देउवालाई पौडेल पक्षको प्रश्‍न - मन्त्रिपरिषद्‌मा हाम्रो समूहको भाग कति ? - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवालाई पौडेल पक्षको प्रश्‍न - मन्त्रिपरिषद्‌मा हाम्रो समूहको भाग कति ? 

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद् विस्तारमा सभापति एवम् प्रधानमन्त्री शेरबाहदुर देउवासँग असन्तुष्ट बनेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहले भागबारे प्रश्न उठाएको छ । 

देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर कांग्रेसका भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि बुधबार दिउँसो महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले आफ्नो समूहको सहभागिताका विषयमा प्रश्न उठाएको हो । ‘मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीसहित गृह, कानुन, स्वास्थ्य र परराष्ट्र मन्त्रालय कांग्रेसले लिइसक्यो । खास कांग्रेसले पाउने मन्त्रालयको संख्या कति हो ? त्यसमा हाम्रो समूहको भाग कति हो ? त्यही मुख्य प्रश्न हो,’ बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले भने ।

प्रधानमन्त्री देउवाले आफ्नोतर्फका सांसदहरुलाई व्यक्तिगत रुपमा चयन गरेर समेत मन्त्री बनाउने र खेलबाड गर्ने कोसिस गरेको भन्दै पौडेल समूहले एकताबद्ध भएर सामूहिक रुपमा भाग लिने विषयमा जोड दिनेसमेत निर्णय गरेको छ । ‘प्रधानमन्त्रीले हाम्रो समूहभित्र खेल्न मिल्दैन । हाम्रो समूहले पाउने कति हो ? त्यसमा हामी आफैंले समूहगत रुपमा मन्त्रीको नाम सिफारिस गर्ने र त्यसमा नेताहरुबीच एकताबद्ध भएर प्रस्तुत हुने निर्णय भएको छ,’ उनले भने ।

पौडेल समूहको बैठक सकिएपछि नेताहरु सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् ।

देउवाले मन्त्रिपरिषद् विस्तार र पार्टीको महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्

५८ वर्षपछि भेटिएको एउटा कविता पाण्डुलिपी

कान्तिपुर संवाददाता

काठमाडौँ — २०२१ सालमा २१ वर्षकै अल्लारे वयमा थिए— ध्रुवचन्द्र गौतम । त्रिचन्द्र क्याम्पसमा एमए तहका विद्यार्थी उनी एउटा चिनियाँ साइकलका भरमा सहरमा यताउता गरिरहन्थे ।कवि–लेखक बन्ने हुटहुटी लिएर कहिले कहिले ‘रुपरेखा’ साहित्यिक पत्रिका त कहिले भूपी–उत्तम कुँवरका मेहफिलहरूमा पुगिरहन्थे । त्यसअघि ध्रुवचन्द्रको ‘रुपरेखा’ पत्रिकामा ‘तटस्थता असफलता’ शीर्षकमा एउटा मात्रै कविता छापिएको थियो, उनको आख्यानकार वा कथाकारको परिचय कहींकतै थिएन ।

‘मैले त्यसैबेला थाहा पाएको थिएँ, जगदम्बा प्रकाशनले लेखकहरुको किताब छाप्ने गरेको छ । त्यसमा पनि कवि कुमार नेपालको ‘चर्केको पर्खाल’ नामको कविता संग्रह जगदम्बाबाटै छापिएको छ, त्यही थाहा पाएर म जगदम्बाका प्रमुख साहित्यकार कमल दीक्षितलाई भेट्न श्रीदरबार टोल गएको थिएँ,’ लेखक ध्रुवचन्द्र गौतम आजभन्दा ५८ वर्षअघिको क्षण सम्झिरहेका थिए—‘मैंले पनि त्यही उदाहरण सम्झिएर कतै मेरो कविता संग्रह पनि छापिएला कि भनेर ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ संग्रह दीक्षितज्यूलाई बुझाउन गएको थिएँ । तर, त्यो कहिल्यै छापिएन र, किन छापिएन भनेर सोध्ने आँट पनि कहिल्यै राखिँन ।’ ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ हस्तलिखित पाण्डुलिपीमा तत्कालीन प्रभावको शून्यबाददेखि अस्तित्ववाद दर्शन झल्कने झण्डै ४ दर्जन कविता छन् ।कवि बन्ने ध्रुवचन्द्रको हुटहुटी यसरी थान्को लागेपछि उनी आख्यानतिर तानिएका रहेछन् । पहिलोपटक २०२४ साल वैशाखमा ‘रुपरेखा’ पत्रिकामा गौतमको ‘अन्त्यपछि’ उपन्यास छापिएको थियो, त्यसपछि २०२८ सालमा पहिलोपटक पुस्तकाकार रुपमा ‘बालुवामाथि’ उपन्यास छापियो । अहिलेसम्म २ दर्जनभन्दा बढी उपन्यास लेख्ने आख्यानकार गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार पाएको थियो । गौतमका अधिकांस उपन्यास विश्वविद्यालय पाठ्यक्रममा छन् । ३ दशकअघि उनको ‘कट्टेल सरको चोटपटक’ उपन्यासमाथि बनेको ‘बासुदेव’ फिल्म अद्यपी चर्चामा रहन्छ ।

‘हाम्रा लागि पनि यो सुखद कुरा हो,’ मदन पुरस्कार पुस्तकालयका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितले मंगलबार आयोजित एक संक्षिप्त समारोहमाझ भने—‘आजभन्दा ५८ वर्षअघि लेखक गौतमले मेरा बुबा कमल दीक्षितलाई बुझाउनुभएको पाण्डुलिपी अझै पनि सुरक्षित भेटिएको र यो सहस्र कवि स्वयंमलाई बुझाउन पाउनुमा सुखद संयोग छ । यस संग्रहमा ‘लडिबुडिन्छ’ जस्ता मौलिक शब्दहरुको उपयोग भएको मैले पाएको छु, यसभित्र त्यो समयमा पनि कवि चेतनाको उच्चतम् प्रयोग र परख गरेको पाइन्छ ।’यतिका वर्षपछि भेटिएको दुर्लभ पाण्डुलिपी प्रकाशन गर्ने जमर्को सांग्रिला बुक्सले गरेको छ । ‘यसमा ऐतिहासिकता छ, हामीले चिनेको आख्यानकार ध्रुबचन्द्रको अल्लारे वयको कवि चेत र उर्जा यो संग्रहमा समेटिएको छ,’ प्रकाशक आन्विका गिरीले भनिन्—‘यो कृति कवि ध्रुवचन्द्रको आगामी पुस २ गते पर्ने जन्मदिनकै दिन बजारमा आउनेछ ।’ मदन पुरस्कार पुस्तकालयका तर्फबाट कविता पाण्डुलिपी कवि ध्रुवचन्द्रलाई हस्तान्तरण गरेलगत्तै कविले प्रकाशकलाई उक्त पाण्डुलिपी बुझाएका थिए ।‘मैले यही संस्थाबाट २०४० सालमा मदन पुरस्कार पाएको थिएँ, आज यतिका वर्षपछि मेरो सिर्जनाको पुर्नजन्म गराउने गरी फेरि हराएको पाण्डुलिपी पाएको छु, दुईपटक पुरस्कृत भएजस्तो महसुस भइरहेको छ,’ कवि ध्रुवचन्द्रले भने । प्रकाशनका लागि बुझाइएको ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ हस्तलिखित पाण्डुलिपीको दर्ता नम्बर ‘ह १९७’ पाइएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×