नाकामा सधैंको सास्ती- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकामा सधैंको सास्ती

मोहन बुढाऐर

धनगढी — बझाङको मस्टा–१ का दलबहादुर ओखेडाको सामानको ठूलो झोला भारतको पलिया बस स्टेसनमा रिक्सावालाले लुकाइदियो । गौरीफन्टा नाकामा मंगलबार भेटिएका ६० वर्षीय ओखेडाले त्यो झोला फिरौतीमा ६ सय भारु तिर्नुपरेको पीडा सुनाए । बैंग्लोरबाट फर्केका उनले  पलियाबाट गौरीफन्टाको बस समात्ने बेला रिक्सावालाले एउटा झोला लुकाइदिएको थियो । 

‘परदेशमा झगडा गर्न सकिएन,’ उनले भने, ‘झोलामा पुराना लुगाकपडा मात्रै भएको, खोजेर ल्याइदिए पैसा दिने भनेपछि रिक्सावाला आफैंले एकछिन खोजे जस्तो गरेर यो झोला हो भनेर ल्यायो तर त्यसको सट्टामा एक हजार भारु माग्न थाल्यो । अन्त्यमा ६ सय रुपैयाँ दिनुपर्‍यो ।’ पलिया धनगढीबाट १८ किलोमिटर दूरीमा रहेको सीमावर्ती बजार हो । धनगढीको त्रिनगर–गौरीफन्टा नाकाबाट आउजाउ स्टेसन पलिया नै हो । पलियासम्म भारतको बैंग्लोर, गुजरात, चेन्नई, मुम्बई, दिल्ली र पञ्जाबलगायत सबैजसो सहरसम्म सिधा बस सेवा छ ।

यतिबेला दसैंतिहारका लागि घर फर्कने हजारौं नेपाली पलियाबाट गौरीफन्टासम्मको लोकल बस चढ्ने बेला त्यहाँ रिक्सावाला मजदुरको झम्टाइमा परेर दुःख पाउने गरेका छन् । ओखडा दम्पती ६ महिनाअघि उपचारका लागि आफ्नो जेठो छोरो काम गरिरहेको बैंग्लोर सहर गएका थिए । उनीहरू फर्कंदा छोराले दसैंमा परिवारका सदस्यका लागि पठाइदिएको लुत्ताकपडाका पोका बोकेर आएका थिए । तिनै पोकाहरू देखेर गौरीफन्टा भन्सारमा पनि भारतीय भन्सारकर्मीले एक सय रुपैयाँ मागेको उनले बताए । ‘पोकाहरू खोलेर देखाउनभन्दा सय रुपैयाँ थमाइदिएपछि सिधै आउन पाइयो,’ उनले भने, ‘काम गर्ने ठाउँको दुःखभन्दा आउनेजाने बेलाको सास्ती बढी छ ।’

बैंग्लोरमा एक वर्ष बसेर फर्केका कञ्चनपुरको बडैपुरका गणेश र विमला नेपाली दम्पतीले पलिया र गौरीफन्टामा रिक्सावालाले लुछाचुँडी गरेर दुःख दिने गरेको बताए । ‘हातको झोला खोसेर जबर्जस्ती आफ्नो रिक्सामा राख्छन्,’ गणेशले भने, ‘पछि उनीहरूले भनेजति भाडा दिनुपर्छ ।’ गौरीफन्टामा बसेका भारतीय भन्सारकर्मीले एक सय रुपैयाँ मागेको उनीहरूले बताए । ‘घरमा पेट पाल्न पनि मुस्किल भयो । महामारीकै बीचमा ६ वर्षमुनिका दुई लालाबाला बोकेर बैंग्लोर छिरेका थियौं,’ विमलाले भनिन्, ‘एक/डेढ महिनापछि पाएको काममा पनि राम्रो तलब सुविधा थिएन । बाटो खर्च नै बढी भयो ।’ विमलाले आउँदा–जाँदा मात्रै १० हजारभन्दा बढी खर्च भएको बताइन् ।

गौरीफन्टाबाट वारि नेपालतर्फको त्रिनगर पुलसम्म समान ल्याइदिएबापत पनि रिक्सावालाले लुट मच्चाउने गरेका छन् । ‘एक सय मिटरको दूरीमा समान पुर्‍याएको २/३ सय माग्छन्,’ गणेशले भने, ‘त्रिनगरबाट धनगढी भन्सार पुगाउने अटोरिक्साले पनि मनमरी भाडा असुली गर्छन् ।’ त्रिनगर–धनगढी चौराहा समान्य भाडा दर प्रतिव्यक्ति २० रुपैयाँ हो ।

भारतको सिमलामा स्याउ टिप्ने काम सकेर कैलाली बर्दगोरियाका राजेश चौधरीलगायतको १० जनाको समूह एक/एक पेटी स्याउ टाउकोमा बोकेर मंगलबार गौरीफन्टा नाकाबाट फर्किंदै थिए । ‘कोरोनाका कारण अघिल्ला वर्षको जस्तो धेरै कमाइ भएन,’ राजेशले भने, ‘भारतको अन्य सहरमा काम गर्नेहरू पनि कोरोनाले गर्दा रोजगारी गुमाएर सिमला पुगेकाले लेबर रेट सस्तो भयो । त्यसैले आम्दानी कम भयो ।’ उनले भारतीय भन्सारमा स्याउका दाना खोलेर देखाउँदासमेत एक सय रुपैयाँ दिनुपर्ने बाध्यता भएको बताए ।

त्रिनगर नाकामा खटिएका सशस्त्र प्रहरीका सई दलबहादुर दुवालले यात्रामा लुटिएको, दुःख पाएको बारे कसैले पनि लिखित गुनासो नगरेको बताए । ‘त्यस्तो गुनासो आए हामी एक्सन लिन्छौं,’ उनले भने । यतिखेर दसैंतिहारका लागि घर फर्कनेको संख्या दिनहुँ बढिरहेको छ । ‘गएको महिना भारत पस्नेको संख्या बढी थियो,’ उनले भने, ‘अहिले ६/७ सय जना घर फर्किरहेका छन् । भारततिर यतिबेला जानेको संख्या सय/डेढ सयभन्दा बढी छैन । त्यसमा पनि कामका लागि भन्दा उपचारका लागि जाने छन् ।’

उनले भारतबाट फर्कने नेपालीलाई भन्सारमा स्वास्थ्य कार्यालय कैलालीले राखेको हेल्थ डेस्कमा एन्टिजेनबाट कोरोना परीक्षण गराएर मात्रै पठाउने गरेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडवाडका लागि भारतबाट फर्कने नेपालीले नाका र यात्रामा कुनै दुःख भोग्न नदिन दुई देशीय सीमा समन्वय बैठकबाट समाधान खोज्ने गरेको बताए ।

प्रकाशित : आश्विन ६, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामी घटे

शंकर आचार्य

पर्सा — वीरगन्जका आँखा अस्पतालमा भारतीय बिरामीको चाप घटेको छ । नाकामा सहज आउजाउ नहुँदा भारतीय बिरामीको संख्या घटेको हो । सामान्य अवस्थामा भारतीय बिरामीको उपचार गन्तव्य रहेका यहाँका आँखा अस्पतालमा चहलपहल देखिँदैन । वीरगन्जमा झन्डै आधा दर्जन आँखा अस्पताल छन् । अरू बेला यी अस्पतालमा बढीजसो बिरामी भारतीय नै हुने गरेका थिए । 

दृष्टि आँखा अस्पतालमा गत आर्थिक बर्षमा उपचारार्थ ५० हजार ४ सय ६९ बिरामी आएकोमा ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय थिए । अस्पतालका सञ्चालक विश्वराज गौतम सामान्य अवस्था भएको भए यो तथ्यांक ठीक विपरीत हुने बताउँछन् ।

‘सामान्य अवस्थामा हाम्रो मात्र नभई वीरगन्जका प्रायः सबै अस्पतालमा नेपालीको तुलनामा भारतीय बिरामी नै बढी हुन्थे,’ उनले भने, ‘२ वर्षयता भने स्थिति भिन्न छ, भारतीय बिरामी घटेका छन् ।’ वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटर महेशसिंह धामी आफ्नो अस्पतालको अवस्था पनि यस्तै रहेको बताउँछन् । ‘हाम्रो अस्पतालमा पनि सामान्य अवस्थामा ६० प्रतिशत बिरामी भारतीय हुन्थे, तर अहिले २० प्रतिशत पनि छैनन्,’ उनले भने ।

नारायणी आँखा अस्पतालका सञ्चालक डा. पदमराज विष्ट २ पटकको लकडाउनले भारतीय बिरामीको चाप घटेको बताउछन् । ‘सीमानजिक भएकाले हालका दिनहरूमा हाम्रो अस्पतालमा भारतीय बिरामीहरू जसोतसो आइरहेका छन्, सीमाबाट टाढा रहेका अस्पतालमाहरूमा पक्कै पनि भारतीय बिरामी कम नै छन्,’ उनले भने, ‘मोटरसाइकल, टाँगा तथा निजी चारपांग्रे सवारी चढेर भारतीय बिरामीहरू सहजै यहाँ आउन नसक्ने भएकाले पहिलेकै जस्तो भने छैन ।’

कुनै समय नेपालका सीमावर्ती गाउँका बिरामीहरूको पनि आँखा उपचारको गन्तव्य भारतको सीतापुर आँखा अस्पताल हुन्थ्यो । बिस्तारै नेपालका आँखा अस्पतालहरूको गुणस्तरीय सेवाबारे चर्चा फैलिँदै गएपछि भारतीयहरू यता आउन थाले । यहाँका आँखा अस्पतालमा सामान्य अवस्थामा कुल बिरामीमध्ये करिब ६० प्रतिशत भारतीय नै हुन्छन् ।

विशेष गरी भारतको बिहार र उत्तरप्रदेश राज्यबाट बिरामी आउने गरेका छन् । सीमावर्ती भारतीय सहरहरूमा सामान्य मोतीबिन्दुको शल्यक्रिया गर्दा पनि कम्तीमा १० हजार रुपैयाँ खर्च हुने र सेवा पनि गुणस्तरीय नहुने समस्या छ । तर यहाँ सरदर २ हजार रुपैयाँ खर्च गरेर सहजै शल्यक्रिया गर्न सकिने भएकाले भारतीय बिरामीको आकर्षण नेपाली आँखा अस्पताल छ ।

प्रकाशित : आश्विन ६, २०७८ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×