‘गरिबको करिम जहाँ गए नि फेरिन्न’

 बस र रेल स्टेसनमा रिक्सावाला र कुल्लीको झम्टाइमा पर्ने नेपालीहरु लुटिने, कुटिने र ठगिने मात्रै होइन, अनेक सास्ती झेल्छन् 
मधु शाही

बाँके — गर्मीले निधारबाट तपतप पसिना चुहिरहेको थियो । नेपालगन्जको जमुनाहा नाकामा आउन नपाउँदै उनलाई अघिपछि मान्छेले घेर्न थाले । कसैले झोला ताने, कसैले लुगा । कसैले उनको हातै तानेर हुत्याए । भारतको सिमलामा मजदुरी गरेर दसैं मनाउन घर फर्किएका जयबहादुर सुनारलाई सोमबार नाकामा रिक्सा चालक, होटलवाला र गाडीका सहयोगीले तानातान गरिरहेका थिए ।

‘गरिबको करिम जहाँ गए नि फेरिन्न’

उनको मञ्जुरीबिनै रिक्सा चालकले उनको सामान आफ्नो रिक्सामा राखे र जबर्जस्ती उनलाई बसालेर रिक्सा गुडाए । रुपैडियादेखि नेपालगन्ज नाकासम्म आउन ३० रुपैयाँ लाग्छ । तर ती रिक्सा चालकले जयबहादुरसँग २ सय रुपैयाँ असुले ।

जाजरकोटबाट भारतमा मजदुरी गर्न पुगेका जयबहादुरले आफ्नै मुलुकमा यसरी ठगिनु पर्दा नरमाइलो लागेको बताए । ‘पैसा भए त केही थिएन,’ उनले भने, ‘हामीजस्ता गरिबलाई यसरी ठग्दा त पापै लाग्छ नि !’ स्याउको पेटी बोक्दाबोक्दा थाकेर घर फर्किएका जयबहादुरका लागि २ सय रुपैयाँ २ हजारभन्दा कम छैन । अझ कोरोना महामारीले छोएदेखि उनीजस्ता थुप्रै मजदुरको रोदन उस्तै छ । जयबहादुर दुई महिनाअघि मात्रै सिमला गएका थिए । त्यहाँ स्याउ टिप्ने काम पाएका उनले जसोतसो १५ हजार रुपैयाँ जम्मा गर्न पाएको सुनाए ।

‘दसैं खर्चको जोहो गर्न कोरोना महामारीको जोखिम मोल्दै भारत पुगेको थिएँ,’ उनले भने, ‘जमुनाहा आइपुग्दा एक मनले भारततिरै फर्किन मन लाग्यो ।’ घरको जेठोबाठो भएकाले दसैंमा जहान परिवारलाई टीका र आशीर्वाद दिन भए पनि घर आउनुपर्ने बाध्यतामा आफू स्वदेश फर्किएको उनले सुनाए । ‘दुई महिनाको कमाइले दसैं खर्च पुग्दैन,’ उनले भने, ‘दसैंमा परिवार एक्लै हुन्छन् भनेर फर्किहालें । उनीहरूलाई दिन मायाबाहेक केही ल्याएको छैन ।’

जयबहादुरजस्ता कमाइ गर्न भारत पुगेका थुप्रै नेपालीको कथा लगभग यस्तै छ । कोरोनाको चपेटामा पनि परिवार पाल्न भारत पसेका उनीहरू एक–दुई महिनामै पर्व सम्झेर घर फर्किंदै छन् । कमाउँला र खाउँला भन्ने झिनो आशामा मजदुरी गर्न कालापहाड (भारत) गएका मजदुरले पर्वको महत्त्व भने राम्रैसँग बुझेका छन् ।

जाजरकोट साल्मा–२ का आइते नेपालीलाई दसैंतिहार सकभर आफ्नै घरमा मनाउन मन लाग्छ । कोरोनाले लकडाउनको सास्ती खेपेका उनी बेरोजगार भएपछि मजदुरी गर्न डेढ महिनाअघि सिमला पुगेका थिए । अरू वर्षको जस्तो यो दसैं उनका लागि खल्लो बनेको छ । भारत आउने जाने गर्दागर्दै कोरोना संक्रमित भए । संक्रमण निको भएको एक महिनापछि घरमा भोकमरीले सताउन थाल्यो । पाँच सन्तानको पेट पाल्न उनी कमजोर शरीर लिएर फेरि भारत फर्किए । सिमलामा स्याउ टिपेर २० हजार रुपैयाँ कमाएका उनले यही रकमले दसैं मनाउने बताए । ‘यहाँ बसेको भए, त्यही पनि कमाइ हुन्थेन,’ उनले भने ।

सुर्खेतका जोगमारे सार्कीलाई आर्थिक मन्दीसँग जुध्ने बानी परेको छ । उनी तीन महिनाअघि जे सोचेर भारत पुगेका थिए, त्यसको ठीक उल्टो भइदियो । जेठी र माइली छोरीलाई घर कुर्ने जिम्मा दिएर पत्नीसहित गुजरातमा मजदुरी गर्न गएका जोगमारे उल्टै ऋण लगाएर घर फर्किएको बताए । ‘इँटा बोक्दाबोक्दै श्रीमतीको खुट्टा चिप्लिएर मर्कियो,’ उनले भने, ‘एक महिना श्रीमतीकै उपचार गर्न दिनरात बालुवा ट्रकमा भर्ने काम गरें । एक सातासम्म अस्पतालमा भर्ना गरी उपचार गर्दा कमाएको सबै खर्च भयो । उल्टै छिमेकीसँग १० हजार रुपैयाँ बाटो खर्च ऋण मागेर घर आएँ ।’

सल्यानका धर्मे बुढाको उमेर ७० नाघ्यो । बुढ्यौलीले छोएको शरीर झमझमाउने, आँखा पोल्ने गर्छ । आँखाभन्दा पनि बढी उनको गरिबीले पिल्सिएको मन पोल्छ । ‘चार भाइ छोरा विदेशमा छन् । घर खर्च नदिएपछि कसको के लाग्छ र ?,’ उनले भने, ‘सन्तानको आसले भोकै भइँदोरहेछ ।’ बलिया मान्छेले सिमलामा स्याउ टिप्ने गरे पनि धर्मेले कोठी (अर्काको घर) मा काम गरे । घरमा श्रीमती बिरामी भएको थाहा पाएपछि नोकरी छोडेर घर आएको उनले बताए । डेढ महिनाको तलब बुझेका उनलाई श्रीमतीको उपचार खर्च नपुग्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

जाजरकोटका ५९ वर्षे आइते नेपालीले नाकामा पीसीआर जाँच गराइरहँदा थाकेर लखतरान परेको बताए । टोपीले पसिना पुछ्दै टोलाइरहेका उनको छेउछाउ जुटका बोरा थिए । सिरानी, ओछ्यान, सिरक आदि । त्यसैको बीचमा केही स्याउका पेटी पनि ल्याएका थिए । सिमलाका स्याउ खान दिएर उनले छोरीको भोक मेटाउँथे । काखे छोरीलाई स्याउ दिएर फकाएजस्तो अरू ६ जना छोराछोरीको चित्त बुझाउन उनलाई त्यति सजिलो नहोला । घरखर्च चलाउन वर्षको तीन–चारपटक भारत आउजाउ गरिरहेको उनले बताए ।

‘खर्च सकिएपछि फेरि उतै (भारत) पस्ने त हो नि !’ उनले भने, ‘यहाँ काम पाइँदैन । उता ज्यानको सुरक्षा छैन ।’जाजरकोटको जुनीचाँदे–६ का कालु नेपाली भन्छन् ‘कोरोना परिवारैले भोगियो । जे भए पनि भारतमा मजदुरी गरेर गुजारा चलाएका छौं ।’

प्रकाशित : आश्विन ६, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?