप्रति समर्पित कार्यकर्तापंक्ति तयार गरिने’ उल्लेख छ ।

तर, सोही कमिटीको बिहीबार सकिएको बैठकले एमालेकोभन्दा ठूलो आकारको केन्द्रीय कमिटी बनाएको छ । जबकी एमाले विभाजन गरी नयाँ पार्टी बनाउँदा संगठनात्मक रुपमा नेपालले ठूलो हस्तक्षेप गर्न सकेका थिएनन् ।

जम्बो संरचना बनाएको नेकपा एसले कम्युनिष्ट पार्टीको पुनर्गठन र रूपान्तरणलाई आफ्नो सांगठनिक कार्यभार बनाएको छ । निकट भविष्यमै पार्टीको राष्ट्रिय सम्मेलन गरेर त्यस कार्यलाई अगाडि बढाइने तथा अहिले चालू रहेको पार्टी कमिटीहरूको गठन तथा पुनर्गठन कार्यलाई केही समयसम्म अभियानकै रूपमा चलाउने उसको योजना छ ।

कमिटीहरूको गठन–पुनर्गठन र पार्टी सदस्यता वितरण अभियान आधारभूत रूपमा सम्पन्न भइसकेपछि स्थानीय पार्टी कमिटीका अधिवेशन गर्ने तथा पार्टी सम्बद्ध जनवर्गीय संगठन, पेसागत संगठन, सामुदायिक संगठन र प्रवासी सगंठन निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउने नेकपा एसको संगठनात्मक योजना छ ।

तर, ठूला कमिटी र नेताहरूको व्यवस्थापनबारे एकीकृत समाजवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘नयाँ पार्टी छ । सबैलाई ऊर्जासहित काम गर्ने वातवरण बनाउँदा मात्र पार्टी संगठन विस्तारमा योगदान पुग्छ । चुनावी तयारी पनि गर्नुपर्ने छ । साथै कोही पनि एमालेमै नफर्किऊन भन्ने रणनीति पनि देखिन्छ ।’

एकीकृत समाजवादी पार्टीको जम्बो केन्द्रीय टीमलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कटाक्ष गरेका छन् । बिहीबार राजधानीमा आयोजित उपत्यका विशेष कमिटीको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘फुटेको होइन चोइटिएको चाँही एकीकृत । पदाधिकारी पार्टी भएछ । सात जनालाई उपाध्यक्ष चाहिएछ । मान्छे खोजेर केन्द्रीय निकाय र विभागमा राख्ने रे ।’

नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सबैलाई समेट्न खोज्दा कमिटी ठूलो भएको बताए । ‘लामो समयदेखि हाम्रा नेता कार्यकर्ताहरू वञ्चित भएका थिए, वञ्चितीकरणमा परेकालाई समेट्दा कमिटीहरू ठूला भए । योग्य मान्छेले ठाउँ पाएका छन् । समावेशीकरणको नियम र ठाउँ दिँदा ठूला भएका हुन् ।’

प्रकाशित : आश्विन ७, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?